www.tandavnews.com
Fact ~ In search of truth

सरकारविरद्ध घेराबन्दी गर्न खोजियो : अध्यक्ष प्रचण्ड

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनेको पाँच महिना नबित्दै सरकारविरुद्ध घेराबन्दी गर्न खोजिएको बताएका छन् ।

‘शहीद मनोज–झपेन्द्र स्मृति दिवस’का अवसरमा नेपाल निजामती कर्मचारी संगठनले आज यहाँ आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण एवम् संघीय निजामति सेवा ऐन र ट्रेड युनियन अधिकार’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारविरुद्ध अनावश्यक लाञ्छना लगाउन खोजिएको बताए।

“राजाजस्तै शासन गरी एकाधिकार ठान्नेहरुलाई अहिले हामी सत्तामा पुगेको देखेर बसी खान भएको छैन”, अध्यक्ष ‘प्रचण्ड’ले भने, “निर्वाचनपछि केहीलाई न रातमा निद्रा न दिनमा भोक लाग्न छाडेको छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले अहिलेको परिस्थितिमा जनता र ट्रेड युनियनको सम्बन्धलाई सुदृढ गर्न नसक्ने हो भने क्रान्तिका उपलब्धि उल्टिन बेर नलाग्ने बताउँदै क्रान्ति पछिको प्रतिक्रान्ति जब्बर हुने भएकाले सबैले आँखा चनाखो र कान ठाडो पार्नुपर्छ बताए।

“लेनिनले भनेजस्तो क्रान्ति भन्दा १० गुना प्रतिक्रान्ति आउँछ,” उनले भने, “सबैको अधिकार कटौती गरेर राज गर्न नहुने र कर्मचारी भित्रको एकतालाई अझ मजबुद गर्न जरुरी छ ।

अध्यक्ष दाहालले भने, “सरकारले ट्रेड युनियनको अधिकार कटौती ग¥यो भने किन कटौती गरेको भन्ने प्रश्न आउन सक्छ, “त्यसैले हामी सत्तामा भइहाल्याै किन अधिकार चाहियो भनेर भएको अधिकार कटौती गर्दैनौँ ।”

दुई तिहाइको सरकार भएकाले जनताले अनुभव गर्न खालको काम गर्न ट्रेड युनियन अग्रसर हुनुपर्नेमा जोड दिदैं उहाँले कर्मचारीतन्त्रले स्वच्छ र पारदर्शी प्रशासन देखाउनुपर्ने बताए।

अध्यक्ष दाहालले राज्यले खटाएको जुनसुकै ठाउँमा कर्मचारी जानुपर्ने बताउँदै अहिले एउटा संक्रमणकालको अन्त्य गरिसके पनि संक्रमणकालबाट भने मुक्त हुन नसकेको धारणा व्यक्त गरे।

निरंकुशतन्त्रको एउटा लडाइँ जितिसकिएको उल्लेख गर्दै उनले अब समृद्धिको लडाइँ बाँकी रहेको बताए ।

“मुलुकमा परिवर्तन भए पनि समृद्धि हुन बाँकी रहेको छ”, अध्यक्ष दाहालले भने, “परिवर्तनलाई संस्थागत र संरचनालाई व्यवस्थित गर्न अझ पाँच वर्ष लाग्नेछ ।”

उनले मुलुक लोकतन्त्र ल्याउनका लागि कर्मचारीको महत्वपूर्ण भूमिका रहेको भन्दै कर्मचारीको नभई राजनीतिक नेतृत्वको कारण कमीकमजोरी भएको बताए ।

जनयुद्ध शुरु भएको पाँच वर्षपछि नै नेकपा एमाले र तत्कालीन नेकपा माओवादी एकअर्काका परिपूरक भएर आन्दोलनमा गएको उल्लेख गर्दै उनले दुवै दलका नेताको छलफलले एकअर्कालाई परिपूरकका रुपमा अगाडि बढाएको भने।

अध्यक्ष दाहालले त्यही परिपूरकअनुसार नै १२ बुँदे सहमति, दोस्रो जनआन्दोलन, संविधान सभाको निर्वाचन हँुदै संविधान घोषणा र अहिलेको निर्वाचन भएको पनि बताए ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ट्रेड युनियनको अधिकार कटौती भइनसकेको भन्दै यस सम्बन्धमा छलफल गर्न सकिने जनाए।

कर्मचारीको अधिकारबारे हावाहुरीको जस्तै पछाडि लागेर समयको बर्बाद गर्नु आवश्यक नभएको उल्लेख गर्दै उनले ट्रेड युनियनको मान्यताअनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री पण्डितले राष्ट्रले खटाएको ठाउँमा कर्मचारी जानुपर्नेमा जोड दिदैं “देश गरीब भएकाले अहिले सेवासुविधा पनि गरीब छ, देश समृद्धिमा गएपछि सेवासुविधा पनि समृद्धितिर जान्छ भन्नुभयो ।”

संगठनका अध्यक्ष केदार देवकोटाले अहिलेको सरकार स्थायी भएकाले सरकारका गतिविधिलाई सफल बनाउने बताए।

कार्यक्रममा सप्ताह रुपमा मनाइएको स्मृति दिवसका अवसरमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुनेलाई पुरस्कारसमेत प्रदान गरिएको थियो । रासस

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.