www.tandavnews.com
Fact ~ In search of truth

‘भ्यालेन्टाइन डे’ विशेष : बिछोड पछिको पुनर्मिलन

सुरज हजारे दाहाल

मायाज् बारको बार्दलीमा बसेर रममा हनी र तातो पानी हालेर पिउँदै गर्दा अर्को टेबलमा मधुर मैनबत्ति बलिरहेको छ । मैनबत्तिको आमने सामने भएर एक युगल जोडी मुस्कुराइरहेका छन् ।

माघे झरीको हावाले मैनको किरणलाई धिपधिप बनाइरहँदा युवतीको मुहार कहिले उज्यालो त कहिले अँध्यारो देखिएको छ । जुन कुर्चीहरुमा तिनीहरु बसिरहेका छन् ठिक त्यहि ठाउँमा २० वर्ष अगाडि म र कविता बसेका थियौं ।

Batas

थाहा छैन यि जोडी यस अगाडि कति पटक यहि टेबलमा बसेर एक अर्कालाई रोमान्टिक तरिकाले हेरिसकेका छन् । मलाई याद छ कविता र मैले हाम्रो पहिलो भ्यालेन्टाइन डे यहि टेबलमा मनाएका थियौं ।

त्यसबेला लोडसेडिङ हुँदा हरेक पटक यहाँ आउँदा मैनको उज्यालोले मादकता छाउथ्यो । अहिले भने २४ सैं घण्टा बत्ति आउने हुनाले बत्ति आफैं निभाएर कृत्रिम लोडसेडिङ बनाउन यिनिहरु बाध्य भएका छन् ।

युवती र युवकको बिचमा कम्प्लीमेन्ट्रीमा आएको पप् कर्न र छेउमा रातो गुलाबको बुके छ । एकदम नजिक भएर पनि मैले गुलाबको बासना महसुस गर्न सकेको छैन । आफैंले उडाएको चुरोटको धुँवाको कारण भने गुलाबको बासना हराएको भने होइन । त्यो गुलाब पक्कै पनि आयतित हो । हामी कहाँ तिहारको मखमलीदेखि प्रेम दिवसको गुलाब प्राय आयतित नै प्रयोग हुन्छ ।

म नजिक भएर ति युगल जोडीले चाहेर पनि रोमान्टिक हरकत गर्न सकेका छैनन् । यो खेलमा मेरी कबिता भन्दा यिनी अलि कच्चा नै रहिछन् । छेउमा मान्छे भए पनि उनले भने टेबल मुनिबाटै खुट्टाले खुट्टा छोएर प्रेम गर्थिन् चाहे कलेजको क्यान्टिमा होस् या नगर बसमा ।

यिनीहरु दुबैले एकएक खिल्ली सिगार पिउनु बाहेका आधा घण्टादेखि हात समेत समाएका छैनन् । कबितालाई मनपर्ने बैजनी रङको नेल पलिस र बैजनी रङकै पारदर्शी टिसर्टमा सजिएकी यिनको भित्रि बस्त्र भने रातो रङको छ, रातो अर्थात प्रेमकै प्रतिक । कबितालाई सम्झिन म यहाँ आएको होइन तर यिनीहरुले कबिताको यादलाई ताजा गरिदिएका छन् ।

प्रेम भुल्नलाई त्यहि ठाउँमा जानु हुँदैन भनिन्छ तर यो ठाउँमा आइरहनु प्रेम प्रतिको मेरो समर्पण हो । २० वर्षदेखि म हरेक शुक्रबार मायाज् बारमा आइरहेको छु तर आज भ्यालेन्टाइन डे भएकोले आजको बसाई अतिरिक्त हो ।

वेटरले मलाई अर्को एक पेग रम र एक खिल्ली चुरोट ल्याउँदा सोही ट्रेमा दुई ग्लास रेडवाइन ल्याएको थियो । बसेको एक घण्टापछि बल्ल युवकले उनलाई ह्याप्पी भ्यालेन्टाइन डे जस्मिन भनेर गुलाबको बुके दियो । जस्मिन नामले म झसंग भए किनकी कबिताको छोरीको नाम पनि जस्मिन नै हो ।

