www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश १ को नाम ‘किरात-लिम्बुवान-मधेस-शेपालुङ प्रदेश’ राख्न जसपाको प्रस्ताव

दमक ।

जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ ।

पछिल्लो समय प्रदेश नं १ को नामाङ्कनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक पृष्ठभूमि तथा पहिचानका आधारमा ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने बताएको हो ।

Batas

जसपा प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले आज विज्ञप्ति जारी गरी प्रदेश नामकरण सम्बन्धमा २०७७ साल असोज २३–२४ गते नै निर्णय गरिएको स्मरण गराउँदै प्रदेश नं १ को नामकरण पहिचानका आधारमा नै हुनुपर्दछ भन्नेमा जसपा स्पष्ट र प्रतिबद्ध रहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ– “मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पृष्ठभूमि, पहिचानको मागलाई सम्बोधन गर्दै प्रदेश नं १ लाई ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ नामकरण गर्नुपर्दछ ।” पूर्ण सङ्घीय नेपाल निर्माणका लागि जसपाले निरन्तर सडक र सदनबाट दबाब दिने कार्य गरेको र आफ्नो सरकार रहेको मधेस प्रदेशमा कार्यान्वयनसमेत गरेर देखाएको विज्ञप्तिमा जनाइएको छ । हाल प्रदेशको नामकरणबारे भइरहेको बहस र छलफलले राजनीतिक सरगर्मी ल्याएको भन्दै जसपाले पछिल्लो राजनीतिक घटनाक्रमहरुलाई स्वागतयोग्य भन्दै गम्भीरताका साथ लिएको उल्लेख छ ।

आज नै प्रदेश १ सरकारले प्रदेशको नामकरणबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ । मुख्यमन्त्रीको कार्यालय विराटनगरमा डाकिएको सर्वदलीय बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरु, संसदीय दलका नेताहरु सहभागी हुँदैछन् ।

रासस

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.