www.tandavnews.com
Fact ~ In search of truth

गुट उपगुटले चल्न सक्दैन पार्टी

 

काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका महासमिति सदस्यहरुले पार्टीलाई अब एक ढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा नेतृत्वलाई सुझाव दिएका छन् ।

सोमबार (हिजो ) रिपोर्टर्स क्लब नेपालले महासमिति सदस्यहरुसँग गरेको विशेष साक्षात्कारमा उनीहरुले पार्टी अब गुट उपगुटबाट चल्न नसक्ने बताउँदै महासमिति बैठकद्वारा पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिए।

सो अवसरमा पूर्व सांसद एवम् महासमिति सदस्य रामहरि खतिवडाले काँग्रेसलाई अझै पनि पहिलो पार्टी बनाउन सकिने उल्लेख गर्दै त्यसका लागि नेताहरु एकजुट हुनुपर्ने बताए ।अर्का महासमिति सदस्य एवम् प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले पार्टी नेताहरुले अब कार्यकर्ताहरुलाई अर्जुन बनाउनुपर्ने र आफू युधिष्ठिर बन्नुपर्ने सुझाव दिए ।

उनले ८७१ महासमिति सदस्यले हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर गरिसकेकाले यो मुद्दा बैठकमा जोडदारसँग उठ्ने पनि जानकारी दिए।महासमिति सदस्य जगदिशनरसिंह केसीले पार्टीलाई अब सामूहिक नेतृत्वमा लैजानुपर्नेमा जोड दिदैं संविधानमै मुलुक धर्मनिरपेक्ष भएकोले अहिले महासमिति सदस्यहरुले हिन्दू राष्ट्र बनाउनुपर्छ भनेर गरेको मागप्रति आफ्नो सम्मान रहेको बताए ।

महासमिति सदस्य एवम् नेपाली काङ्ग्रेस जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटाले पार्टीलाई अब तल्लोस्तरबाटै शुद्धीकरण, सुदृढीकरण र एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।महा समिति सदस्य विष्णु धितालले काङ्ग्रेसले अब धार्मिक स्वतन्त्रताको पक्षमा आफ्नो आवाज बुलन्द बनाउनुपर्ने बताउँदै विधानमा अब पदाधिकारीको सङ्ख्या बढाउनुपर्नेमा धारणा व्यक्त गरे।

अर्का महासमिति सदस्य मोहम्मद ईशाद अन्सारीले मुलुकलाई अब धार्मिक स्वतन्त्रतामा लैजानुपर्ने बताउँदै मधेशमा काङ्ग्रेसले आफ्नो जनमत किन गुमायो भन्नेबारे पनि यो महासमिति बैठकमा छलफल हुनुपर्ने विचार व्यक्त गरे ।

प्रदेशसभा सदस्य तथा नेपाली काङ्ग्रेस प्रदेश नं ७ का संसदीय दलका नेता डा रणबहादुर रावलले गाउँदेखि केन्द्र तहसम्म पार्टीभित्र एकता आवश्यक रहेको बताए।अर्का महासमिति सदस्य लोकेश ढकालले काङ्ग्रेस अब हिन्दू राष्ट्रको पक्षमा दृढ भएर उभिनुपर्ने धारणा व्यक्त गरे ।

महासमिति सदस्य नगेन्द्र कुमालले काँग्रेसले हिन्दू राष्ट्रको एजेण्डा उठाए कमल थापा नेतृत्वको राप्रपाकोजस्तै हालत हुने जिकिर गरे।पूर्वगृह राज्यमन्त्री एवम् महासमिति सदस्य रामकुमार चौधरीले जब–जब काङ्ग्रेस कमजोर हुन्छ, तब–तब मुलुकको राष्ट्रिय एकता कमजोर भएको धारणा व्यक्त गरे ।

महासमिति सदस्य नन्दमणि राईले पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नरहेको बताए।महासमिति सदस्य सीता देवकोटाले पार्टीलाई विचारका आधारमा अघि बढाउनुपर्नेमा जोड दिए ।   रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.