जस्मिनको नाक कविताको जस्तै थियो तर अनुहार भने मिलेन । उनकै छोरी नै भएकी भए पनि बाउको पनि अनुहार सन्तानमा पर्ने भएकोले आमा झैं नदेखिएकी पनि हुनसक्छे । जस्मिनले गुलाब लिइन् र मधुर मुस्कानले युवकतिर हेरिन् । युवकले आसपास हेर्यो र म भएर केहि प्रतिकृया जनाएन । जस्मिनले युवकलाई किताब दिइन् ।

किताब कविताकै चर्चित किताब ‘लाष्ट लभ’ रहेछ । आवरण भने उराठ लाग्दो छ किताबको । डाँडामा प्रेमको आकृतिलाई डुबाइएको छ । कविता र मेरो प्रेम सफल भएको भए प्रेमको आकृति दुई डाँडाको बिचबाट उदाउँदै गरेको तस्विर हुन्थ्यो होला ।

मसँगको बिछोड पछि उनको दोस्रो प्रेम भाँडा पसले राजसँग भएको थियो । पटकपटक ब्रेकअप र प्याच अपको खेलमा धेरै पटक रोमान्स गरेर अन्ततः उसले बाउआमाको रोजाइमा मागी विवाह गरेको थियो । कविताले मलाई र राजले कवितालाई छोडेपछि उनको र मेरो हिसाब बराबर भएको थियो ।

दोस्रो असफल प्रेम पछि उनको तेस्रो प्रेम भने अनलाइन प्रेम थियो । उनले यो कुरा एक साप्ताहिकलाई दिएको अन्तरवार्तामा स्विकारेकी थिइन् । वाइफाइको कमजोर नेटवर्क झैं उनको त्यो प्रेम १ वर्ष पनि टिकेको थिएन् ।

एक दिन मेरो जन्मदिन अगाडि बाटोमा अचानक भेट्दा कविताले कफी पिऔं भनेकी थिइन् । उनलाई के भयो थाहा थिएन तर मलाई भने पूर्वप्रेमीको हैसीयतमा नै सहि उनलाई अंगालो हाल्न मनलागेको थियो । मलाई छोडेपछि नयाँ प्रेमी पायौ त भन्दा उनले दोस्रो प्रेमी राज र अनलाइन प्रेमी समिरको बारेमा बताएकी थिइन् ।

म समेत उनका तिनवटा प्रेमी भूतपूर्व भइसकेका रहेछन् । सुरक्षित भविष्यका लागि एकपछि अर्को प्रेमी फेर्ने उनको लत र मेरो चुरोट पिउने लत एउटै थियो र आजसम्म पनि छ । चौथो प्रेमीसँग भने उनको विवाह भएको थियो ।

बैंककी कर्मचारी भएर पनि प्रेम साहित्यमा कविता चर्चित हुनुको कारण नै उनको डिभोर्स हुनु हो । डिभोर्स पछि उनले छोरी जन्माइन् । जुन स्कुलमा मैले पढाउथेँ सोही रोज म्यारी स्कुलमा उनकी छोरी जस्मिन पढ्थिन् ।

तर आफ्नी छोरी पढ्ने स्कुलको शिक्षक म भएको थाहा पाएपछि उनले कक्षा ६ को बिचबाटै स्कुलबाट निकालेकी थिइन् । मलाई शंका छ कि यिनी तिनै जस्मिन हुन् जसकी आमा मेरी पूर्व प्रेमिका हुन् । चुरो कुरा पत्ता लगाउन मैले वेटरलाई एउटा मिनी केक लिन पठाएँ र त्यसमा ह्याप्पी भ्यालेन्टाइन डे लेख्न लगाएँ ।

