www.tandavnews.com
Fact ~ In search of truth

शुक्लाफाँटा निकुञ्ज: एसियाकै धेरै बाह्रसिंगा

सुरज हजारे दाहाल

प्रदेश ७ को कञ्चनपुर जिल्लमा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरुमा शाही सिकार आरक्षको रुपमा विसं २०२६ मा स्थापना भएको थियो ।

त्यसपछि यसलाई विसं २०३३ मा सिकार आरक्षबाट हटाएर शाही वन्यजन्तु आरक्षको रुपमा मान्यता दिइएको थियो । दुई वर्ष अगाडि मात्र २०७३ सालमा यसलाई वन्यजन्तु आरक्ष केन्द्रबाट राष्ट्रिय निकुञ्जमा रुपान्तरण गरिएको हो । शुक्लाफाँट निकुञ्जको कुल क्षेत्रफल ३०५ वर्ग किमी रहेको छ ।

Batas

महाकाली नदीको पुरानो बहाव क्षेत्र भएको हुनाले यहाँ फाँट निर्माण भएका छन् । यस निकुञ्जको ३० प्रतिशत भाग घाँसे मैदानले आगटेको छ भने ५२ प्रतिशत भाग सालको वनले, १६ प्रतिशत नदीतटीय वन र २ प्रतिशत भाग मिश्रित वनले ढाकेको छ । यी सबै क्षेत्रको दक्षिणमा चुरे पहाड लम्बवत् उभिएको छ ।

यस निकुञ्ज बाह्रासिंगाको लागि निकै प्रसिद्ध छ । दक्षिण एसियामै सबैभन्दा धेरै बाह्रसिंगा नेपालकै यहि निकुञ्जमा रहेको छ । बाह्रसिङ्गाको ठूलो झुण्ड लहरैसँग चरेको निकै आकर्षक दृश्य देखिने भएकोले चैत वैशाखतिर आन्तरिक पर्यटकहरु यहाँ ओइरिन्छन् । पछिल्लो गणना अनुसार यहाँ २ हजार १ सय ७० बाह्रसिंगा रहेका छन् ।

बाह्रसिंगाले काँस जातको घाँस खाने गर्छन् र यो घाँसमा सेतो भुँवा फुल्दा मैदान मनमोहक देखिन्छ । निकुञ्जको हिरापुर फाँटमा छ वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या करिब ७० पुगेको छ ।

विसं २०६९ मा नेपालगञ्जबाट ८ भाले र १४ पोथी तथा ललितपुरको जाउलाखेल चिडियाखानाबाट ३ भाले, २ पोथी र १ बच्चा कृष्णसार हिरापुर फाँटमा लगिएको थियो । यस्तै यहाँ ३० वटा जङ्गली हात्तीहरु रहेका छन् । बाघ भने १७ वटा रहेका छन् । शुक्लाफाँट थोरै क्षेत्रफलमा धेरै बाघ रहेको निकुञ्ज हो ।

उपोष्ण जलवायु तथा मलिलो माटो भएकोले निकुञ्ज सालको घना जङ्गलले भरिएको छ । सालको अलवा यहाँ सिसौ र खयरको जङ्गल पनि रहेको छ । विशेष गरि बाह्रासिंगा रहेको क्षेत्रमा ४ मिटर अग्ला घाँसे मैदानहरु पनि प्रशस्तै रहेका छन् ।

बाघ र बाह्र सिंगाको बाहेका यहाँ अन्य स्तन्धारी जनावरहरु: चितुवा, जरायो, चित्तल, लगुना, सालक, चरी बाघ, बँदेल, पाइन्छन् । रानी तालमा मगर गोही पनि पाइन्छन् । अन्य रैथाने घर्सने जीवहरुमा घडियाल गोही र एसियन पाइथन पनि पाइन्छ् । गत वर्ष चितवनका ५ गैंडाहरु यहाँ स्थान्तरण गरिएको थियो ।

यस्तै रैथाने र स्थानीय चराहरुको सङ्ख्या ४२४ रहेको छ । यहाँ सारस, सिमतित्रा तथा दुर्लभ भुँडीफोर जस्ता पंक्षीहरु पनि पाइन्छन् । नेपालका संरक्षित क्षेत्रमध्ये सबैभन्दा बढी खयरमजुर रहेको निकुञ्ज शुक्लाफाँट हो ।

निकुञ्जमा हाँसका १५ प्रजाति, गरुडको ५ प्रजाति, बकुल्लाको १२ प्रजाति, जलेवाको २ प्रजाति, सारसको एउटा प्रजाति, हुटिट्याउँका ४ प्रजाति रहेका छन् । गत साल गरिएको जलपंक्षीको गणना अनुसार ५८ प्रजातिका ३६४१ जलपंक्षी फेला परेका हुन् ।

शुरुमा वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यले शुक्लाफाँट आरक्ष निर्माण गरिएकोमा त्यसपछि भने वनस्पति, वन्यजन्तुको संरक्षण गर्दै त्यस वरपरका समुदायको आर्थिक अवस्था उकासनका साथै पर्या–पर्यटनको विकासको निम्ति निकुञ्जमा परिणत गरिएको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले नेपाल सरकारको संरक्षण कार्यक्रम आवाज रहित प्रविधिको प्रयोग गरेर जमिनमुनिबाट पानी तानेर ६ वटा कृत्रिम ताल निर्माण समेत गरिएको छ । पानी खोज्न जंगली जनावरहरु बस्तीमा नपसुन् भनेर ताल निर्माण गरिएको हो ।

यसरी पुग्ने :

पोखराबाट हरेक दिन १ः३० बजे महेन्द्रनगर जाने बस छुट्छ । उक्त बस भोलिपल्ट बिहान ८ बजेतिर महेन्द्रनगर बस पार्क पुग्छ । बस पार्कबाट अटो रिक्सा लिएर आधा घण्टामा शुक्लाफाँट निकुञ्जकै गेट पुगिन्छ । अटो रिक्सा निकुञ्जभित्र रहेको शुक्लाफाँट जङ्गल कटेज पुग्छ ।

उक्त कटेजले नै पर्यटकलाई जीपमा निकुञ्ज घुमाउने जिम्मा पाएको छ । बिहानदेखि साँझसम्म जीपमा चढेर घना जङ्गलमा बाह्रासिंगाको बथान, बाघ तथा गैंडाहरु हेर्न सकिन्छ । ५ दिन यात्राको सबै खर्च १५ हजार रुपैयाँ लाग्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.