www.tandavnews.com
Fact ~ In search of truth

प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागू, ९५८ प्रहरी निरीक्षक सरुवा

काठमाडौँ ।
नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागू भएको छ । प्रहरी प्रधान कार्यालयले ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड, २०७९’ अनुसार प्रहरी निरीक्षकको सरुवा गरेको छ ।
Batas
तालिमपश्चात ‘पासआउट’ भएका नयाँ तथा पुराना गरी नौ सय ५८ प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवं सहायक दरबन्दीतर्फ सरुवा भएको छ । त्यस्तै ६४ प्रहरी निरीक्षकको बढुवा र पदस्थापन भएको छ ।
मापदण्डमा प्रहरी निरीक्षक प्रमुख हुने कार्यालयलाई जनघनत्व, यातायातको पहुँच, आपराधिक घटनाको सङ्ख्या, भौगोलिक अवस्थितिलगायत आधारमा तीन श्रेणीमा वर्गीकरण गरिएको छ । ‘क’ र ‘ख’ श्रेणीका कार्यालयमा ज्येष्ठता एवं कार्यसम्पादनस्तरसमेतका आधारमा नदोहोरिने र आलोपालो हुने गरी कार्यालय प्रमुखको अवसर प्रदान गरिएको छ ।
पहिलोपटक कार्यालय प्रमुखको अवसर प्राप्त गर्नेलाई अनिवार्यरुपमा ‘ख’ र ‘ग’ श्रेणीका कार्यालयमा मात्र सरुवा गरिएको छ । यसअघि नै काज सरुवामा मापदण्ड प्रतिकूल हुने गरी कार्यालय प्रमुखको रुपमा गएका प्रहरी निरीक्षकलाई फिर्ता बोलाइ मापदण्डबमोजिम कार्यालय प्रमुख वा सहायक दरबन्दीमा सरुवा गरिएको छ ।
श्रेणी छुट्याएर मापदण्डअनुसार सरुवा, बढुवा र पदस्थापन हुन थालेपछि कुनै पनि दबाब र प्रभावको अर्थ नहुने गृह मन्त्रालयले जनाएको छ । पहुँचवालाले लगातार अवसर पाइरहने र पहुँच नहुने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्यका लागि मन्त्रालयले उक्त मापदण्ड बनाएको हो ।
रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.