www.tandavnews.com
Fact ~ In search of truth

प्रेस चौतारी नेपाल गण्डकीको प्रथम साधारणसभा, सातबुँदे पोखरा घोषणापत्र जारी

पोखरा ।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको प्रथम साधारणसभा सातबुँदे पोखरा घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ ।

प्रदेश समिति अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले पत्रकार महासंघ सदस्यता शुद्धीकरण अभियान नाममा महासंघ गण्डकीले प्रेस चौतारी नेपालमा आबद्ध क्रियाशील पत्रकारलाई छानीछानी सदस्यता खारेज गरेकोप्रति आपत्ति जनाएको छ । साथै उक्त निर्णय तत्काल सच्याउन माग गर्दै महासंघ प्रदेश समितिमा लगाएको तालाबन्दी कायम राखी अझ कठोर संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

Batas

यसैगरी, गण्डकी प्रदेश सरकारले प्रस्ताव गरेको आमसञ्चार विधेयकलाई मिडियामैत्री बनाएर यथाशीघ्र पारित गर्न माग गरेको छ भने संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ नेतृत्वको सरकारले सुरुवात गरेको सञ्चारमाध्यमको लागि लोककल्याणकारी विज्ञापन वर्तमान सरकारबाट विज्ञापनको रकम घटाउने तथा वितरण प्रक्रियामा विभेद गर्ने जस्ता परिदृष्य देखिएकाले यस्तो कार्य तत्काल रोक्न र सबै सञ्चारमाध्यमले समान हिसाबले लोककल्याणकारी विज्ञापन र सोवापतको रकम पाउने व्यवस्था गर्न माग गरेको छ ।

अनेक बहानामा श्रमजीवी पत्रकारलाई सञ्चारमाध्यमबाट निष्काशन गर्ने, काम छोड्न बाध्य पार्ने र समयमा पारिश्रमिक उपलब्ध नगराउने जस्ता गतिविधि भैरहेको हुँदा यस्ता गतिविधि तत्काल रोक्न र श्रमजीवी पत्रकारलाई पेशागत सुरक्षाको ग्यारेन्टीको माग गर्दै समयमै न्युनतम पारिश्रमिक उपलब्ध गराउन माग गरिएको छ । पोखरासहित प्रदेशका सम्पूर्ण पर्यटकीय गन्तव्यको पहिचान, प्रचारप्रसार, प्रवद्र्धन, पूर्वाधारको विकास र आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढाउन आवश्यक नीति, बजेट र कार्यक्रम बनाएर लागू गर्न प्रदेश सरकार र सम्बन्धित सरोकारवाला निकायसमक्ष माग गरिएको छ ।

यसअघि साधारणसभाको उद्घाटन समारोहका अधिकांश वक्ताले अहिलेको सरकार नागरिकको हितमा नभएको र पत्रकार महासंघ सरकारको छाया संस्थाको रुपमा विकास हुँदै गरेको भन्दै कडा टिप्पणी गरे ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले चौतारीका सदस्यहरुलाई छानीछानी महासंघले हटाएको भन्दै उक्त निर्णयको चर्को विरोध गरे । शुद्धीकरण अभियान प्रेस चौतारीले सुरुआत गरेको स्मरण गर्दै उनले यदि चौतारीलाई घेराबन्दी पारिए महासंघका देशभरका शाखा तथा एसोसियट शाखामा तालाबन्दी गरिने चेतावनी दिए ।

एमाले स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रेस चौतारीका इन्चार्ज राजेन्द्र गौतमले अहिलेको सरकार जनताको हितमा नरहेको भनी टिप्पणी गरे । चौतर्फी घेराबन्दीबीच पनि प्रेस चौतारी सशक्त बन्नुपर्ने सुझाव दिए ।

एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले अहिलेको गण्डकी सरकारले आफूहरुले सुरुआत गरेको कामलाई नै मुख्य उपलब्धि हो भनी सार्वजनिक गर्नु हाँस्यास्पद भएको टिप्पणी गरे ।

एमाले केन्द्रीय सदस्य एवं जनवर्गीय संगठन समन्वय संयन्त्र गण्डकी संयोजक डा. सूर्य पाठकले मानवअधिकार र प्रेस स्वतन्त्रताको रक्षामा काम गरोस् भनी चौतारीलाई शुभकामना दिए ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन बिस्टले यो सरकार तस्करी गर्नेहरूको लागि हो भन्दै उसको कार्य जनविरोधी भएको आरोप लगाए ।

एमाले केन्द्रीय सदस्य एवं गण्डकी प्रचार संयोजक राजीव पहारीले प्रेस चौतारीका आगामी कार्यक्रममा सक्दो सहयोग गर्ने वचन थिए ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटी उपाध्यक्ष एवं जनवर्गीय संगठन प्रमुख मोहन रेग्मीले एमाले विरूद्ध चौतर्फी घेराबन्दी भइरहेको भन्दै यो भ्रम चिर्न पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने बताए ।

एमाले गण्डकी प्रदेश कमिटी उपसचिव एवं प्रचार विभाग प्रमुख रश्मि आचार्यले प्रेस चौतारीले विगतमा हरेक क्षेत्रमा लिड गर्दै आएकोमा अब पनि गर्दै जाने शुभेच्छा व्यक्त गरे ।

चौतारीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज सुष्मा पौडेलले महासंघको शुद्धीकरणमा भएको विभेदको चर्को विरोध गरिन् । उनले प्रेस चौतारीलाई बलियो बनाउन सबै जना मिलेर जानुपर्ने बताइन् ।

बन्दसत्रमा गण्डकीका मनाङबाहेक सबै जिल्लाका अध्यक्षले शाखाको प्रगति प्रस्तुत गरेका थिए । प्रेस चौतारी गण्डकी महासचिव आश गुरुङले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष भविश्वर पाण्डेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफलसहित सर्वसम्मत पारित भएको थियो ।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समिति अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रेस चौतारी नेपाल केन्द्रीय समिति सचिव एवं गण्डकी प्रदेश इन्चार्ज सुष्मा पौडेल र सञ्चालन महासचिव आश गुरुङले गरेका थिए ।

सो अवसरमा एमाले केन्द्रीय प्रचार विभाग सदस्यमा चयन गणेश पाण्डे र रामकृष्ण ज्ञवालीलाई सम्मान गरिएको थियो ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.