www.tandavnews.com
Fact ~ In search of truth

गैंडा उपहारले चीनसँगको सम्बन्ध थप प्रगाढ : प्रधानमन्त्री

काठमाडौँ (रासस)

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र चीनलाई हस्तान्तरण गरिएको एक जोडी गैंडा उपहारले आपसी सम्बन्ध थप विस्तार भएको बताएका छन् ।

नेपाल सरकारबाट मित्रराष्ट्र जनवादी गणतन्त्र चीन सरकारलाई एक जोडी एक सिंगे गैंडा (भद्र र रुपसी) उपहार हस्तान्तरण समारोहमा उनले आपसी भेटघाट आदानप्रदानले चीनसँगको ऐतिहासिक सम्बन्ध अझ प्रगाढ बन्दै गएको धारणा व्यक्त गरे ।

Batas

प्रधानमन्त्री ओलीले केही समयअघिको आफ्नो चीन भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट भएको स्मरण गर्दै भ्रमणका बेला भएको पारवहन र यातायातसम्बन्धी सम्झौता कार्यान्वयनको काम दु्रतगतिमा अघि बढेको जानकारी गराए ।

भृकुटी र अरनिकोबाट शुरु भएको नेपाल–चीनबीचको सम्बन्धलाई भद्र र रुपसीले थप गाढा बनाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । चीनलाई हस्तान्तरण गरेका गैंडालाई चीन सरकारले उचित वातावरणमा हुर्किने व्यवस्था मिलाउने अपेक्षा गर्दै उहाँले मुलुकको भौगोलिक र जैविक विविधतामार्फत विभिन्न देशसँग नेपालको सम्बन्ध प्रगाढ बनेको बताए।

नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०७३ असार २६ गतेको बैठकबाट चीन सरकारलाई दुई जोडी गंंैडा दिने निर्णयअनुसार चितवन राष्ट्रिय निकुञ्जबाट एक जोडी गैंडा ल्याई हस्तान्तरण गरिएको हो । अर्काे जोडी गंैडा आगामी साउनभित्र हस्तान्तरण गरिसक्ने बताइएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले साइटिस निर्यात प्रमाणपत्र र प्रजाति उत्पत्ति प्रमाणपत्रसहित एक जोडी गैंडा नेपालका लागि चिनियाँ राजदूत यु होङ मार्फत चीन सरकारलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गैंडा हस्तान्तरण कार्य बहुआयामिक महत्वको भएको बताउँदै यसले आगामी दिनमा नेपालको पहिचानको चर्चा विश्वमा अझ बढ्ने धारणा व्यक्त गरे ।

उनले यस कार्यले आगामी दिनमा दुई देशबीच अझ सुमधुर सम्बन्ध कायम भई वन्यजन्तु र जैविक विविधता संरक्षणमा थप सहयोग र समन्वय हुने अपेक्षा व्यक्त गरे ।

हस्तान्तरण गरिएका एक जोडी गैंडामध्ये भालेको नाम ‘भद्र’ र पोथीको नाम ‘रुपसी’ राखिएको छ भने दुवैको उमेर एकदेखि दुई वर्षको छ । भाले गैंडाको तौल अनुमानित ९०० केजी छ भने पोथी गैंडाको तौल एक हजार २०० केजी रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

दुवै गैंडालाई आजै साँझ चीनबाट आउने कार्गाे विमानमा राखेर लैजाने र गैंडालाई चीनको गोन्जाउ प्रान्तको चेमोलोङ सफारी पार्कमा प्राकृतिक वातावरणमा राखिने यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.