www.tandavnews.com
Fact ~ In search of truth

पर्फेक्ट ‘पवन’

पाेखरा ।

झण्डै ४५ वर्षअघि, काठमाडौँबाट साझा बस चढेर पोखरा आइपुग्ने तरकारीसँगै महेन्द्रपुलमा देख्न्थ्यिो एउटा १३ वर्षे ठिटो । काठमाडौंको तरकारी पोखरेलीलाई खुवाएरै ऊ व्यापारको दुनियाँमा अघि बढेको थियो ।

पवनकुमार प्रजापति त्यहि व्यक्ति हुन् । जो अहिले पोखराका सफल व्यवसायी मानिन्छन् ।

Batas

१३ वर्षे त्यो ठिटो अहिले ५८ वर्ष टेकिसक्यो । र, यो बीचमा उसले व्यापारलाई निरन्तर आफ्नो पेशा बनायो । विभिन्न थरीका व्यापारको अनुभव संगाल्दै आफुलाई सफल बनाउन ऊ निरन्तर खटिरह्यो ।

त्यतिबेला बुवा पञ्चकुमार प्रजापतिले माटोको भाँडाको व्यापार गर्थे । घरमा व्यवसायिक माहौल थियो । आफ्नै बुवाको पथप्रदर्शनमै उनले व्यापार शुरु गरेका थिए ।

उनको व्यवसायको यात्रा पनि उत्तिकै रोमाञ्चक छ । तरकारी पसल चलाईरहेका प्रजापतिले त्यसपछि रेस्टुरेन्ट व्यापारमा आफ्नो पाइला चाले । पवनकुमार प्रजापतिले रेस्टुरेन्ट व्यवसाय गरेको ४० सालताका हो । व्यवसाय सँगै उनी क्षेत्रीय कृषि कार्यालयको जागिरे समेत बने । करिब १२ वर्षसम्म उनले जागिरलाई निरन्तरता दिए । यद्यपी यो बीचमा उनले व्यवसाय गर्न पनि छोडेनन् ।

जागिर गरिरहँदा पनि उनी त्यो बेला भारतसम्म पुगेर बालबालिकाले खेलाउने खेलौना पोखरा ल्याएर बेच्थे । २०४३ सालमा उनले ६० हजार रुपैयाँ भारतीय रकमको खेलौना पोखरा ल्याएर बेचेका थिए । २०४५ सालमा भारतले नाकाबन्दी गर्यो । व्यवसायहरु चौपट भैरहेका थिए । प्रजापति भने चुनौतीमै सम्भावना देख्थे । त्यसैले त त्यो बेलामा उनले सिसा, प्लाइ, हार्डवेयर सामाग्री र भाँडाकुँडाको व्यापार शुरु गरे । फोटो फ्रेम बनाउने उद्योगसँगै उनले गिफ्ट आइटमको व्यापारलाई पनि त्यसैसँग जोडे ।

प्रजापतिको व्यवसायीक यात्रा रोकिनेवाला थिएन । त्यसैले त उनले एकपछि अर्को व्यापारमा हात हाल्थे । र, सफलता पनि पाईरहेकै थिए । उनी व्यवसायकै क्रममा यातायात व्यवसायमा पनि जोडिन पुगे । काठमाण्डौ–पोखरा, बेशिशहर–काठमाण्डौ, गोरखा–काठमाण्डौ पोखरा नगर बस, ट्याक्सी हालेर उनले यातायात व्यवसायबाट पनि राम्रै आर्जन गरे ।

एक पछि अर्को व्यवसायमा हात हाल्ने स्वभावका प्रजापति पछिल्लो समय न्यू दिप निशान किचन एण्ड गिफ्ट कर्नर चलाईरहेका छन् । यद्यपी उनी व्यवसायको दौडमा रोकिनेवाला खेलाडी पक्कै होईनन् । उनको ईतिहासले नै यस्तै देखाईरहेको छ ।

व्यवसायको यो दौडमा उनी केहि समय अटोमोबाइल्स क्षेत्रसँग पनि जोडिए । फार्म ट्रयाक कम्पनीको फोर ह्वील ट्रयाक्टर बेचेको अनुभव पनि छ उनीसँग । नेपाली चलचित्रको निर्माणमा पनि उनी जोडिए । तृष्णा, सडक लगाएतका फिल्महरु निर्माण गरेका प्रजापतिले अहिले फिल्मको वितरण गरिरहेका छन् । उनले यो बीचमा करिब ५ वर्षसम्म पुर्णिमा हलको संचालन समेत गरे ।

पछिल्लो समय उनी रियल स्टेट व्यवसायमा जमे । र, अहिलेको अवस्थासम्म आईपुग्दा पनि उनले व्यवसायलाई निरन्तरता दिईरहेकै छन् । यो बीचमा व्यापार र व्यवसाय बुझ्नका लागि ३५ भन्दा बढि राष्ट्रहरु उनले भ्रमण गरिसकेका छन् ।

त्यसो त प्रजापति व्यवसायमा मात्रै होईन सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । उनको बनाएको सामाजिक छवि साँच्चिकै लोभलाग्दो छ । शायद पोखरामा प्रजापति व्यवसायी बाहेक अन्य क्षेत्रका मानिसहरुमाझ पनि उत्तिकै लोकप्रिय छन् । यो खाले ‘पब्लिक रिलेशन’ बनाउनु पनि एउटा खाले कला नै मान्नुपर्छ ।

