www.tandavnews.com
Fact ~ In search of truth

नबोल्ने मायाहरूका नाउँमा

सुमित्रा भट्टराई

गण्डक क्षेत्र लोकगीतको लागि पकेट क्षेत्र नै हो भन्दा फरक नपर्ला । यहाँको भूगोल र भेषभुषाले लोकगीत कोरिरह्यो, श्रष्टा जन्माइरह्यो ।

यथार्थमा कोरिने लोकगीतले धेरैलाई हँसाउँछ अनि रूवाउँछ पनि । अचेल एउटा लोकगीतले धेरैलाई रूवाएको छ । सुन्नुभएकै होला ‘बोल माया एकवचन बोल, तिम्रै बोली छ मलाई अनमोल’ शीर्षकको गीत ।

Batas

वैदेशिक रोजगारका शिलशिलामा विदेशमै ज्यान गुमाएका व्यक्तिको पारिवारिक बेदनालाई समेट्दै बनाइएको यो गीतले पति विदेश भएका पत्नी र पत्नी विदेश भएका पतिलाई झसंग बनाइरहन्छ ।

मैले यहाँ लेख्दै गर्दा करिब ३५ लाख ५५ हजार पटक हेरिईसकेको यो गित ट्रेन्डिङ लिष्टको टपटेनमा छ ।

बैदेशिक रोजगारसँगै जोडिएको साईंली शीर्षकको गीतले पनि धेरैलाई भावुक बनाएको थियो । वर्तमान समाजसँग जोडिएका यि गीतहरू हाम्रा वर्तमान हुन् ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार हरेक दिन बाँझा गैह्रीखेत, बृद्ध बुवाआमा, नाबालक छोराछोरी, गर्भवती पत्नी छोडेर वैधानिक रूपमा विदेशिएका मध्ये वर्षेनी आठसयको हाराहारीमा नेपाली बाकसमा फर्किन्छन् ।

सोही गीतमै पनि तथ्यांक राखिएको छ । बोर्डलाई जनाउँदै राखिएको सो तथ्यांक अनुसार आर्थिक वर्ष ७२/७३ मा २४ महिला र ७ सय ८७ जना पुरूषले र आर्थिक वर्ष ७३/७४ मा १८ महिला र ७ सय ३८ जना पुरूषले वैदेशिक रोजगारकै क्रममा ज्यान गुमाए ।

चालु आर्थिक वर्षको चैत सम्ममा १५ जना महिला र ५ सय ९३ जना ब्यक्तिले ज्यान गुमाइसकेका छन् ।

यो त त्रिभुवन विमानस्थल हुँदै विदेशिनेको बारेमा राखिएको तथ्यांक हो । हरेक दिन सिमाक्षेत्रबाट पासपोर्ट र भिसा मानव तस्करलाई बुझाउँदै अवैधानिक रूपमा विदेशिनेको तथ्यांक खोज्न बोर्डलाई नै गाह्रो छ ।

विदेशमा ज्यान गुमाउने मध्ये धेरैजसोको सुतिरहेकै ठाउँमा, केहीको साथीभाईबीचको झगडामा, केहीको काम गरेको समयमा दुर्घटनामा परि ज्यान जाने गरेको पाइन्छ ।

वैधानिक रूपमा विदेशिनेले ज्यान गुमाउँदा उनीहरूो परिवारले बिमा रकम पाउनुका साथै शव नेपाल ल्याउनका लागि नेपाल सरकारले पनि पहल गर्ने गर्दछ ।

अवैधानिक रूपमा जानेलाई विदेशिन जति गाह्रो छ, समस्या परेको समयमा उद्दार गर्न होस् या ज्यानै गएमा पनि शव स्वदेशमा फर्काउन झन ठूलो समस्या रहेको सरोकारवाला बताउँछन् । न उनीहरूको बिमा हुन्छ नत सुरक्षाको कुनै ग्यारेन्टी ।

नेपाल र भारतको सिमा जोडिएका नाकाहरू मध्ये पश्चिम नेपालको बेलहिया, कृष्णनगर आदी नाकाबाट प्रहरीले समयसमयमा अवैधानिक रूपमा विदेशिन लागेका कयौँ नेपाली महिलाको उद्दार गरी परिवारलाई जिम्मा लगाउने गरेको छ ।

माईति नेपाल, शान्ति पुर्नस्थापना केन्द्र तथा थ्रि एन्जल जस्ता संघसंस्थाले सिमा नाकामा चेकजाँच तथा उद्दारको कार्यमा राज्यका निकायलाई सघाउ पुर्याइरहेका छन् ।

यि नाकाहरूबाट विदेशिने चेलीहरू मध्ये धेरैै जसो प्युठान, गुल्मी, अर्घाखाँची, म्याग्दी जस्ता पश्चिमी पहाडदेखि पुर्वतिरका मकवारपुर, धादिङ र काभ्रेसम्मका रहेको पाइएको छ ।

गरिबी, भूकम्पले बढाएको ऋण तथा अशिक्षा र बेरोजगारी हुँदा–हुँदै आफूसँग पुँजी नहुँदा धेरैजसो नेपाली महिलाले जोखिमपुर्ण विदेशयात्रा रोज्ने गरेका छन् । पछाडी परेको समुदायका ति महिलाहरू मध्ये अधिकांशको शैक्षिक स्तर एसएलसी भन्दा कम हुने गर्दछ ।

जबसम्म राज्यको अर्थ रेमिट्यान्सले मौलाउँछ तबसम्म सग्ला ज्यान काठको बाकसमा बाँधिएर फर्किने क्रम पनि घट्ने देखिँदैन ।

फ्रि भिसा र फ्रि टिकट जस्ता मानव अरफले हलो र कोदाली भन्दा गैचि र सावेलको चार्म बढाइरहन्छन् ।

धेरैलाई विदेशिन उकासिरहन्छन् । देशमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डहरू हुन्छन् भने विदेशीनेको संख्या किन प्रवर्द्धन नहोस् ।

नेपाल सरकारले नै वैदेशिक रोजगार व्यवसायलाई प्रवद्र्धन गर्न, सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन भन्दै बोर्डहरू बनाई जनशक्तिलाई विदेश पठाउनुको साटो स्वदेशमै अवसर बनाईदेओस् ।

जब ति रोजगार प्रवर्द्धन बोर्डहरूको साटो स्वदेशमै रोजगारीको अवसर बनाउने र प्रवद्र्धन गर्ने दिन आउँछ तब यहाँका युवा ज्यानले देशकै माटोमा परिश्रम गर्नेछन् ।

तब सग्लो ज्यानको निर्यात र काठको बाकसको आयात पनि आफै घटेर जानेछ ।

E:[email protected]/Twitter : @farsumitra

लेखकबाट थप :

‘सुन’ घरघरको कथा

‘सरोगेट’ नेपाल आमा

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.