www.tandavnews.com
Fact ~ In search of truth

याक, नाक र चौंरीमय पाँचथर

ताण्डव न्यूज
सुरज हजारे दाहाल ।

के याकले दूध दिन्छ त ? के याकको दूधबाट चिजहरु बनाइन्छ ? प्रायले याकको चिज र याकको छुर्पी भन्छन् तर याक त भाले हो र उसको पोथी नाकले मात्र दूध दिन्छ ।

यस्तै चाख लाग्दो कुराको जानकारी दिएको थियो पाँचथर जिल्लामा आयोजित दोस्रो चौंरी महोत्सवले ।

Batas

याक र नाक झैं देखिने जनावर पनि याक र नाक मात्र नभएर यिनीहरुको जात अनुसार नाम हुँदोरहेछ । दोस्रो चौंरी महोत्सवले सैयौं पर्यटक र जिज्ञासुको प्रश्नको उत्तर मात्र दिएन कि यसले याक, नाक र चौंरीहरुलाई नजिकबाट नियाल्ने मौका समेत दियो ।

गत वर्ष झैं यो वर्ष पनि प्रदेश १ को पाँचथर जिल्लामा दोस्रो चौंरी महोत्सव आयोजना गरिएको थियो । नयाँ वर्षको अवसरमा बैशाख १ र २ गते सम्पन्न भएको चौंरी महोत्सव जिल्लाको फालेलुङ गाउँपालिकाको चाररातेमा गरिएको थियो ।

३ हजार ३ सय मिटरको हिमाली हावापानी र मानववस्ती विहिन इलाकामा गरिएको चौंरी महोत्सवमा श्रृंगारपटार गरेर चौंरीहरु ल्याइएका थिए ।

फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवद्र्धन संस्थाले आयोजना गरेको महोत्सवमा पर्यटकको बासका लागि टेन्टको व्यवस्था गरिएको थियो ।

भारतीय पर्यटक बाहेक भारतको भिजामा नै अनधिकृत रुपमा अन्य देशका बिदेशी पर्यटक समेत नेपाल प्रवेश गरेर महोत्सवको अवलोकन गरेका थिए । महोत्सवमा चौंरीको घिउ तथा छुर्पी पनि बेचिएको थियो ।

हिमाली भेगका जडिबुटीहरु खाने भएकाले चौंरीको घिउलाई उच्च कोटीको मान्ने गरिएको छ । यस्तै याकको पुच्छर अर्थात चमर पनि बिक्रीमा राखिएको थियो ।

२०७४ सालको अन्तिम दिन चैत ३० गतेको राती टेन्ट समेत उडाउला झैं गरेर ठूलो हावापानी आए पनि नयाँ वर्ष २०७५ को पहिलो दिन बैशाख १ गते भने पारिलो घाम लागेको थियो ।

हिमाली भाले याकसँग पहाडी गाईलाई समागमन गराएर उराङ नामक जातको चौंरी जन्मन्छ । यस्तै हिमाली पोथी नाकसँग पहाडी गोरुको समागमन गराएर डिम्जो जातको चौंरीको जन्मन्छ ।

आकाशमात्र खुलेन कि विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा र लालीगुराँससँगै मुस्कुराइरहेका थिए ।

महोत्सवमा आयोजित कार्यक्रममा चौंरीपालनको वर्तमान अवस्था तथा यसका फाइदाको बारेमा प्रकाश पारिएको थियो । महोत्सवमा याक, नाक र चौंरीहरुसँग फोटो खिच्नेहरुको भिडले रौनक छाएको थियो ।

याक, नाक र मिश्रित जात

याक र नाक लोकल भालेपोथीको जात अर्थात उच्च नश्लको भए पनि यिनीहरुसँग पहाडी गाई वा गोरुको समागमन गराएर दुई थरिका चौंरी जन्माइन्छ ।

हिमाली भाले याकसँग पहाडी गाईलाई समागमन गराएर उराङ नामक जातको चौंरी जन्मन्छ । यस्तै हिमाली पोथी नाकसँग पहाडी गोरुको समागमन गराएर डिम्जो जातको चौंरीको जन्मन्छ ।

चौंरीलाई भने उच्च नश्लमा गनिदैन किनकी यो क्रस ब्रिड हो । उच्च नश्लको नभए पनि चौंरीले भने नाकले भन्दा बढी दूध दिने गर्छ । चौंरी भने क्रस ब्रिडको पोथी हो भने भाले जन्मिएमा त्यसलाई तोला भनिन्छ ।

तोला भाले भएको हुँदा यसबाट फाइदा नहुने भएकोले प्राय तोलालाई जन्मेको केहि दिन पछि दूध पिउन नदिएर भोकै मारिन्छ अथवा अलि ठूलो भएपछि काटेर मासु खाने गरिन्छ ।

पाँचथर जिल्ला बाहेक प्रदेश १ कै इलाम, ताप्लेजुङ, संखुावसभा जस्ता पहाडी र हिमाली जिल्लामा बिशेषतः शेर्पा जातीहरुले चौंरीपालन गर्ने गर्छन् । अहिले भने चरिचरनको अभावले नयाँ पुस्ता चौंरीपालनतर्फ आकर्षित नभएर बिदेश पलायन हुन थालेका छन् ।

नेपालसँग सिमा जोडिएको भारतको सिक्किम राज्य र पश्चिम बंगाल सरकारले आफ्नो इलाकामा चौंरी चराउन प्रतिबन्ध लगाएपछि नेपाली चौंरी पालन थप संकटमा परेको छ ।

संकट परिरहे पनि निजी क्षेत्रका डेरी र सरकारी लगानीको दुग्ध विकास संस्थाले चौंरीको दूध किनेर चिज बनाउने भएकोले यसको केही हदसम्म संरक्षण भने भएको मान्नुपर्छ । एउटा चौंरीको मूल्य उमेर र दूध दिने क्षमता हेरेर ८० हजार देखि १ लाख ५० हजार रुपैयाँसम्म पर्छ ।

एउटा गोठमा प्रजननको लागि भाले याक एउटा मात्र र पोथी नाक तथा चौंरीहरु भने प्रशस्त पालिन्छन् ।

कसरी पुग्ने ?

चौंरी महोत्सव वर्षको एक पटक लागे पनि जुनसुकै बेला पाँचरथर पुग्न सकिन्छ ।

पोखराबाट बेलुकी ५ बजे काँकडभित्ताको लागि बस छुट्छ । बिहान ६ बजे झापाको बिर्तामोड बसपार्क पुगेपछि त्यहाँबाट पाँचथरको सदरमुकाम फिदिमको लागि जिप छुट्छ ।

फिदिमबाट भने पाँचरथरको जुनसुकै ठाउँ घुम्न सकिन्छ तर चौंरी महोत्सवस्थल पुग्न थप ६० किमीको कच्ची बाटो गुड्नुपर्छ । पाँचथर जाँदा ताप्लेजुङ, तेह्रथुम, संखुसभामा समेत घुम्न सकिन्छ । तिनको चर्चा आगामी अंकहरुमा …. ।

 

यो पनि पढ्नुहोस्

कर्णाली – रारा पर्यटन वर्ष २०७५

नयनमा गड्ने सुन्दर ‘नैनीताल’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.