www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरको मेयरमा पराजुलीको चर्चा

पोखरा ।

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै देशमा चुनावी माहौल सुरु हुदैँछ । वैशाख ३० गते एकै चरणमा देशभरमा स्थानीय तहमा निर्वाचन हुन लागेको हो । स्थानीय तहका ब्यक्तिहरुले निर्वाचनका लागि उम्मेदवारी घोषणा समेत गरिरहेका छन् । देशकै ठूलो महानगर मध्येको पोखरा महानगरमा पनि चुनावी सरगर्मी सुरु भएको छ ।

यसै मेसोमा, पोखरा महानगरको मेयरका लागि गंगाधर पराजुलीको पनि चर्चा सुरु भएको छ ।

Batas

पत्रकारिताबाट राजनीतिमा हाम फालेका पराजुली नेपाल विधार्थी संघको राजनीति संगै शिक्षक रहंदा समेत राजनीतिमा सक्रिय थिए ।
२०४१ सालमा कक्षा ८ मा अध्ययन गर्ने समयमा नै वीपी स्मृति दिवस मनाउने क्रममा पहिलो पटक उनि पक्राउ परेका थिए । पोखराको एक विद्यालयमा पढाउदै गरेको अवस्थामा २०४६ सालको जनआन्दोलनमा करिव दुई महिना जेल बसेर चैत्र २६ गते बहुदलीय प्रजातन्त्रको घोषणा संगै पराजुली जेल मुक्त भएका थिए ।

२०४९ सालबाट पत्रकारितालाई मुख्य पेशा बनाएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा निरन्तर सक्रिय पराजुली आन्दोलनकै क्रममा पोखरा , काठमाडौँ लगायतका विभिन्न शहरहरुमा पक्राउ परेका थिए ।
नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्ष भएर समेत काम गरेका पराजुलीसँग नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष एवं राष्ट्रिय समाचार समितिको संचालक रहेर सरकारको नीति निर्माण र कार्यान्वयन उच्च तहमा काम गरेको अनुभव पनि छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उनले पोखरा महानगरको सभापति पदमा नै चुनावी प्रतिस्पर्धा गरेका थिए । यद्यपी नतिजा उनको पक्षमा आउन सकेन ।

पराजुलीले ‘हामी पोखरेली र नेपाली कांग्रेसको अभिभारा, सन्तुष्ट पोखरेली र आत्मनिर्भर पोखरा’ को नारा अगाडी सारेका छन ।

पोखरा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा समेत परिचित पर्यटकीय नगर भएर पनि यहाँको भौतिक पुर्वाधार र भुगोललाई हेर्दा शहरी, शहरोन्मुख र ग्रामीण गरि तिन किसिमको परिवेश रहेकोले सोही अनुरुपको विकासको मोडल आवश्यक रहेको पराजुली बताउँछन् । यसका लागि विकासविज्ञहरु सहित पार्टीका जिम्मेवार नेताहरु बसेर साझा अवधारणा तयार गर्नुपर्ने उनको भनाई छ ।

पार्टीले उमेदवार तय गरेपछि वा पार्टीसँग परामर्श गरेर मात्र आफ्नो प्रतिवद्दता र एजेन्डाहरु सार्वजनिक गर्ने उनले बताए ।

पराजुली भन्छन् ‘महानगरको मेयर उमेदवार बन्ने कुरा मेरो चाहानाले मात्र पुग्दैन, पार्टीले निर्णय गर्नुपर्छ । म पार्टीको अधिवेशनताका महानगरको सबैजसो वडा र टोलमा कांग्रेस कार्यकर्तासंग पुगेकोले पनि हुनुपर्छ , मलाई महानगरको मेयर बन्नुपर्छ भन्ने दवाव कार्यकर्ता तहबाट नै छ ।’

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.