www.tandavnews.com
Fact ~ In search of truth

ओडारमा हराएका धादिङका दुई गोठाला मृत फेला

 

धादिङ ।
रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् ।

गोठाला जाँदा लगातारको हिमपातपछि सुरक्षित स्थानमा बस्ने क्रममा ओढारभित्र बसेको बेला ओढारमाथिबाट ठूलाठूला चट्टान खसेर गएको पहिरोले पुरिएर बेपत्ता भएका हिन्दुङका ४५ वर्षीय नोर्बु तामाङ र सोही ठाउँका १८ वर्षीय धनबहादुर तामाङको खोजीमा जुटेको सुरक्षाकर्मीको टोलीले पाँच दिनपछि उनीहरूको शव फेला पारेको सशस्त्र प्रहरी बल धादिङबेसी गुल्म प्रमुख प्रहरी नायव उपरीक्षक दर्शन गिरीले जानकारी दिए ।

ओडारभित्र फसेका दुवैको ठूलो ढुङ्गाले च्यापिएर मृत्यु भएको हो । खोजी कार्यमा प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको ३० सदस्यीय टोली जुटेको थियो । स्थानीयवासी र आफन्तले पनि खोजी कार्यमा प्रहरीलाई साथ दिएका थिए । पहिरोमा पुरिएका २६० भेडाबाख्रामध्ये जम्मा चार भने जीवितै अवस्थामा भेटिएको उद्धार टोलीले जनाएको छ ।

उद्धारका लागि खटिएको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयका टोलीले जेनेरेटरको माध्यमबाट भाइब्रेसन गराई ढुङ्गा फुटाएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.