www.tandavnews.com
Fact ~ In search of truth

वाइड बडी जहाजबारे छानबिन गर्न उपसमिति गठन

काठमाडौँ ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको छानबीन गरी प्रतिवेदन दिन सात सदस्यीय उपसमिति गठन गरेको छ ।

समितिले वाइड बडी विमान खरीद सम्बन्धमा १५ दिनभित्र यथार्थ विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्न सांसद राजेन्द्र केसीको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको सभापति भरतकुमार शाहले जानकारी दिए ।

उपसमितिमा सदस्यहरु प्रेमबहादुर आले, मीना सुब्बा, चन्दा चौधरी, कृष्णलाल महर्जन, प्रदीप यादव र धर्मशीला चापागाई रहेका छन् । उपसमितिले महालेखा परीक्षकको कार्यालय र सार्वजनिक खरीद अनुगमन कार्यालयको प्रतिवेदनलाई मुख्य आधार मानेर प्रतिवेदन तयार गर्ने कार्यादेश पाएको छ ।

समितिले यसअघि महालेखा परीक्षकको प्रतिवेदनमा देखाइएको बेरुजुका आधारमा जहाज खरीदका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत मन्त्रालय र निगमका उच्च पदस्थ अधिकारीसँग छलफल गरिसकेको छ ।

समितिको निर्देशनअनुसार, सार्वजनिक खरीद अनुगमन कार्यालयले समेत विमान खरीदका सम्बन्धमा आफनो प्रतिवेदन समिति समक्ष बुझाइसकेको छ । उपसमितिको प्रतिवेदन प्राप्त भएपछि समितिले जहाज खरीद सम्बन्धमा के–कस्तो ढङ्गबाट अघि बढ्ने सन्दर्भमा निष्कर्षमा पुग्ने सभापति शाहले जानकारी दिए ।

समितिको आजको बैठकमा सदस्यले राष्ट्रपति कार्यालयका लागि आवश्यक भनिएको गाडी खरीद, बूढीगण्डकी जलविद्युत् आयोजना, तारा गाउँ विकास समितिको जग्गाको भोगचलन, समितिको वार्षिक कार्यसूची लगायतको विषयमा आ– आफ्ना धारणा व्यक्त गरेका थिए।  रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.