www.tandavnews.com
Fact ~ In search of truth

‘यसरी डुबायो माछापुच्छ्रे बैंकले, अब अदालत जान्छौँ’

पोखरा
ताण्डव न्यूज ।

माछापुच्छ्रे बैंक पोखराको बैंक भनेर चिनिन्छ । पोखराबाट सुरु भएको हुनाले यस बैंकलाई पोखरेलीले आफ्नो ठान्छन् । तर पछिल्लो समय केही विवाद आउन थालेपछि माछापुच्छ्रे बैंकले विश्वास गुमाउँदै गएको आरोप लागेको छ ।

केही बर्ष अघि बैंकले एउटा प्रा.लिलाई ऋण दिने भनेर जग्गा रोक्का राखेर रकम दिन नसकेपछि अहिले प्रा.लिका सञ्चालक निकै मारमा परेका छन् । पोखरा–२७ अर्घौँ चोकबाट बैकिङ्ग प्रोसेस गरेर स्विकृत दिएपनि बैंकले रकम निकास नगरेपछि ति व्यवसायी यतिबेला न्यायको निम्ती अदालत धाउने भएका छन् ।

Batas

पोखरा–२७ का रेशम बहादुर कुमालले केही गरौं भनेर २०७६ साल भदौ २ गते रेशम एग्रो ईण्डष्ट्रिज प्रा.लि दर्ता गरे । पशुपालन, मिश्रित खेती, मल, बिउ विजन सम्बन्धी कारोवार गर्ने उदेश्यका साथ दर्ता गरेको प्रा.लि कुमालले एक्लै गर्न सकिदैन भनेर केही साथीहरुको सहयोग लिएर काम अघि बढाए । सोही अनुसार पोखरा–२७ रिट््ठेपानीमा एग्रो सञ्चालनको निम्ती करिब १५ रोपनी जग्गा तयार पारे । त्यसपछि एक जना दुई जना हँुदै अन्य साथीहरु कुनै सञ्चालकको रुपमा त कुनै सहयोग गर्ने हेतुले जोडिदै गए ।

सोही मध्येका एक साथी थिए, प्रमोद अधिकारी । अधिकारीसँग कुमालको राम्रै सम्बन्ध बन्दै गयो । कुमालले गरेको काम र भोग्नु परेको समस्यालाई ख्याल गर्दै एक दिन अधिकारीले उनलाई एउटा प्रस्ताव राखे । बैंकबाट लोन निकाल्ने अनि प्रोजेक्टलाई राम्रोसँग अघि बढाउने । त्यति मात्र होइन अघिकारीले लोन निकाल्न सबै सहयोग गर्ने र सो वापतको ५ प्रतिशत रकम आफुलाई दिनु पर्ने प्रस्ताव पनि पेश गरे । त्यति धेरै दिन नसक्ने भनेपछि अन्त्यमा कुमाल र अधिकारी बिच ३ प्रतिशत रकम दिनेमा मौखिक सहमती भयो ।

सहमती अनुसार बैंकका केन्द्रदेखी तलसम्मकालाई रकम खुवाउने जिम्मा पनि अधिकारीकै ३ प्रतिशत रकमबाट दिने कुमालले सुनाए ।

अनि प्रक्रिया सुरु भयो ।

पोखरा–२७ अर्घौं चोकमा रहेको माछापुच्छ्रे बैंकबाट प्रमोदको योजना अनुसार काम थालियो । सबै प्रक्रिया बुझेपछि आवश्यक कागजात र जग्गा जुटाउन कुमाल साथी भाईहरुलाई गुहार्न थाले । ५२ करोड क्रण लिन कम्तीमा पनि १ अर्व जतिको जग्गा खोज्नु पर्ने भयो ।

सबै कागजात तयार भयो । बैंकबाट क्रण लिन आवश्यक पर्ने जग्गा कुमालले साथीभाईहरुसँग मागे । लेखनाथ शिशुवा र अर्घौंको गरी पाँच ठाँउको करिब १ अर्व पर्ने जग्गा रोक्का गर्ने तयारी भयो । लालपुर्जा र प्रा.लिको आवश्यक कागजात बैंकमा पेस भयो । सबै कागजात मिलेपछि माछापुच्छ्रेले भने अनुसार सबै जग्गा रोक्का राख्ने काम भयो । फिल्ड भिजिट पनि भयो । त्यति मात्र होइन बैंकका बोर्ड मेम्बर र बोर्ड डाइरेक्टर सबै आएर पटक पटक हेरेर काम हुने आश्वासन दिए ।

