www.tandavnews.com
Fact ~ In search of truth

सिरहामा दुई दिन निषेधाज्ञा जारी

जनकपुर ।

स्थानीय प्रशासनले सिरहामा आज बिहानदेखि दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ । डा सिके राउत नेतृत्वको जनमत पार्टीले विगत तीनदेखि जारी राखेको बन्द हड्तालका कारण सर्वसाधारण जोखिममा परेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले आज बिहानदेखि भोलि बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले विज्ञप्ति जारी गर्दै पूर्वमा बलानखोलाबाट पश्चिममा कमला नदीसम्मको पूर्वपश्चिम राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर–दक्षिण ५०० मिटर आसपासको क्षेत्रसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिए । सिरहाको चोहर्वाबाट सिरहा सडकखण्डको पिकेराज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) तथा सो मार्गसमेत तथा ५०० मिटर पूर्व–पश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको प्रजिअ कवारीको विज्ञप्तिमा उल्लेख छ ।

Batas

जनमत पार्टीले केही दिनअघिदेखि सिरहा जिल्लामा गरिरहेको आमहड्ताल र चक्काजामका कारण सर्वसाधारणमा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी आज बिहान ५ देखि भोलि बेलुका ७ बजेसम्म कुनै किसिमको भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (२) र (३) बमोजिम देहायका क्षेत्रहरूमा निषेधाज्ञाको आदेश जारी गरिएको प्रजिअ कवारीले बताए ।

सो अवधीभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात भने सुचारु रहने र आदेश उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने समेत विज्ञप्तीमा उल्लेख छ ।

सिरहाको औरही गाउँपालिकाले गहुँको बीउ बाँड्न ढिलाइ गरेको भन्दै किसानहरूले गाउँपालिकाको गोदामबाट गहुँ लगेका थिए । गहुँको बीउ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले गत आइतबारदेखि सिरहा बन्दको आह्वान गरेको हो । झुटो मुद्दामा पक्राउ गरेका किसानलाई रिहा गर्नुपर्ने मागसहित जनमत पार्टीले बन्द र हड्ताल गर्दै आएका छन् । सो क्रममा जनमत पार्टीका कार्यकर्ताले सिरहाको गोलबजारमा एउटा ट्रक जलाएका थिए भने दुई दर्जन सवारीसाधनमा तोडफोड गरेका थिए ।

(रासस)
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.