www.tandavnews.com
Fact ~ In search of truth

कर्णाली – रारा पर्यटन वर्ष २०७५

सरकारले ‘कर्णाली समृद्धिको आधार, पर्यटन र पूर्वधार’ भन्ने मूल नाराका साथ कर्णाली रारा पर्यटन वर्ष २०७५ सुरु गरेको छ । हवाई तथा सडकमार्गबाट पुगिने रारा ताल नेपालकै सबैभन्दा ठूलो ताल हो । कर्णाली प्रदेशमा अवस्थित रारालाई राजा महेन्द्रले अप्सरासँग तुलना गरेका थिए र यहि ताललाई महेन्द्र तालको नामले पनि चिनिन्छ ।

रारा ताल मानवबस्तीबाट टाढा रहेकोले निकै सफा देखिन्छ । फोहोर तथा जलकुम्भी जस्ता झार नउम्रिएको हुनाले तालको भुईं नै स्पष्ट देखिन्छ । पानीका रंग पनि ठाउँ अनुसार फरक देखिन्छ ।

सुरज हजारे दाहाल
Batas

किनारतर्फ हल्का निलो देखिन्छ भने सल्लाको रुख भएको पूर्वी दिशामा पानी हरियो देखिन्छ । हरेक दिन दिउँसो १२ बजेपछि हावा सक्रिय हुने हुँदा तालमा छाल आउँछ र त्यो बेला छाल पानी गाढा निलो देखिन्छ । यस्तै तालको पश्चिम किनारमा नदीले बगाएर ल्याएको आकर्षक सेता पत्थरहरुको थुप्रो देखिन्छ ।

असोजदेखि कात्तिकसम्म र चैतदेखि जेठसम्मको राराको भ्रमण गर्न उपयुक्त हुन्छ । मंसिरदेखि फागुणसम्म नै हिउँ पर्ने हुँदा यि चार महिना रारा जान उपयुक्त भने हुँदैन ।

विसं २०२० सालमा घोडा चढेर मुगुमा सिकार खेल्न आएका राजा महेन्द्रले सल्लाको रुख मुनि बसेर कवितामा रारालाई स्वर्गकी अप्सरा भन्दै प्रशंसा गरेका थिए । राजा मेहन्द्रले यस तालमा आएपछि ‘सुन्दरताको भण्डार सारा, के खनाया यसै रारामा रारा कि अप्सरा’ भनि २०२० साल चैत १० गते कविता कोरेका थिए ।

काठमा कुँदेर यहि कविता तालको डुंगा घाटमा राखिएको छ । हरेक दिन एउटै समयमा बाह्र बजेपछि छाल आएर साँझसम्म सक्रिय रहन्छ । बिहानदेखि चल्ने नेपाली सेनाका रबरका डुंगा बाह्र बजेपछि रोकिन्छ अनि त्यसपछि कञ्चन पानीमाथि डुंगा होइन छाल सललल बग्न थाल्छ । सेनाले आफ्नो प्रयोग र सर्वसाधरणको लागि बिहान ६ देखि दिउँसो १२ बजेसम्म रबरको डुंगा चलाउने गर्दछ ।

मौसम खुलेको दिन असोज र कार्तिक महिनामा कान्जिरोवा र सिस्ने हिमालको छायाँ रारामा देखिन्छ । जलबिहार गर्नको लागि तालको संरक्षण गर्दै आएको सेनाले ४ वटा रबरको डुंगा सञ्चालन गरेको छ ।

बिकट क्षेत्रमा पर्ने हालै घोषणा गरिएको कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल समुद्री सतहबाट २९९० मिटरको उचाइमा अवस्थित छ । कुल ९.८ वर्ग किमी क्षेत्रफलमा फैलिएको राराको लम्बाई ५ किमी, चौडाई ३ किमी र गहिराई १६७ किमी रहेको छ । तालको पश्चिमतिर दुई घण्टा उकालो चढेपछि मुर्माटप आउँछ जहाँबाट ताल पूर्ण आकारमा देखिन्छ ।

मुर्माटपसम्म दुई हजार तिरेर घोडामा पुग्न पनि सकिन्छ अथवा ३ घण्टा उकालो हिडेर पनि पुग्न सकिन्छ । मुर्माटप आसपास केही होमस्टेहरु पनि रहेका छन् ।

रारा तालको आसपासको जंगलमा हिउँद लागेपछि चिन र रुसबाट कमनकुट नाम गरेको पाहुना चरा तथा विभिन्न प्रजातीका बकुल्ला र हाँसहरु हजारौं माइल पार गरेर आउँछन् र चरा कोरलेर बर्षा हुनु अगाडि फेरि फर्किन्छन् । तालको आसपासको जंगलमा ५१ प्रजातीका स्तनधारी जनावर र २१४ प्रजातीका चरा पाइन्छन् ।

रारालाई अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्रमा विसं २०६४ असोज ६ मा सूचिकृत गरिएको थियो । रारा ताललाई संरक्षण गर्ने अभिप्रायले २०३४ सालमा यहाँका १७२ घर परिवारलाई विस्थापित गरि बाँके जिल्लाको गाभर भ्याली स्थित समथल चिसापानीमा स्थान्तरण गरिएको थियो । बस्ती हटाएपछि ताल र आसपास समेटेर रारा निकुञ्ज घोषणा गरिएको थियो ।

रारा तालमा निकुञ्जको अनुमति लिएर होटल डाँफे र भिलेज रिसोर्ट खुलेका छन् । सेवा र सुविधाको दृष्टिकोणले भिलेज रिसोर्ट उत्कृष्ट रहेको छ । हिँडाई अवधिभर कोणधारी जंगलकाबिच रंगीबिरंगी बुकी फूलहरु फुलेको देखिन्छ । यस्तै सुकेका सल्लाका काठहरु तालमा डुबेको देखिन्छ । हिमाली ट्राउट माछा किनारमा नै आएका देखिन्छन् तर तिनीहरुलाई मारेको देखेमा निकुञ्जले कारवाही गर्छ । यस्तै अन्य तालमा नपाइने ३ प्रकारका असला माछा रारामा पाइन्छ ।

दशैं आसपासको समय असोजदेखि कात्तिकसम्म र चैतदेखि जेठसम्मको राराको भ्रमण गर्न उपयुक्त हुन्छ । मंसिरदेखि फागुणसम्म नै हिउँ पर्ने हुँदा यि चार महिना रारा जान उपयुक्त भने हुँदैन ।

खर्च र बसाइ

पोखराबाट हरेका दिन दिउँसो ३ बजे डिलक्स बस नेपालगञ्जको लागि छुट्छ । भोलिपल्ट एक दिन नेपालगञ्जमा बसेर सोहि साँझ ५ बजेको अथवा पर्सी बिहानको ८ बजेको स्थानीय बसमा दुई दिनको यात्रामा रारा पुगिन्छ ।

पहिलो दिन कालिकोटको नग्मा भन्ने ठाउँमा बस रोक्छ र दोस्रो दिन बसले ताल्चा बिमानस्थलमा ओरालेपछि ३ घण्टाको पैदल यात्रामा रारा पुगिन्छ । सडकबाट र हवाइमार्गबाट खर्च लगभग एउटै आउँछ किनकी सडकमार्गबाट जाँदा बास बस्दा र खाना खाँदा बढी खर्च हुन्छ ।

९ दिनको सम्पूर्ण यात्रा खर्च न्यूनतम १८ हजार रुपैयाँ लाग्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.