www.tandavnews.com
Fact ~ In search of truth

तनहुँ–१ हेभिवेटले चर्चामा, प्रतिस्पर्धामा एमाले कांग्रेस

दमौली।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तनहुँ क्षेत्र नं १ मा १५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एमालेका नेता एकबहादुर रानासहित १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस वरिष्ठ नेता पौडेललाई सत्तारुढ गठबन्धनको समर्थन छ । साथै यो क्षेत्रमा समाजवादी पार्टीका पासाङ थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्ती, नेपाल मजदुर किसान पार्टीका रामकृष्ण त्वायना, हाम्रो नेपाली पार्टीका प्रविण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कृष्णप्रसाद पौडेल, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, नेश्नलिष्ट पिपल्स पार्टीका ताज महमद मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका हस्तबहादुर किचिम थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देल चुनावी मैदानमा छन्। स्वतन्त्रतर्फ कांग्रेसका पूर्वसहमहामन्त्री रहेका गोविन्दराज जोशी, रामचन्द्र कार्की, बेलबहादुर दरै र पृथ्वीनारायण श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन्।

विसं २०७४ को निर्वाचनमा पराजित भएका वरिष्ठ नेता पौडेल यो पटक चुनाव जित्ने दाउमा छन्। न्याय, निष्ठा, लोकतन्त्र रक्षा र समग्र तनहुँको विकासका लागि आफ्नो उम्मेदवारी रहेको पौडेलले बताए। वरिष्ठ नेता पौडेललाई ‘हेभिवेट’ नेता भएको र सत्तारुढ गठबन्धनको साथ रहेकाले चुनाव जित्न सहज रहेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए।

Batas

“स्थानीय तहको चुनावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका वडाध्यक्षले पाएको मत चुनाव जित्नका लागि पर्याप्त छ, हाम्रो मुख्य प्रतिस्पर्धा भनेको नेकपा एमालेसँग हो”, खनालले बताए। नेकपा एमालेका जिल्ला उपाध्यक्ष हरिराज कँडेल दुई कांग्रेस नेताहरुको प्रतिस्पर्धाले एमाले उम्मेदवारलाई फाइदा हुने बताए।

यसैगरी तनहुँ क्षेत्र नम्बर १ प्रदेश १ तर्फ बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ, नेकपा (एमाले) का रामबहादुर गुरुङ, जनता समाजवादी पार्टी नेपालका अर्जुन गुरुङ, मौलिक जरोकिलो पार्टीका चिजकुमार श्रेष्ठ भन्ने बाबुराम आले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विजयकुमार शाही, मङ्गोल नेशनल अर्गनाइजेशनका भिमबहादुर लामा, नेकपा (एकीकृत समाजवादी) का विद्यानाथ ढकाल, राप्रपाका विवेक न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीका भुवनसिं थापा, स्वतन्त्र हरिराज जोशी र रामबहादुर थापा चुनावी प्रतिस्पर्धामा छन्।

तनहुँ क्षेत्र नं १ प्रदेश २ तर्फ बाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमान, नेकपा (एमाले) का पूर्णबहादुर गुरुङ, जनता समाजवादी पार्टी नेपालका किसन भुजेल, मङ्गोल नेशनल अर्गनाइजेशनका रनबहादुर खवास, राप्रपाका राजु गोतामे र राष्ट्रिय जनमुक्ति पार्टीका खेमबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

तनहुँ क्षेत्र नं १ अन्तर्गत पाँच वटा पालिका पर्दछ । व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिका यो क्षेत्रमा पर्छन् । यसमध्ये नेपाली कांग्रेसले व्यास, भानु र देवघाट गाउँपालिकामा विजय हासिल गरेको छ भने नेकपा (एमाले)ले बन्दीपुर तथा नेकपा (माओवादी) केन्द्रले आँबुखैरेनीमा विजय हासिल गरेको छ ।

क्षेत्र नं १ तर्फ एक लाख २३ हजार चार सय ९० मतदाता छन् । तनहुँ क्षेत्र नम्बर १ प्रदेश सभा (१) मा ६७ हजार एक सय ४४ र प्रदेश सभा (२) मा ५६ हजार तीन सय ४६ मतदाता छन् ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.