www.tandavnews.com
Fact ~ In search of truth

म त लालीगुराँस भएछुँ…

ताण्डव न्यूज

सुरज हजारे दाहाल

न सल्लाको रुख, न धुपी, न चिलाउनेको रुख नै । जहाँतहिँ गुराँसै गुराँस मात्र । पूर्वको प्रदेश १ अन्तर्गतको तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगमस्थल तीनजुरे, मिल्के र जलजलेलाई गुराँसको राजधानी भनिन्छ ।

Batas

अंग्रेजीमा यि तीन ठाउँहरुको पहिलो अक्षरबाट टिएम्जे नाम राखिएको हो । स्वर सम्राट नारायण गोपालले गाएको गीत ‘म त लालीगुराँस भएछु वनभरि फुलिदिन्छु’ भने झैं २८ प्रजातिका गुराँसहरु टिएम्जे क्षेत्रमा ढक्कमक्क फुल्छन् ।

विश्वमा पाइने ४२ थरिका गुराँस मध्ये २८ प्रजातिका गुराँसहरु टिएम्जे क्षेत्रमा चैत र बैशाख फुलेर हरिया वन रातम्य हुन्छन् । विभिन्न रङका गुुराँसहरु मध्ये लालीगुराँस भने नेपालको राष्ट्रिय फूल हो ।

यो क्षेत्रमा गुराँस बाहेक अन्य रुखहरु छैनन् । फागुनदेखि बैशाखसम्म गुराँस फुलेर रातो हुने टिएम्जेको वन बाँकी ९ महिना भने हरियो हुन्छ । गुराँसको जंगलमा टिन् टिन् घण्टी बजाउँदै चौरीहरु चरिरहेका मनमोह दृश्यले कुन्ति मोक्तानको माथिमाथि शैलुङेमा चौरी डुलाउनेलाई गीतको झझल्को दिन्छ ।

तेह्रथुमको तीनजुरे, ताप्लेजुङको मिल्के र संखुवासभाको जलजले मिलेर बनेको टिएमजे क्षेत्रको प्रवेशद्वार वसन्तपुरदेखि टुटेदेउराली, घुर्मिसे, पाँचपोखरी क्षेत्रमा तीन महिना गुराँसहरु फुल्छन् । गुराँसको रंगीचंगी दृश्य मात्र होइन यस क्षेत्रमा हेर्नको निम्ति कञ्चनजंघा तथा मकालु हिमाल र गुफा तथा लामपोखरीहरु समेत रहेका छन् ।

विशेष गरि आन्तरिक पर्यटकहरु बैशाखमा गुराँस पनि हेर्न पाइने र नयाँ वर्ष पनि मनाउन पाइने भएकोले सोहि महिना बढी मात्रामा भ्रमण गर्न आउँछन् ।

 

‘फागुनदेखि बैशाखसम्म गुराँस फुलेर रातो हुने टिएम्जेको वन बाँकी ९ महिना भने हरियो हुन्छ । गुराँसको जंगलमा टिन् टिन् घण्टी बजाउँदै चौरीहरु चरिरहेका मनमोह दृश्यले कुन्ति मोक्तानको माथिमाथि शैलुङेमा चौरी डुलाउनेलाई गीतको झझल्को दिन्छ ।’

 

madi
machhapuchre

तेह्रथुम जिल्लाको बसन्तपुर नपुग्दै टुटे देउराली नजिकैबाट पैदल यात्रुहरुलाई गुराँसको घना जंगलले स्वागत गर्छ । अन्य बेला सुनसान यस देउराली क्षेत्रमा फागुनदेखि बैशाखसम्म पैदलमार्गीका ठूलो भिड हुन्छ । बैशाखमा त झन् जिप नै रिजर्भ गरेर गुराँसको जंगलमा पिकनिक गरिरहेका यात्रु देखिन्छन् ।

गुराँसले तेह्रथुम जिल्ला प्रख्यात भएकोले बसन्तपुर चोकमा हालै स्थानीयहरुले गुराँस फूलको स्तम्भ नै बनाएका छन् । १५०० देखि ५००० मिटरको उचाइमा फैलिएको यस गुराँस क्षेत्र जैविक तथा प्राकृतिक हिसाबले निकै महत्वपूर्ण छ ।

बसन्तपुरदेखि म्याङलुङहुँदै टिएमजीका सबै इलाकाको होटेल र होमस्टेमा चौंरीको सुकुटी, तोङ्बा तथा गुराँसको जुस निकै प्रख्यात छ ।
बिदेशी पर्यटकहरु आन्तरिक पर्यटकको तुलनामा कम आए पनि जैविक अनुसन्धानकर्ताको लागि यो प्रमुख गन्तव्य बन्नसक्छ । बिदेशी सामु प्रचार कम भए पनि गत चैत ९ गते ३८ देशहरुका संगीत पारखीहरु शक्ति पिक् फेस्टिबल मनाउन ५ दिन गुराँसको जंगलमा बसेका थिए ।

उनीहरु होटलमा समेत नअट्दा उनीहरुलाई टेन्टमा राखिएको थियो । बिदेशी नै आएर चैतमा रमाए पछि गुराँस फुल्ने मुख्य महिना बैशाखमा देशका विभिन्न ठाउँहरुबाट आन्तरिक पर्यटकले टिएम्जेका होटलहरु खचाखच भरिएका थिए ।

टिएम्जे अन्तर्गतको तीनजुरे स्थित भ्यू टावरबाट तेह्रथुम, संखुवासभा,धनकुटा, इलाम, भोजपुर, पाँचथर, ताप्लेजुङ एकैसाथ अवोलोकन गर्न सकिन्छ । पछिल्लो पटक सरकारले २० वर्ष पुगेका गाडी हटाएको हुनाले यहाँ गुड्ने ब्रिटिश गाडी ल्याण्ड रोभर जिप नचल्दा यात्रुहरुले कष्ट पाउँदा केही घण्टाको यात्रा केही दिनमा लम्बिएको छ । कष्ट भए पनि यहाँ आइपुगेपछि भने पदयात्रीले गुराँसको बोटमुनि थकाइ मारेर स्वर्गिय आनन्द प्राप्त गर्छन् ।

गुराँसले सबैको मन प्रफुल पार्ने हुँदा गुराँसकै नामबाट धेरै गीतहरु गाइएको छन् । सबिन राईको गुराँसको फेद मुनि सम्झनाको छायाँ । १९८४ ब्याण्डको गुराँस फुल्यो, वनैमा मेरो मन झुल्यो तिम्रो मनैमा । नेपाली चलचित्र सुपर स्टारको शिर्ष गीत गुराँस फुल्दा वनै रमाइलो जस्ता गीतहरुले गुराँसको महिमा बोकेका छन् ।

कसरी पुग्ने ? पोखराबाट हरेक दिन बेलुकी ४ बजे डिलक्स बस धरानको लागि छुट्छ । भोलिपल्ट बिहान ७ बजे धरान पुगेपछि एक दिन बसेर अथवा सोहि दिन ९ बजेको बसमा तेह्रथुमको बसन्तपुरसम्मको लागि बस पाइन्छ ।

बसन्तपुरमा एउटा मात्र सुबिधा सम्पन्न होटल याक छन् भने अरु सामान्य स्तरका छन् । बसन्तपुरबाट टिएमजे क्षेत्रसम्म हाल हिडेर १ दिनमा टिएमजे क्षेत्र प्रवेश गर्न सकिन्छ । टिएम्जे मात्र घुम्न ७ दिनको लागि १७ हजार रुपैयाँ जति खर्च लाग्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.