www.tandavnews.com
Fact ~ In search of truth

सिन्धुपाल्चोकमा विप्लवका १७ कार्यकर्ता धरौटीमा रिहा

चौतारा ।

राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ ।

जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्रबहादुर ठकुरीलाई २५ हजार तथा अन्य १३ लाई जनही छ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको हो । थुनामा रहेका रविता अधिकारी, हीरा खत्री र सविता श्रेष्ठलाई भने साधारण तारेखमा छाड्ने आदेश भएको स्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।

उनीहरुलाई गत फागुन १८ गते चौतारा सागाचोकगढी नगरपालिका–१० कार्कीटारस्थित एक व्यक्तिको घरमा सुतिरहेको अवस्थामा बिहान २ बजे प्रहरीले छापामारी नियन्त्रणमा लिएको थियो । विभिन्न जिल्लाका चार महिलासहित १७ जनालाई राज्यविरुद्धको अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।

पक्राउ परेकाहरूबाट सैन्य तालीम गराउने कागजात, चन्दा सङ्कलन गर्ने लेटरप्याड, राज्यविरुद्धको पर्चा र पम्ल्पेटलगायत सामग्री बरामद भएको प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.