www.tandavnews.com
Fact ~ In search of truth

‘लिटिल फ्लावर’को ‘बिग फल्ट’, अनुमति नपाउँदै भर्ना आह्वान

माधव भुसाल
कावासोती ।

लिटिल फ्लावर स्कुलले नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा सञ्चालन अनुमति बिनै विद्यार्थी भर्ना सुरु गरेको छ । सञ्चालनको अनुमति नै नभएको उक्त विद्यालयले नर्सरी देखि कक्षा १ सम्मका लागि भर्ना हुन आह्वान गरेको हो ।

नीजि शैक्षिक गुठी नेपाल सुक्ष्म पुस्प समाज ललितपुर मार्फत सञ्चालित लिटिल फ्लावर स्कुलले मध्यविन्दु–२ सेहरीमा भवन निर्माण गरेको छ । तर, विद्यालय सञ्चालनको लागि स्थानीय तह मध्यविन्दु नगरपालिकाबाट अनुमति पाएको छैन ।

Batas

मध्यविन्दु नगरपालिकाले यस शैक्षिक सत्रमा विद्यालय सञ्चालनको लागि कुनै पनि नयाँ नीजि विद्यालयलाई अनुमति प्रदान नगरेको नगर शिक्षा अधिकृत कृष्णप्रसाद रेग्मीले बताए ।

मध्यविन्दु–२ मा लिटिल फ्लावर स्कुल सञ्चालनको लागि गत शैक्षिक शत्रमा नै अनुमति माग भएपनि विद्यालयलाई सञ्चालन अनुमति प्रदान भएको थिएन । यस शैक्षिक शत्रमा विद्यालय सञ्चालनको लागि पुनः निवेदन परेको थियो ।

विद्यालय सञ्चालनको माग भएपछि मध्यविन्दु नगर शिक्षा समितिले त्यस सम्बन्धमा अध्ययन गर्न नगरपालिकाका सामाजिक बिकास समिति संयोजक अर्जुन पंगेनीको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले विभिन्न पक्षहरुको अध्ययनपछि विद्यालय सञ्चालनको लागि अनुमति प्रदान गर्न आवश्यक नरहेको भन्ने प्रारम्भीक प्रतिवेदन पेश गरे अनुसार विद्यालयलाई अनुमति प्रदान कार्य रोकिएको नगर शिक्षा अधिकृत रेग्मीले बताए । लिटिल फ्लावरले भर्ना अभियान शुरु गरेको विषयमा जानकार नरहेको भन्दै रेग्मीले विद्यालय सञ्चालन अनुमति विना विद्यालय भर्ना अभियान सञ्चालन हुनु गैरकानुनी हुने बताए ।

चितवन र पर्सामा सञ्चालित लिटिल फ्लावर स्कुल कै सञ्चालक संस्थाले स्थापना गर्न लागेको विद्यालय आवरणमा गुठीयारहरु नेपाली देखिएपनि यसको सञ्चालक भारतिय नागरिकहरु रहेको शैक्षिक क्षेत्रका व्यक्तिहरु बताउँछन् । हाल लिटिल फ्लावर स्कुल सेहरीको प्रिन्सिपलमा समेत भारतिय नागरिक रहेका छन् । आफुलाई विद्यालयको प्रिन्सिपल बताउने भारतीय नागरिक रोवि केयुले नगरपालिकाले विद्यालय नचलाउनु नभनेको भन्दै केही दिनमा विद्यार्थी भर्ना गरी पढाई शुरु हुने बताए ।

विद्यालयको भर्ना अभियान भन्दै अहिले मध्यविन्दु–२ को विभिन्न क्षेत्रमा विद्यालयले प्रचारप्रसार गरिरहेको स्थानीय जनतासिद्ध विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामनारायण महतोले बताए । अनुमति नै नपाएको विद्यालयले भर्ना भन्दै विद्यार्थी संकलन शुरुगरेपछि स्थानीय सामुदायिक विद्यालय सञ्चालन समेत प्रभावित बन्ने उनको चिन्ता छ ।

मध्यविन्दु नगरपालिकामा विद्यालय सञ्चालन अनुमति नपाएपछि विद्यालयले विभिन्न व्यक्ति तथा समुहबाट नगरपालिकामा दवाव सृजना गरिरहेको सम्बद्ध व्यक्तिहरु बताउछन् ।

विद्यालय सञ्चालन अनुमति दिन नगर प्रमुख भिमलाल अधिकारी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु, शिक्षा अधिकृत कृष्ण रेग्मी लगायत शिक्षा समितिका सदस्यहरुलाई ठुलो दवाव आईरहेको नाम उल्लेख नगर्ने शर्तमा नगर शिक्षा समितिका एक सदस्यले बताए ।‘दवाव त आइरहेकै छ । तर अनुमति नपाएको अवस्थामा लिटिल फ्लावरले भर्ना आह्वान गर्नु ठूलो गल्ती (बिग फल्ट) हो ।’ उनले भने ।

नेकपा एमाले नेतृत्वमा मध्यविन्दु नगरपालिका भएको कारण नगर प्रमुख सहित अन्य कार्यपालिका सदस्यहरुलाई एमालेका जिल्ला देखि केन्द्र सम्मका नेताहरुले दवाव दिई रहेका छन् ।
विद्यालय स्थापनाको विषयमा नगरपालिका आवश्यक छलफल कै चरणमा रहेको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताए । विद्यालय सञ्चालनको लागि हाल सम्म कुनै ठोस निर्णय नभएको भन्दै

अनुमति नै नपाएको विद्यालयले भर्ना शुरु गर्नु नगरपालिकाको शिक्षा ऐन विपरितको कार्य र अभिभावकहरु माथिको ठगी हुने उनले बताए । नगरपालिकाले आवश्यकता र औचित्यको आधारमा विद्यालयहरुलाई अनुमति दिने उनले बताए ।

मध्यविन्दु नगरपालिकामा उक्त विद्यालय सञ्चालनको अनुमति रोक्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको समेत दवाव छ । सबै विद्यार्थिलाई समान र निःशुल्क शिक्षा प्रदान गर्ने दायित्व स्थानीय सरकारको हुने भन्दै कुनैपनि बहानामा विद्यालय सञ्चालन गर्ने अनुमति प्रदान नगर्न भन्दै प्रधानाध्यापकहरुले संयुक्त ज्ञापन पत्र समेत यस अगाडी विद्यालयमा बुझाएका थिए ।

 

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.