www.tandavnews.com
Fact ~ In search of truth

पार्टी एकतामा आउन अध्यक्ष दाहालको आग्रह

काठमाडौँ,  (रासस): नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनको मूल प्रवाहबाट बाहिरिएका सबै शक्ति र समूहलाई एकतामा आउन पुनः आग्रह गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको भावना र चाहना मुताबिक पार्टी एकताको प्रक्रियामा सहभागी हुन आह्वान गर्नुभएको हो । उहाँले कम्युनिस्ट आदर्श र विचार नै छाडेर नयाँ शक्ति नेपाल निर्माण गर्नुभएका डा बाबुराम भट्टराईलाई पनि समयको मागअनुसार पुनः मूल घरमा फर्कन आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “शहीद, बेपत्ता, घाइते योद्धा, नेता तथा कार्यकर्ताको भावनालाई सम्बोधन गर्दै एकता प्रक्रियामा आउनुस् । बिग्रिएको केही छैन । एकतामा आउनुस् । मिलेर समाजवादको यात्रा तय गरौँ ।” उहाँले मोहन वैद्य र नेत्रविक्रम चन्दलाई समेत एकतामा आउन आग्रह गर्नुभयो । संविधानले समृद्धिको मार्ग प्रशस्त गरेकाले सोहीअनुसार अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाली जनताले वाम गठबन्धनलाई सुविधाजनक बहुमत दिएकाले जनअ‍ेपक्षाअनुसार सरकारले काम गर्ने विश्वास पनि उहाँले दिलाउनुभयो ।

कार्यक्रममा नयाँ शक्ति नेपाल गोरखाका जिल्लास्तरीय नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई अध्यक्ष दाहालले पार्टी प्रवेश गराउनुभएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.