www.tandavnews.com
Fact ~ In search of truth

पाल्पामा ८७ प्रतिशत रोपाइँ

रामपुर।

पाल्पामा हालसम्म ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

जिल्लाको सबैजसो ठाउँमा धान रोपाइँ अन्तिम चरणमा पुगेको उक्त केन्द्रका बाली संरक्षण अधिकृत मिलन गैरेले बताए। उनका अनुसार तानसेन नगरपालिकामा ७५ प्रतिशत, रामपुर नगरपालिकामा ८० प्रतिशत धान रोपाइँ भएको छ ।

यस्तै गाउँपालिकातर्फ तिनाउँमा सतप्रतिशत, बगनासकालीमा ८०, रिब्दिकोटमा ८५, रैनादेवीछहरामा ९०, पूर्वखोलामा ९६, निस्दीमा ८५, माथागढीमा ९५ र रम्भामा ८० प्रतिशत जमिनमा धान रोपाइँ भएको छ । पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोलाखेतमा असार पहिलो हप्तादेखि नै धान रोपाइँ भएको छ ।

जिल्लामा असारको पहिलो हप्तादेखि नै रोपाइँको चहलपहल सुरु भएको हो । मकैबाली लगाइएका र आकाशे पानीको भरमा मात्रै खेती गरिने टारी खेतमा भने धान रोप्न बाँकी छ । जिल्लामा करिब आठ हजार ६२० हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएको छ । मनसुन चाँडै नै भित्रिएकाले यस वर्ष छिटो रोपाइँ सुरु भएको हो ।

जिल्लाको माडीफाँट, अर्गली, रामपुरफाँट, हुँगी, हेक्लाङ, पूर्वखोला, दोभानलगायत स्थल धान उत्पादको मुख्य पकेट क्षेत्र हुन् । पछिल्लो समय गाउँगाउँमा कृषि यान्त्रिकरणको विकासले पनि रोपाइँ छिटोछरितो हुने गरेको छ ।

साबित्री, हाइब्रिड, रामधान, सावा मन्सुलीलगायत धानका जात जिल्लामा बढी चलनचल्तीमा छन् । रैथाने जात भने यहाँ हिजोआज कमै लगाउने गरिन्छ । उत्पादन बढी लिने उद्देश्यले कृषक उन्नत प्रविधिका धानमा आकर्षित हुन थालेका छन् ।

रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.