www.tandavnews.com
Fact ~ In search of truth

राजपाद्धारा प्रतिनिधिसभाको आजको बैठक पनि अवरोध

काठमाडौँ ।

राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) का सांसदले तराई– मधेशमा भएको आन्दोलनको छानबीन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्रलालको अध्यक्षतामा गठित छानबीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभाको आजको बैठक पनि अवरोध गरेको छ ।

सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । उनीहरुबाट विरोध भएपछि सभामुख महराले राजपाका नेता अनिलकुमार झालाई बोल्न समय प्रदान गरे ।

झाले सभामुखबाट सरकारलाई लाल आयोगको प्रतिवेदन अर्को बैठकमा सार्वजनिक गर्न रुलिङ होस् भनी माग गरे । उनले भने,“आफ्नो पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ, सभामुखका तर्फबाट पनि प्रतिवेदन सार्वजनिक गर्न रुलिङ भएको थियो तर पनि सरकारले तदारुखता देखाउनुको साटो आलटाल गरिरहेको छ ।”

सभामुखबाट रुलिङ भएको हप्ताभन्दा बढी समय बितेको र प्रतिवेदन सार्वजनिक भएमा कैलालीको टीकापुरमा भएको घटनामा कसले के कस्तो गल्ती अन्याय गरेको छ, कसलाई के कस्तो कारवाहीको सिफारिश गरेको छ भन्ने जान्न सकिने थियो भन्दै सांसद झाले सरकारले प्रतिवेदन सार्वजनिक नगरेर सत्य लुकाउन खोजेको र सभामुखको रुलिङ नमान्नु संसदीय सर्वोच्चतालाई नमान्नु भएको विचार राखे ।

त्यसपछि पनि राजपाका सांसदले उठेर विरोध जनाइरहेपछि सभामुख महराले प्रतिवेदन सार्वजनिक गर्ने विषयलाई सरकारले सकारात्मक रुपमा लिएको र केही समय अध्ययनका लागि माग भएको जानकारी दिए । त्यसपछि पनि राजपाबाट विरोध भइरहेपछि सभामुखले बैठक १० मिनेटको लागि स्थगन भएको घोषणा गरे । यसअघि पनि राजपाका सांसदको विरोधका कारण तीन बैठक प्रभावित भएका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.