www.tandavnews.com
Fact ~ In search of truth

प्रभावकारी बन्दै स्वास्थ्य बीमा

 

 

गलकोट ।

नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम बागलुङमा प्रभावकारी बन्दै गएको छ ।

Batas

जिल्लामा विसं २०७३ असारदेखि शुरुआत गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ३८ हजार २७३ स्वास्थ्य बीमामा आबद्ध भएको स्वस्थ्य बीमा बोर्ड कार्यालयका दर्ता अधिकारी जमुना शर्माले बताए । उनका अनुसार जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा बीमा गर्नेको सङ्ख्या रहेको छ ।

सो बीमामा हालसम्म आठ हजार २०४ परिवार आबद्ध भएर प्रभावकारी रुपमा स्वास्थ्य सेवा लिइरहेको बोर्डले जनाएको छ । सो कार्यक्रमले जिल्लामा आर्थिक रूपमा विपन्न र गरीब समुदायका बिरामीले औषधि उपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् ।

धौलागिरि अञ्चल अस्पतालमा आउने बिरामी स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि उपचारमा आउनेको सङ्ख्यामा तेब्बरले वृद्धि भएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताए । “अस्पतालमा स्वस्थ्य बीमा गराएका बिरामी दैनिक २ सयको हाराहारीमा आउने गरेका छन्”, उनले भने, “नियमित औषधि सेवन गर्ने बिरामीले निःशुल्क औषधि लानकै लागि समेत अस्पताल आउने गर्छन् ।”

पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक दुई हजार ५ सय तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएको हकमा प्रतिसदस्य ४ सय २५ रुपैयाँका दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिक रूपमा ५० हजारसम्म उपचार खर्च निःशुल्क पाउने नीति छ ।

सो बीमा कार्यक्रम लागू हुँदा सर्वसाधारण जनता अनविज्ञ भए पनि हाल आएर बीमा गराउन फोन गरेरै बोलाउने गरेको दर्ता सहयोगी सरिता शर्माले बताए । बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था छ ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रियालगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको झण्डै ४८० प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य बीमाका लागि जिल्लाका ७२ जना दर्ता सहयोगीले घरघरमा पुगेर सेवा प्रदान थालेपछि नागरिकलाई स्वास्थ्य बीमा गराउन सहज भएको छ । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.