www.tandavnews.com
Fact ~ In search of truth

नेकपा सचिवालय बैठक भोली

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै आज बैठक बस्ने भनिए पनि तयारी नपुगेकाले सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठक भोलि दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । यसअघि साउन १३ गतेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे भएको छलफलमा केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताबारे सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो ।

नेकपामा स्कूल विभाग कसलाई दिने भन्नेबारेमा विवाद हुँदै आएको छ । उक्त विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य धनश्याम भुसाल र वेदुराम भुसाललगायतको जिकिर भएको कुरा बाहिर आएको थियो ।

अन्य विभागको टुङ्ग्यो लागेपनि स्कूल विभागको कुरा नमिल्दा नेकपाको सचिवालय बैठक पटक पटक सर्दै आएको छ । पार्टी एकता भएको एक वर्ष पूरा भए पनि अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन ।

अहिलेसम्म प्रदेश कमिटी, र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता दिन बाँकी छ । यसैगरी राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको कामसमेत पूरा हुन सकेको छैन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.