सोही अनुसार २०७८ साल कात्तिक ५ गते क्रण (कर्जा) को ब्याज तथा प्रिमियम दर समायोजन सम्बन्धमा पत्र जारी भयो । पत्र अनुसार रेशम एग्रो ईण्डष्ट्रिज प्रा.लिको नाममा क्रण स्विकृत कर्जा सुविधाहरुको ब्याज तथा प्रिमियम दर समायोजन गरि तपसिल बमोजिम प्रिमियर र ब्याजदर समायोजना भएको उल्लेख छ ।

जसमा कर्जाको विवरण तथा निर्धारित ब्याजदर यस प्रकार उल्लेख गरिएको छ । कर्जा शिर्षक अधिविकर्ष कर्जा ५ करोड, ट्रस्ट रिसिप्ट/अल्पकालिन डिमाण्ड कर्जा/डिमाण्ड कर्जा १२ करोड ८० लाख, स्थिर आवधिक कर्जा(१) ६ करोड २३ लाख, स्थिर आवधिक कर्जा (२) १८ करोड ८२ लाख, ब्रिजग्याप कर्जा १६ करोड र हायर पर्चेज बर्जा (१,२,३ र ४) गरि ९५ लाख उल्लेख गरि बैंकले सहित छापसहितको पत्रचार गर्यो ।

जग्गा रोक्का भएर क्रण स्विकृत भएको पत्र नै आएपछि रेशम र उनको टिम काम नरोकी अघि बढ्ने निर्णयमा पुगे । बैंकले स्विकृत दिएको पत्र भएपछि एग्रोको काम गर्न अन्य साथीले पनि सजिलै क्रण दिए ।

सोही अनुसार टिमले दुई वेयर हाउस र स्टाफ क्वाटर (२४ कोठा)को भवन, अफिसियल पक्की भवन ३ तल्लाको (११ कोठा)को, अपरेटिङ रुप २ तल्ला (७ कोठा), १२ रोपनी घेरेर पर्खाल, समान ल्याउन लैजान ढुवानीको निम्ती ठूलो बाटो निर्माण, आवश्यक नाली, २ वटा कल्भर्ट, धर्म काँटा निर्माण, मेसिन राख्न बेसमेन्ट सेटअप र गोदामको लागि ट्रष्ट सबै गरि करिब १२ करोड खर्च भएको कुमालले बताए ।

सबै काम भईरहेको थियो तर बैंकबाट पैसा आउन निकै ढिला भएपछि कुमाल बैंक धाउन थाले । २०७८ सालमा स्विकृत भएको कर्जा अहिलेसम्म पनि नआएको भन्दै कुमाल ताण्डव न्यूजमा कागजातसहित आइपुगे ।

कुमालका अनुसार माछापुच्छ्रे बैंकले किन रकम दिएन भन्ने कुरा अझै प्रष्ट नभएको पाइएको छ । ‘कहिले कोभिड त कहिले के भन्दै क्रण नै दिएन,’ कुमालले भने, ‘त्यति मात्र होइन जग्गा फुकुवा देऊ भन्दापनि दिदैनन् ।’
कुमालले माछापुच्छ्रे बैंकका कारण आफु निकै ठूलो संकटमा परेको गुनासो गरे । ‘ऋण स्विकृत भयो भनेपछि साथीभाईहरुसँग क्रण लिएर काम गरेँ अहिले ति साथीभाईहरु पैसा माग्न दिनदिनै आउछन्,’ उनले भने, ‘पहिला मागेको भन्दा धेरै ऋण दिन तयार भएर स्विकृती पनि थियो अहिले मलाई डुबएर छोड्यो, अब म न्यायको लागि अदालत जान्छु ।’

कुमालका अनुसार पोखरा फाइनान्समा भएको जग्गाको ऋण पनि माछापुच्छ्रे बैंकले ६ करोड २३ लाख स्वाप गरि दिएको र २ करोड रकम गरि हालसम्म जम्मा ८ करोड २३ लाख मात्र दिएको छ । जबकी बैंकले ५२ करोडको ऋण वापत ०.२५ प्रतिशत सेवा शुल्क पनि लिएको उनको भनाई छ ।

बैंकले व्यक्तिको कुरा सुनेर यस्तो अवस्था आएको कुमालले आरोप लगाए । ‘प्रमोद अधिकारीले कमिसन मागेका थिए, लोन सबै नआई कसरी दिने कमिसन,’ कुमालले भने, ‘प्रमोद र बैंककै लापरवाहीको परिणाम अहिले मैले भाग्नु परेको छ ।’

