www.tandavnews.com
Fact ~ In search of truth

‘कागजपत्रको आधारमा कानुन अनुसार नै सिफारिस दिइएको हो’

पोखरा
ताण्डव न्यूज ।

गत पुस महिनामा पोखरा महानगरपालिका वडा नं २१ बसोबास गर्ने रश्मी रानाभाट नागरिकता प्राप्तिका लागि सिफरिस लिन वडा कार्यालय पुगिन् । सिफारिसका लागि आवश्यक कागजात बोकेर उनि वडा कार्यालय पुगेकी थिइन् ।

वडाका अध्यक्ष दीपक सुवेदी महानगरकै काम बिशेषमा वडा बाहिर निस्कनु पर्ने भएकाले वडा सदस्य विमला केसी चालिसेलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिए ।

Batas

नागरिकता सिफारिसका चाहिने जन्मदर्ता, शैक्षिक प्रमाण लिएर रानाभाट परिवार कार्यवाहक वडाध्यक्ष चालिसे समक्ष पुगे । चालिसेले सिफारिसका लागि चाहिने जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, साक्षी हेरेपछि कानुन अनुसार नै सिफारिस दिइन् । जन्मदर्ता र शैक्षिक प्रमाणपत्रमा निवेदन अनुसार नै बुवाको नाम ज्ञान बहादुर रानाभाट र आमाको नाम तारा देवी रानाभाट देखिएपछि उनले सिफारिसका लागि हस्ताक्षर गरकी थिइन् ।
सोही सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीले पुस २१ गते रश्मी रानाभाटको नाममा नागरिकता जारी गर्यो ।

अहिले रानाभाटका छिमेकीहरुले उक्त रश्मी रानाभाट, ज्ञान बहादुर र तारा देवीको छोरी नभएको भन्दै विरोध जनाएका छन् । उक्त विरोधको स्वर जिल्ला प्रशासनसम्म पुगेको छ ।

नागरिकताबारे किचलो सुनेपछि प्रशासनले अहिले वडा कार्यालयलाई ‘यस बारे खुलाई पठाइदिन’ पत्र पठाएको छ ।

कागजपत्रको आधारमा कानुन अनुसार नै सिफारिस गरेका हौँ : वडाध्यक्ष सुवेदी

पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदीले सिफरिस कानुन अनुसार नै भएको बताए । नागरिकता सिफारिसका लागि पेश गरिएको आवश्यक कागजपत्र कानुन अनुसार नै देखिएकाले सिफारिस दिइएको उनको भनाई छ । ‘हामीले हेर्ने भनेको शैक्षिक प्रमाणपत्र, जन्मदर्ता, साक्षी नै त हो । अब जन्मदर्तामा पनि, शैक्षिक प्रमाणपत्रमा पनि आमा बुवाको नाम सोही अनुसार छ ।’ उनले भने ।

‘उहाँहरुको छोरी होइन भन्ने छ नि ?’ भन्ने प्रश्नमा उनले यस विषयमा बल्ल अहिले आएर जानकारी भएको बताए । उनले भने‘यो हल्ला भएपछि बल्ल थाहा भएको हो । यसबारे जिल्ला प्रशासनले पनि हामीलाई विषय खुलाई पठाउन पत्र पठाएको छ । अब हामी उहाँ (ज्ञान बहादुर र तारा देवी)लाई प्रशासनमै पठाइदिन्छौँ । अगाडीको काम कारवाही प्रशासनको आदेश अनुसार नै हुन्छ ।’

यता कार्यवाहक वडाध्यक्षको हैसियतमा सिफरिस दिएकी वडा सदस्य विमला केसी चालिसेले पनि कागजकै आधारमा सिफारिस दिएको जनाइन् । ‘हामीले कागजात नै हेर्ने हो नी । जन्मदर्ता छ । उहाँहरु स्वयं उपस्थित हुनुहुन्छ । सबै कागजात रुजु गरेपछि ठिक छ भन्ने भएर सिफारिस दिएकी हुँ’ उनले भनिन् ।

रश्मीले अध्ययन गरेको विद्यालयले दिएको प्रमाण पत्र

कागजपत्र हेर्दा वडाध्यक्ष सुवेदीले भने अनुसार नै रश्मी रानाभाट नाम गरेकी युवतीले २०७६ मा एसईई उत्तिर्ण गरेको शैक्षिक प्रमाणपत्रमा बुवाको नाम ज्ञान बहादुर रानाभाट र आमाको नाम तारा देवी रानाभाट नै छ । यस्तै जन्मदर्तामा पनि सोही अनुसार आमा बुवाको नाम उल्लेख छ । सिफारिसका क्रममा चाहिने साक्षीले पनि रश्मीका आमा बुवा उनै हुन् भनेर हस्ताक्षर गरेका छन् ।

रश्मीको जन्मदर्ता

यसबारे वडा कार्यालयलाई खुलाएर पठाउन भनिएको र आमा बुवा भनिएका ज्ञान बहादुर र तारा देवीलाई पनि डाकेर प्रक्रिया अघि बढाइने प्रशासनले जनाएको छ ।

नागरिकता प्राप्त गरेकी रश्मी अहिले क्यान्सरसँग जुधिरहेकी छिन् । उनको पाठेघरमा क्यान्सर देखिएपछि भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

रश्मीले सिफारिसका लागि वडामा दिएको निवेदन

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.