www.tandavnews.com
Fact ~ In search of truth

कलाकारिता प्रतिको लगावले मात्र मैले चित्र बनाएको हुँ

पोखरा
ताण्डव न्यूज ।

‘विहान पत्रिकामा कार्टुन हेर्यो भने पुरुष पत्रिका पढिरहेको र महिलाले कुचो लगाइरहेको देखिन्छ,’ लेखक सावित्री गौतमले भनिन्, ‘हाम्रो कला, साहित्यमा महिलालाई जसरी प्रस्तुत गरिएको छ, मान्छेको धारणा पनि त्यस्तै बन्छ ।’

जवाफमा वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ले भने, महिलाको विषयमा खासै सामाचार पनि आउँदैन, राजनीतिक कार्टुन बनाउँदा महिलालाई कहाँ लगेर राख्ने त ?

Batas

पोखराको लोकसाइडमा ‘कलाले कसरी समाजलाई राम्रो बनाउँछ ?’ शीर्षकको प्यानल डिसकसको अभिव्यक्ति हो यो । युथ थिङ्कर्स सोसाइटी पोखराले आयोजना गरेको यो छलफलमा वरिष्ठ कार्टुनिष्ट वात्सायान, लेखक गौतम र पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीका धारणा बुझिरहेका थिए, सञ्चालक मिलन पौडेल ।

समाज परिवर्तनमा कला साहित्यको भूमिका महत्वपूर्ण रहने तिनैजना वक्ताहरुको साझा धारणा थियो । तर, अझै पनि समाजले यो क्षेत्रलाई हेर्ने दृष्टिकोण भने नफेरिएको उनीहरुको निष्कर्ष छ ।

वरिष्ठ कार्टुनिष्ट वात्स्यायनले आफूले चित्रकला शुरु गर्दा समाजले उपेक्षा गरेको अनुभव सुनाए । ‘कलाकारिता प्रतिको लगावले मात्र मैले चित्र बनाएको हुँ,’ उनले भने, ‘त्यतिबेला चित्र बनाउने साधन पनि केही थिएन, कसैले पनि राम्रो गर्यो भन्थेनन् ।’

कलाकारितामा अन्य क्षेत्रमा भन्दा धेरै संघर्ष गर्नुपर्ने भन्दै वात्स्यायनले थपे, ‘संघर्ष र साधनाले बनेको चिज अर्कै हुन्छ, यसले समाजलाई परिवर्तन गर्न सक्छ ।’

पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले कलाको क्षेत्रमा लाग्दा समाजले नै हेयको दृष्टिले हेर्ने गरेको बताए । ‘विदेश जानेहरु परिवार र समाजसँगै छन् जस्तो लाग्छ, उनले भने हामी यहीँ बसेर कलाको क्षेत्रमा लाग्दा परिवार र समाजपनि टाढा भएको महशुस हुन्छ ।’

लेखक सावित्री गौतमको पनि संघर्ष कम्ता रोचक छैन । महिलाको दृष्टिकोणबाट लेख्न थालेपछि आलोचना धेरै सहनुपरेको बताइन् । ‘मैले लेख लेख्न थालेपछि कतिपय साथीहरुले घरमा श्रीमतीसँग भेटाउनुहुँदैन, यसले डामाडोल पारिदिन्छ,’ समेत आफूले सुन्नुपरेको उनले बताइन् ।

नयाँ पुस्ताले आफ्नो लेखहरु पढेर राम्रो भन्दा आफूलाई गौरव लाग्ने गौतमको भनाइ थियो ।

कार्टुनिष्ट वात्स्यायनले चित्र मात्र बनाएर कार्टुन नहुने बताए । हाँस्यव्यङ्य चेत चित्रकला मार्फत अभिव्यक्त हुनुपर्ने उनको धारणा छ ।

२३ सय वर्षअघि नै ग्रीसमा चित्र र संगीतले मान्छेको संवेदना बढाइदिन सक्ने मान्यता स्थापित भएको भन्दै उनले भने, ‘कलामा धेरै शक्ती हुन्छ, यसको प्रभाव कहिले तुरुन्तै पर्छ कहिले समय लाग्छ ।’

बेलायतमा लोकतन्त्र ल्याउन र भारतमा इन्दिरा गान्धीले संकटकाल लगाउँदा एउटा कार्टुनले तत्कालीन राजनीतिक धार नै परिवर्तन गरिदिएको वात्सायानले बताए ।

यता, लेखक गौतमले कलाकारितामा लागेको मान्छे आँफैले निति निर्माण नगर्ने भएपनि परिवर्तनको पक्षमा नीति बनाउन सघाउने धारणा राखिन् ।

समाजको विकृति विसंगति प्रतिको असन्तुष्टि लेख मार्फत अभिव्यक्त गर्ने गरेको भन्दै उनले कला साहित्यले मान्छेको धारणा परिवर्तन गर्ने बताइन् ।

पोखरामा नाटक व्युँताएका थिएटरका अध्यक्ष परिवर्तन कार्कीले कला साहित्यलाइ मनोरञ्जनका रुपमा मात्र हेर्न नहुने बताए । उनले भने, ‘मान्छेको परम्परागत धारणा परिवर्तन गर्ने सबैभन्दा प्रभावकारी भुमिका नै कला साहित्य हो ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.