केक आएपछि मैले उनीहरु केक दिएर विश गरे र किताबतिर हेर्दै यो त एकदम चर्चित किताब हो नि भने । जस्मिनले केकको लागि धन्यवाद भनेर आफ्नो प्रेमी र मसँगै सेल्फी लिइन् अनि यो किताबको सर्जक आफ्नै आमा कविता भएका बताइन् । ह्याभ अ लभ्ली लाइफ भनेर म आफ्नो टेबलमा आएँ । मेरो पुरै जिउ कामी रहेको छ । आफ्नै पूर्व प्रेमिकाकी छोरी रहिछिन् जस्मिन ।

आजभन्दा २० वर्ष अगाडि कविता र मैले प्रेम गर्दा छोरी जन्मिएमा उनको नाम जस्मिन राख्ने भनेका थियौं । हामी दुबैको प्रेमबाट छोरी त जन्मिनन् तर उनको र पतिबाट भने छोरी जन्मिइन् जो जस्मिन थिइन् ।

वेटरलाई फेरि रम मगाएँ र मेरो छैठौं पेग थियो । म पुरै फ्ल्यास ब्याकमा जान थाले । देउरालीमा दुबैसँगै बसेर प्रेमको बाचा गरेको, कलेजको ढोका पछाडि चुम्बन गरेको, सँगसँगै अँगालो मारेर फिल्म हेरेको रियल जिन्दगीको दृश्यहरु रिल जस्तै भएर याद आयो । जसरी २० वर्ष म बिना प्रेम तड्पिएर बिताएँ उनले पनि प्रेमका अनगिन्ती बिछोड भोगेर कटाइन् ।

आखिर दुबैको वर्तमान शून्य थियो । आँशुका ढिक्काहरु खस्दै गर्दा कविताको जस्तै तर अलि घोक्रो आवाज क्षितिजमा सुन्न थालेँ । उनले जस्मिन भनेर चिच्याइन् र छोरीलाई अंगालो हालिन् ।

अनि आफूले भन्ने गरेको पहिलो प्रेमी यहि व्यक्ति हो जसलाई तिमीले ‘केकको लागि अन् नोन् अंकललाई धन्यवाद’ भनेर फेसबुकमा केहि बेर अगाडि फोटो अपलोड गरेकी थियौ ।

कवितालाई हेरेको हेर्यै भएँ । म भन्दा २ वर्ष कान्छी थिइन् । हामी प्रेममा हुँदाको उनको २० वर्षको उमेरमा बिछोडका २० वर्ष जोड्दा ४० वर्षकी जस्ती देखिनुपर्नेमा निकै बुढी देखिएकी थिइन् । कपाल सेता र गाला लत्रिएका देखिए पनि कविता मेरो लागि उहि कविता हो जसलाई पहिलो पटक २० वर्ष अगाडि भेटेको थिएँ ।

कविताले रुँदै आइ लभ यु भनिन् । मलाई त्यहि प्रेम प्रस्तावको याद आयो जुन उनले आजभन्दा २० वर्ष अगाडि मलाई गरेकी थिइन् । प्रेम बिछोडका २० वर्षपछि हामी ४० वर्षका भएका छौं ।

मैले उनलाई बिस वर्ष अगाडिको चर्चित गीत “सुन साँइली चालिस कटेपछि रमाउँला” साच्चैको पो रहेछ भन्दा कविता भक्कानिँदै रोइन् । शायद जस्मिनले पनि आफ्नो प्रेमीलाई आफ्नी आमा र मेरो बारेमा भनेको हुनुपर्छ ति दुबै जना पनि भक्कानिएर रोए ।

जस्मिनले युवकबाट उपहारमा पाएको गुलाबको बुके मैले कवितालाई दिँदै ठिक त्यसरी नै चुमे जसरी त्यहि देउरालीमा कवितालाई नै २० वर्ष अगाडि चुमेको थिएँ ।

 

======================================================

नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकोले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, विना अनुमति हाम्रा सामग्री प्रयोग गरेमा विद्युतिय ऐन अन्र्तगत कानुनी दायरामा जान हामी बाध्य हुने छौ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.