www.tandavnews.com
Fact ~ In search of truth

अब उदाहरण बन्ने पालो पोखराकोः अरुण गिरी

पोखरा।
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रदेशसभातर्फ कास्की क्षेत्र नम्बर २(२) मा उम्मेदवारी दिएका युवा नेता अरुण गिरीले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्र सार्वजनिक गर्दै उनले मनसँगै मत पनि परिवर्तन गरि उदाहरण बन्ने पालो पोखराको रहेको बताएका छन् ।

परिवर्तनका लागि अब नागरिकले मत परिवर्तन गर्नुपर्ने बेला आएको उनको तर्क छ । उनले धरान र काठमाण्डौका जनताले स्थानीय चुनावमा मत फेरेकै कारण अहिले नेपालकै उदाहरणीय कामहरु भैरहेको उल्लेख गर्दै पोखराले पनि अब त्यो आँट गर्नुपर्ने बेला आएको बताए । विदेशिन बाध्य युवापुस्ता, शिक्षा र स्वास्थ्यमा हुने ब्रम्हलुट, प्रशासनीक क्षेत्रमा बढेको भ्रष्टाचार र खर्चिलो शासनप्रणालीले गर्दा देश समस्यामा पर्दै गएको उल्लेख गर्दै अझै पनि युवा सोँच र व्यवहारलाई साथ नदिई पुरानै दलहरुलाई जिताउने हो भने परिवर्तन सम्भव नभएको उनको दाबी छ । ‘हामी सँधै नेतालाई गाली गर्छौँ । यसो गरेन, उसो गरेन भन्छौँ । र, फेरि त्यही नेतालाई बारम्बार जिताएर नेतृत्वमा पठाउँछौँ । अझै पनि जनताले मत नबदल्ने हो भने त्यहि नियती पुनः दोहोरिने छ ।’ गिरीले भने -‘त्यसैले यो पटक मत बदलौँ । राप्रपाले देशलाई भ्रष्टाचारमुक्त र सुशासनतर्फ डोर्याउने कसम खाएर जनतामाझ आएको छ । व्यक्तिगत रुपमा पनि म मेरो सोँच र व्यवहारमा प्रस्ट छु । तपाईहरुले मलाई दिनुभएको विश्वास र मत आजिवन शीरमा राख्नेछु ।’

प्रदेशसभा सदस्य उम्मेदवार गिरीले आफ्नो घोषणापत्रमा विभिन्न २४ बुंदे एजेन्डाहरु समेत समावेश गरेका छन् । खासगरि युवा लक्षित एजेन्डाहरुलाई उनले प्राथमिकतामा राखेका छन् । युवालाई स्वरोजगार बनाउन स्टार्ट अप नीति निर्माण गर्ने र त्यसलाई कार्यान्वयनमा ल्याउने गिरीको अठोट रहेको छ । साथै उनले संसदलाई सत्ताको जोडघटाऊ गर्ने थलोको रुपमा नभई जनताको आवाज बोल्ने थलोको रुपमा रुपान्तरण गर्ने दाबी गरेका छन् ।

Batas

त्यस्तै गण्डकी प्रदेशमा पर्यटनको सम्भावना देखाउँदै उनले ‘सिनेमा टुरिज्म’मार्फत प्रदेशलाई देशविदेशमा चिनाउने लक्ष्य लिएका छन् । कृषकहरुको सन्दर्भमा उनले एग्रो टुरिज्ममार्फत उत्पादन र त्यसको बजारिकरणको अवधारणा अगाडि सारेका छन् । त्यस्तै पोखरालाई बुटिक शहरको रुपमा विकास गर्दै मौलिक तथा साँस्कृतिक कलाको प्रवद्र्धनका साथै सम्पदा क्षेत्रको संरक्षणमा जोड दिने नीति अवलम्बन गर्ने उनले बताएका छन् ।

त्यस्तै उनले पोखरा १६ मा रहेको गन्धर्भ वस्तीलाई ‘सारंगी भिलेज’को अवधारणामा विकास गर्ने र लोपोन्मुख सिप र कलाको संरक्षणको नीति लिएका छन् । धार्मिक हिसाबले आफ्नो क्षेत्र र गण्डकी प्रदेशभर रहेका मठमन्दीरहरुको प्रवद्र्धन गरि धार्मिक पर्यटनको विकास पनि गिरीले आफ्नो एजेन्डामा समेटेका छन् । उनले व्यवसायीहरुलाई लक्षित गर्दै व्यवसाय विकास कोष निर्माण गरि समस्यामा परेका उद्योगी व्यवसायीलाई सहयोग गर्ने र घरेलु उद्योगको विस्तारमा काम गर्ने बताएका छन् । ट्राफिक व्यवस्थापन, खेलकुद मैदानको विस्तारसँगै उनले सेती नदीको दोहन रोक्ने र फेवातालसँगै प्रदेशभर रहेका तालतलैयाको संरक्षण गर्ने नीति निर्माण गर्नेमा आफ्नो ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् ।

नागरिक सरकारी सेवा लिन जाँदा ‘जुकाघारीमा चर्न गएको बाख्रा’जस्तै हुन परेको भन्दै गिरीले पैसाको आडमा राजनीतिमा टिक्ने प्रवृत्तिलाई निरुत्साहित गरेमात्रै देशमा परिवर्तन सम्भव भएको दोहोर्याए । ‘म केही गर्ने सोँच र उर्जासहित राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रदेशसभामा उम्मेदवारी प्रस्तुत गर्दैछु । म गीता छोएर कसम खान्छु कि मेरो सोँच र व्यवहारमा प्रस्ट छु । त्यसैले एकपटक मलाई राप्रपाको चुनाव चिन्ह हलोमा भोट हालेर जिताउनुहोस् । राप्रपाले जित्दा यो देशलाई घाटा हुँदैन, बरु फाइदा नै हुन्छ ।’ गिरीले भने, ‘अब पालो युवाहरुको हो । अब उदाहरण बन्ने पालो पोखराको हो ।’

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.