प्रमोदले बैंक हातमा लिएको अरोप पनि उनले लगाए । ‘काम हुन भन्दा पहिला कमिसन माग्यो प्रमोदले,’ उनले भने, ‘पछि काम हुन सकेन ।’ प्रमोदले सुरुआती दिनमा आफुलाई रकम सहयोग समेत गरेको कुमालको भनाई छ । ‘पहिला त पैसा आउँछ भनेर प्रमोदले माग्दै नमागी पनि २ करोड सहयोग गरैकै हो । पछि बैंकको काम नभएपछि केटाहरु लगाएर मलाई धम्की दिने काम पनि गर्यो ।’

प्रमोदले आफ्नो रकम वापतको जग्गा माछापुच्छ्रे बैंकबाटै फुकुवा गरेको कुमालले सुनाए । ‘हामीलाई चाहीँ न जग्गा फुकुवा दिने न त पुरा ऋण नै दिने तर प्रमोदलाई एउटा सेयर सदस्यको जग्गा फुुकुवा गरेर मिलाउने,’ कुमालले भने, ‘बैंकको नियतमा नै खोट दिन्छ ।’

त्यति मात्र होइन बैंकले आफ्नो मनपरी गरेको आरोप उनले लगाए । ‘प्रमोदको सेटिङ भएको कारणले त होला जग्गा फुकुवा दिएको,’ उनले भने, ‘हामीले पनि के भनेका छौँ भने हामीलाई बैंकले लोन दिन सकेनौ अब बैकले दिएको १४ करोडलाई थेग्ने जग्गा बाहेकको अरु हाम्रो जग्गा फिर्ता गर भन्दा पनि मान्दैनन् ।’

ऋण पाउने आशमा पहिले नै कानुनी प्रक्रिया अघि नबढाएको कुमाल सुनाउछन् । ‘पहिला कोभिड भन्यो होला त नी भन्ने भयो, फेरी आर्थिक मन्दी भन्यो होला त नी भनियो,’ उनले भने, ‘अब त आफैँ मर्ने बेला भयो अब अति भयो, अदालत धाउछौं ।’ कुमालसहित एग्रोमा अन्य साथीहरुको जग्गा र रकम लगानी भएको छ ।

यस विषयमा माछापुच्छ्रे बैंक पोखरा–२७ अर्घौंका शाखा प्रमुख भानुभक्त अधिकारीले आफुलाई केही थाहा नभएको बताए । ‘यस विषयमा मलाई केही थाहा छैन,’ उनले भने, ‘मैले कुरा गर्न मिल्दैन बैंकको प्रवक्तासँग कुरा गर्नु होला ।’

शाखा प्रमुख अधिकारीसँग पनि पटक पटक कुमाल सहित एग्रोको टोली बैंक पुगेको जानकारी आएको थियो ।

बैंकका चिफ अपरेटिङ अफिसर तथा प्रवक्ता सुनिल खतिवडाले प्रक्रिया नपुगेको हुनाले थप रकम दिन नसकेको बताए । ‘प्रक्रिया नपुगेको हुनाले थप रकम निकास भएन,’ उनले भने, ‘यदी प्रक्रिया पुरा गर्छन भने अहिले पनि दिन्छौ ।’

यता कुमालका अनुसार के प्रक्रिया हो भन्ने अहिलेसम्म पनि बैंकले भन्न नसकेको बताए । ‘प्रक्रियागत हो भने के को आधारमा पहिला ६ करोड २३ लाख, २ करोड अनि प्रमोदले चाहेको बेलामा जग्गा फुकुवा कसरी भयो ?’

कुमालले आरोप लगाएका प्रमोद अधिकारीले कुमालको टिमले गर्दा आफु अहिले पोखरा छोडेर स-परिवार काठमाडौं जानु परेको बताए । ‘मैले एग्रोको टिम चिन्दिनँ । मेरो अंकलको छोरामार्फत उनिहरुलाई २ करोड लगानी गरेको थिएँ । तर अहिले एक करोड बराबरको जग्गा पाएँ, बाँकी एक करोड पाउन बाँकी छ ।’ उनले भने ।

बैंकमा ऋण लिन आफ्नो केही संलग्नता नरहेको उनको दाबी छ । उनले भने ‘मैले ऋण निकालिदिएवापत कुनै प्रतिशत मागेको छैन । बैंकमा ऋण लिने भन्ने विषयमा मैले बोलेकै छैन । उनिहरुले यत्तिकै आरोप लगाउँदै हिँडेका छन् ।’

 

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.