गलकोट ।
आदिवासी जनजातिहरुमा मात्र प्रचलित तारो हान्ने खेलप्रति युवाको आकर्षण बढेको छ । निशानामा आधारित तारो हान्ने खेल प्रतियोगिता विशेषतः साविक धवलागिरि अञ्चलका म्याग्दी, बागलुङ र मुस्ताङका आदिवासी जनजातिमा सीमित थियो । पछिल्लो समय यस खेलमा अन्य युवाको समेत आकर्षण बढेको पाइएको छ ।
पछिल्लो समय तारो हान्ने खेल प्रतियोगिता विभिन्न मेला तथा पर्वहरुमा समेत आयोजना गरिँदै आउँदा युवापुस्तालाई थप आकर्षित गरेको हो । “यो निकै सौखिन तथा साहसिक खेल हो”, तारो हान्ने खेलका खेलाडी म्याग्दी जिल्ला निवासी दुर्गा बुढाले भने, “जसले लगाउन सक्छ सिधा निशाना, उही तारो हान्ने खेलको विजेता हुन्छ ।”

रबर टाँसिएको काठको मुढामा अघिल्लो भागमा सेतो, कालो, नीलो र रातो रङको रेखा हुन्छ, जसको बीच भागमा अत्यन्तै सानो स्टिल प्लेट राखिएको हुन्छ । त्यही मुढामा रहेको स्टिलको प्लेटलाई छेड्नका लागि आयोजकले निर्धारित गरेको दूरीबाट बाणबाट तारोले बारम्बार हान्ने काम नै तारो हान्ने खेल हो ।
तारोखेल अङ्कका आधारमा खेलिने खेलाडीले बताएका छन् । नेपालको दुर्लभ खेलमध्येको तारो हान्ने खेल पछिल्लो समयमा युवापुस्ताको जागरुकताका कारण केही प्रर्वद्धन हुन थालेको काठेखोला गाउँपालिका–८ लेखानी निवासी तारो हान्ने खेलाडी मुकेश छन्त्यालले बताए ।
पाँच जनाको ‘टिम’ खेलिने उक्त खेलमा सहभागी टिममध्ये जसले बढी स्टिल प्लेटलाई निशाना लगाउन सक्छ, अङ्कका आधारमा उसैलाई विजेता टिम घोषण गिरिने गरिन्छ । “यो परम्परागत तारो हान्ने खेल लोप हुने अवस्थामा छ”, खेलाडी पूर्ण थापामगरले भने, “यसको प्रर्वद्धन गर्न सकेमा यो खेलले बाह्य पर्यटक तान्न सक्ने देखिन्छ ।” तारो हान्ने खेल मुस्ताङ, म्याग्दी र बागलुङलगायत कास्की र काठमाडौँमा समेत प्रचलित भए पनि प्रचारप्रसारको अभावमा लोप हुन थालेको खेलप्रेमी बताउँछन् ।
युवापुस्तामा निकै आकर्षण रहेको तारो हान्ने खेल प्रर्वद्धन गर्न सकेमा बाह्य पर्यटक भित्र्याउन सकिने बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए । साहसिक खेलप्रति विदेशी पर्यटकको आकर्षण बढी हुने भएकाले यसलाई प्रचारप्रसार गर्न आवश्यक रहेको खड्काले बताए ।
तारो खेललाई नेपालमा चिनाउन कालिका भगवती गुठी व्यवस्थापन समितिले यस वर्षको चैतेदशैँ मेलामा तारो खेल प्रतियोगितासमेत आयोजना गरेको छ । चैत २३ गतेदेखि वैशाख २ गतेसम्म आयोजित चैतेदशैँ मेलामा पहिलोपटक तारो हान्ने खेलको आयोजना गरिएको हो । तारो हान्ने खेलको प्रत्यक्ष अवलोकन गर्न पाएकोमा मेलामा आएका दर्शक खुशी देखिन्थे ।
तारो हान्ने खेल प्रतियोगिता यस वर्षको चैतेदशैँ मेलाको प्रमुख आकर्षणको रूपमा रहेको चैतेदशँै मेला मूल आयोजक समितिले जनाएको छ । प्रतियोगितामा बागलुङसहित म्याग्दी, कास्की, मुस्ताङका १० टिमले भाग लिएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार पुरस्कार जित्नेछ । रासस
फाइल तस्बिर
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.