व्यवसायसँगै उनको लगाव मनोरञ्जन र खेलकुदमा देखिन्छ । त्यसैले त दक्षिण एशियाली राष्ट्रहरुमा हुने कबड्डी प्रतियोगितामा आफैँले खर्च गरेर राष्ट्रको प्रतिनीधित्व गराउन पनि उनी पछि पर्दैनन् । ‘खेलकुदप्रति एउटा खाले लगाव र प्रेम भएकै कारणले मैले यसो गरेको हुँ ।’ प्रजापति भन्छन् ।

प्रजापति पोखरा बडि विल्डिङ संघको अध्यक्ष, कास्की जिल्ला कबड्डी संघको वरिष्ठ उपाध्यक्ष, कास्की जिल्ला बडि विल्डिङ संघको सल्लाहकार, सेन्ट्रल लायन्सको संस्थापक कोषाध्यक्ष, नेपाल ओलम्पिक कमिटि (कबड्डी)को सल्लाहकार भएर सामाजिक तथा खेलकुदको क्षेत्रमा आफ्नो दह«ो उपस्थिती देखाईसकेका छन् ।

त्यो बाहेक उनी संचार, स्वास्थ्य र वित्तिय क्षेत्रमा पनि सफल मानिन्छन् । सराङकोट एफएमको म्यानेजिङ डाइरेक्टरको रुपमा २ वर्ष काम गरेका प्रजापतिले सोहि समयमा सराङकोट सहकारीको स्थापना गराएका हुन् । त्यो सँगै गरिमा विकास बैंक र प्राइम सहकारीको स्थापनामा पनि प्रजापतिको योगदान विशेष छ । त्यस्तै पछिल्लो समय उनी लायन्स क्लब अफ अन्नपूर्ण रेञ्जको अध्यक्षको रुपमा पनि युवाहरुलाई संगठित गरेर सामाजिक कार्यहरु गर्दै आईरहेका छन् ।

गण्डकी मेडिकल कलेजको स्थापनाका लागि पनि प्रजापतिको भुमिका सशक्त रहेको थियो ।

जोडिएका सबै क्षेत्रमा पर्फेक्ट छवि बनाएका प्रजापति पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि चुनावी मैदानमा छन् ।

त्यसो त अघिल्ला चुनावहरुमा प्रजापति अरु नेतृत्वको काँध थापेर चुनावी मैदानमा होमिँदै आएका थिए । तर यो समय उनी आफै नेतृत्वको लागि मैदानमा उत्रेका छन् । व्यवसायीहरुमाझ चिरपरिचित प्रजापति संघमा गरेका आफ्ना पुराना कर्महरुकै बलमा आफू यो पटक नेतृत्वमा चुनिने दाबी गर्छन् । ‘संघमा व्यवसायीहरुले अहिलेसम्म जुन जुन पोजिसनमा मलाई चुन्नुभयो, ती सबै पदीय जिम्मेवारी मैले आफ्नो सम्पूर्ण ध्यान दिएर पुरा गर्दै आएको छु ।’ आसन्न पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनका अध्यक्ष उम्मेदवार प्रजापति भन्छन् –‘नेतृत्वमा बसेर व्यवसायीको हकहितमा समर्पित हुने मेरो चाहनालाई यो पटक पनि सबैजनाले पुरा गरिदिनुहुनेछ भन्ने मेरो विश्वास छ ।’

पवन प्रजापतिको संघको यात्राको हिसाब गर्ने हो भने उनी धेरै लामो बाटो हिँडेर यहाँसम्म आईपुगेका हुन् । शुरुवाती दुई कार्यकाल उनी संघको कार्यसमिति सदस्यको रुपमा रहे । त्यसपछिको कार्यकाल उनी संघको कोषाध्यक्ष निर्वाचित भए । अझै त्यसपछिको कार्यकाल उपाध्यक्ष भएर संघका लागि काम गरेका प्रजापति यतिबेला भने संघको वरिष्ठ उपाध्यक्ष छन् ।

‘म नेतृत्वमा आउन खोजिरहँदा मैले मेरा चुनौतीहरुलाई नजरअन्दाज गरेको छैन । लामो समयको बन्दाबन्दीले गर्दा व्यवसायीहरु ठुलो समस्यामा छन् । ती सबै व्यवसायीहरुको तमाम समस्या समाधानका लागि संघको तर्फबाट गर्ने हरेक काम गर्न म मानसिक रुपमा तम्तयार भएरै नेतृत्वको लागि मैदानमा होमिएको हुँ ।’ प्रजापति भन्छन्–‘संघको गरिमा, लक्ष्य र उद्देश्यमा कहिँकतै आँच आउन मैले दिनेछैन ।’

१७ बुँदे प्रतिबद्धतापत्रसहित आफ्नो प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका प्रजापतिले आफ्नो पहिलो प्राथमिकता नै लकडाउनको मारमा परेका उद्योगी व्यवसायीलाई स्थापित गराउने रहेको बताउँछन् । व्यवसायीको घरदैलोमा पुग्दै गर्दा उनले आफ्नो पक्षमा थुप्रै सुभेच्छाहरु पाएका छन् । उनीप्रति व्यवसायीहरुको विश्वास छ । क्रमैसँग नेतृृत्वमा आउने उनको चाहनालाई धेरै व्यवसायीहरुले रुचाएका छन् ।

भदौ २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनबाट अध्यक्षमा आफूलाई व्यवसायीहरुले निर्वाचित गराउने कुरामा प्रजापति विश्वस्त छन् ।

चुनाव भन्ने वित्तिकै उनको प्रतिस्पर्धी नहुने कुरै भएन । तर प्रतिस्पर्धीलाई पनि कुनै दोष नदिई आफू चुनावी मैदानमा उत्रने उनको रणनीति हो । सकेसम्म प्रतिस्पर्धीलाई पनि अन्तिम समयसम्म मिलाएर लैजाने उनको सोँच छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.