www.tandavnews.com
Fact ~ In search of truth

जुम्लामा पनि देखियो लम्पी स्किन रोग

जुम्ला ।

हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तिला गाउँपालिका-२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको जानकारी दिए ।

लम्पी स्किन रोगको सङ्क्रमणबाट लिही गाउँका करिब ३० वटा गाईगोरु मरिसकेका छन् । रोगलाई नियन्त्रण गर्नेका लागि गाउँपालिकालाई आवश्यक औषधि उपचारको व्यवस्थापनका लागि अनुरोध गरिएको नेपालीको भनाइ छ ।

Batas

तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले पालिकाका केही वडामा लम्पी स्किन रोगबाट गाईगोरु मरेको जानकारी आएको भन्दै रोगबाट बढी प्रभावित क्षेत्रलाई प्रथामिकतामा राखिएको बताए । उनले ती क्षेत्रमा तत्कालका लागि पशु सेवा कार्यालय जुम्लाको सहकार्यमा औषधि ल्याई पशु प्रविधिकलाई स्थलगतरुपमा खटाई उपचार सुरु गरिएको बताए ।

गाउँपालिका वडा नं १ रारामा पनि लम्पी स्किन रोग फैलिएको छ । उपचार गर्ने अहिलेसम्म गाउँमा कोही पनि नआएको स्थानीय पराने बस्नेतको भनाइ छ । यो रोग लागेका गाईभैँसीमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, मुख, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखा पर्छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार जुम्लाका आठवटै स्थानीय तहका लम्पी स्किन रोग देखा परेको छ । जिल्लामा सबैभन्दा पहिला कनकासुन्दरी गाउँपालिका(४ मा उक्त रोग देखा परको थियो । उक्त स्थानमा हाल उपचारपछि रोग नियन्त्रण आएको छ ।

पछिल्लो समय तातोपानी, सिञ्जा, तिला, गुठिचौर र चन्दननाथ नगरपालिकामा लम्पी स्किन रोग फैलिएको स्थानीय तहबाट जानकारी आएको पशु सेवा कार्यालय जुम्लाका प्रमुख बुढ्थापाको भनाइ छ । सङ्क्रमणलाई रोकथाम गर्नेका लागि चन्दननाथ नगरपालिका र गुठिचौर गाउँपालिकाले गाईभैँसीलाई लक्ष्णअनुसार उपचार गरेका छन् । तिलामा देखा परेका सङ्क्रमित गाईगोरु र भैँसीलाई कार्यालयबाट थप औषधि र ५५ वटा खोप पठाएको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।

स्थानीय तहका प्रमुखसँग छलफल गरेर चाहिने औषधि खरिद गरी पालिकको पशु शाखाबाट गाउँ गाउँमा पुगेर उपचार गर्ने सुझाव दिएको कर्णाली प्रदेश पशुपक्षी विकास निर्देशनालयले जनाएको छ ।

रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.