काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ ।
बैठकले पार्टी सभापति देउवाको संयोजकत्वमा पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य रहने गरी महासमिति बैठकको मूल तयारी समितिसमेत गठन गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
महासमिति बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव तयार गर्न उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव तयारी समिति गठन गरिएको छ ।
महासमिति बैठकमा साङ्गठनिक प्रतिवेदन महामन्त्री डा शशांक कोइरालाले र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गर्ने छन् । त्यस्तै पार्टीको समग्र आर्थिक नीति मस्यौदा समिति सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा गठन गरिएको छ ।
विधान संशोधन मस्यौदा समितिमा जिल्ला सभापतिको हेटौँडामा सम्पन्न राष्ट्रिय भेलाको प्रस्तावअनुसार जिल्ला पार्टी सभापति मध्येबाट स्थायी आमन्त्रितका रुपमा दुई जना सदस्य थप गर्ने बैठकले निर्णय गरेको प्रवक्ता शर्माले बताए।-रासस
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.