www.tandavnews.com
Fact ~ In search of truth

चमेलियाको उद्घाटन माघ २७ गते

माघ २४, दार्चुला(रासस) ः दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–१, बलाचमा रहेको राष्ट्रिय गौरवको आयोजना चमेलिया जलविद्युत्को औपचारिक उद्घाटन माघ २७ गते हुने भएको छ ।
सरकारी लगानीमा निर्माण भएको ३० मेगावाटको चमेलिया जलविद्युत्को औपचारिक उद्घाटनका लागि माघ २७ गते प्रधानमन्त्री शेरबहादुर देउवा आयोजनास्थल बलाच आउनु हुने आयोजना प्रमुख अजय दाहालले जानकारी दिए ।
प्रधानमन्त्रीले औपचारिक रुपमा उद्घाटन गरेसँगै आयोजनाले व्यावसायिक उत्पादन थाल्ने समेत आयोजना प्रमुख दाहालले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा सँगै उद्घाटनका लागि ऊर्जामन्त्री कमल थापासमेत आउनु हुने भएको र उद्घाटनका लागि आयोजना स्थलमा आवश्यक तयारी थालिएको समेत उहाँले जानकारी दिए ।
यता प्रधानमन्त्री आउने भएपछि जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयबाट परिपत्र गरिएको छ । सो दिन सुरक्षा व्यवस्थालाई चुस्त एवम् दुरुस्त बनाउन परिपत्र प्राप्त भएको प्रजिअ जनार्दन गौतमले जानकारी दिए । आयोजनाले हाल १५ र १५ मेगावाटका दुई युनिटबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ ।
आयोजना निर्माण शुरु भएको झण्डै ११ वर्षपछि विद्युत् उत्पादन भएको हो । आयोजना निर्माण सम्पन्न गर्ने निर्धा्रित लक्ष्यभन्दा ६ वर्ष बढी समय लागेको हो । आयोजना निर्माणमा भएको ढिलाइले लागत बढेर १६ अर्ब रुपैयाँमा पुगेको छ ।
आयोजनाले वार्षिक १८ करोड ४२ लाख युनिट बिजुली उत्पादन गर्ने जनाइएको छ । आयोजनाका अनुसार यसबाट वार्षिक रु एक अर्ब १० करोड आम्दानी हुनेछ । आयोजना चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) ले निर्माण गरेको हो ।

© 2018, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.