www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दी: अाठ हजार सवारी साधन कारबाहीमा

म्याग्दी,  (रासस) : जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७४/७५ मा नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई कारबाही गरी करीब रु ५८ लाख राजस्व संकलन गरेको छ ।

गत वर्ष आठ हजार २०० जीप, कार, ट्रक, मोटरसाइकल र ट्याक्टर चालकलाई सवारी नियम उल्लंघन गरेकोमा कारबाही भएको थियो । जरिवानाबापत रु ५७ लाख ६६ हजार ५०० राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए।

सवारीको चाप र संख्यासँगै ट्राफिक प्रहरीको सक्रियता बढेकाले राजस्वसमेत दोब्बरले वृद्धि भएको छ । मादक पदार्थको सेवन गरेर सवारीसाधन चलाउने २९६ जनालाई रु दुई लाख ९६ हजार जरिवाना तिराइएको छ ।

सवारीसाधनको स्वरुप परिवर्तन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी चालक अनुमतिपत्र र सवारी धनी प्रमाणपत्र बिना सवारी चलाउने चालक तथा सवारी धनीलाई कारबाही गरिएको हो ।

सो अवधिमा भएका १४ वटा दुर्घटनामा ११ जनाको मृत्यु, १९ गम्भीर र १३ जना सामान्य घाइते भएका छन् । क्षमताभन्दा बढी यात्रु बोक्नु, चालकको लापर्बाही, तीव्र गति, सडकको जीर्ण अवस्था र मादकपदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने गरेको छ ।

सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि विद्यार्थी, सर्वसाधारण र सवारी चालक लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

मापसे परीक्षण गर्ने मेसिन थप र सवारीको गति जानकारी पाउने राडर गनको व्यवस्थाका साथै जनशक्ति र पोष्ट थप गर्न पहल गरिएको छ । बेनीका साथै भुरुङ तातोपानी र सिंगा तातोपानीमा समेत ट्राफिकको पोष्ट रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.