www.tandavnews.com
Fact ~ In search of truth

आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोट: नेपालकाे सुखद सुरुआत

काठमाडौँ :
आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।
Batas
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सिङ्गापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । ओपनर भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७४ रनको योगदान दिए ।
  त्यस्तै रोहित पौडेलले अविजित ३५ रन बनाए । उनले २४ बलमा २ चौका र २ छक्कासहित ३५ रन बनाएका हुन् । नेपालका अर्का ओपनर आसिफ शेख र कुशल भुर्तेलले ९ दशमलव १ ओभरमा ८४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत गरेका थिए । आसिफले २७ रन बनाए । उनले २६ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाएका हुन् । सिङ्गापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले समान एक, एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले व्याटिङ रोजेको सिङ्गापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको थियो । सिङ्गापुरका लागि युवा ओपनर रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाएका हुन् ।
त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए । उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका हुन् । मनप्रित सिंहले २४ तथा अक्षय पुरीले १३ रन जोडे । नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई, दुई विकेट लिए ।
नेपालको दोस्रो पटक ट्वान्टी २० विश्वकपमा छनोट हुने लक्ष्य रहेको छ । यसअघि नेपालले सन् २०१४ मा बङ्गलादेशमा टि ट्वान्टी विश्वकप खेलेको थियो । अब नेपालले आफ्नो दोस्रो खेल भोलि मलेसियासँग खेल्नेछ । विभिन्न आठ टोली सहभागी उक्त प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आगामी सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा संयुक्तरुपमा आयोजना हुने टि २० विश्वकप खेल्न पाउनेछन् ।
विश्वकपको एशिया छनोटअन्तर्गत समूह ए मा आयोजक नेपालसहित मलेसिया, सिङ्गापुर र ओमान छन् । त्यस्तै समूह बी मा युएई, हङ्कङ, बहराइन र कुवेत छन् ।
रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.