www.tandavnews.com
Fact ~ In search of truth

सुन्दरीजलबाट चाबहिलसम्मको पाइपमा अायाे मेलम्ची

काठमाडौँ ।

मेलम्चीको पानी राजधानीमा वितरण गर्न बिच्छ्याएको वितरण सञ्जालको मूलपाइप सुन्दरीजलबाट चाबहिलसम्म परीक्षण सम्पन्न भएको छ ।

चाबहिलभन्दा माथिको चुहावट बन्द गरी वितरण प्रणाली चुस्त बनाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । चाबहिल चोकमा भने चुहावट बन्द गरी पुनःपरीक्षण गर्दा समेत काम नगरेपछि एक महीनादेखि काम भइरहेको छ ।

Batas

पानी वितरण गर्न ७० किमी थोक र ६७० किमी वितरण सञ्जालको पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । पाइप बिच्छ्याएका स्थानमा वाग्मतीको पानीले भ्याएसम्म परीक्षण पनि भइरहेको जनाइएको छ ।

चाबहिल चोकको एक हजार ४०० एमएमको पाइपको चुहावट आइतबारसम्म बनाइसक्ने निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले राससलाई जानकारी दिनुभयो । महाङ्काल, चुच्चेपाटी र सुकेधाराका चुहावट यसअघि नै बन्द भइसकेको छ । वर्षाद्मा वाग्मती नदीमा बढी भएको पानी सुन्दरीजलको नयाँ प्रशोधन केन्द्रमा हाली परीक्षण गरिएको हो ।

वर्षाद्मा बढी भएको दैनिक तीन करोड लिटर पानी मेलम्चीको वितरण सञ्जालमा हाली परीक्षण गरिएकोमा हिउँद लागेसँगै ३० प्रतिशतले कमी आएकाले बाँकी परीक्षण गर्न मेलम्चीकै पानी कुर्नुपर्ने उनले बताए । मेलम्चीको पानी सुन्दरीजलमा झरेपछि महाङ्कालचौर ल्याई पुरानो सञ्जालबाट वितरण र नयाँ सञ्जालबाट परीक्षण गरिने निर्देशनालयले जनाएको छ ।

दुई महीनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने सरकारको लक्ष्य छ । पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड २८ लाख लिटर पानी राजधानीमा आउनेछ ।

याङ्री र लार्केको आयोजना सम्पन्न भएपछि दैनिक ५१ करोड ९० लाख लिटर पानी राजधानीमा झार्ने लक्ष्य छ । याङ्री र लार्केको पानी ल्याउन विस्तृत परियोजना प्रस्ताव निर्माणको काम भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.