बलेवा ।
गत असारमा जमीन भासिएपछि विस्थापित बनेका काठेखोला गाउँपालिका–५ काउलेका १० परिवारका लागि नयाँ घर निर्माणको काम थालिने भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एकीकृत बस्ती निर्माण गरेर विस्थापित परिवारका लागि घर दिन लागेको हो । एकीकृत बस्ती निर्माणका लागि भासिएको जमीनभन्दा ४०० मिटर पर पाँच रोपनी १२ आना जमीन खरीद गरेर समूहका नाममा लालपुर्जा बनेको छ । चालू आर्थिक वर्षमा नै बस्ती निर्माणका लागि बजेटको व्यवस्था भएकाले आगामी असार मसान्तसम्म पीडित परिवारले बास पाउने गरी काम अघि बढ्ने प्राधिकरणले जनाएको छ ।

बस्ती निर्माणका लागि जग्गा अभावका कारण रोकिएको काम पीडित परिवारका नाममा जग्गाको व्यवस्थापन भएपछि अघि बढेको आयोजना कार्यान्वयन एकाइ बागलुङका नायवसुब्बा चुर्णबहादुर कार्कीले जानकारी दिए। विस्थापित परिवारका लागि बस्ती निर्माण गर्न जग्गा खोज्ने गरी बनेको जग्गा व्यवस्थापन समितिले उक्त जग्गा खरीद गरेको हो ।
चैत १४ गते स्थानीय एक व्यक्तिको एकै कित्तामा रहेको जग्गा खरीद गरेर पीडित परिवारको नाममा पास गरेको जग्गा व्यवस्थापन समितिका संयोजक तथा काठेखोला गाउँपालिका–५ का वडाध्यक्ष शिव कँडेलले जानकारी दिए । पुनःनिर्माण प्राधिकरणको रु २० लाख अनुदान र स्थानीयवासी युवाले विदेशबाट सहयोग पठाएको रु दुई लाख ७५ हजार रकमले उक्त जग्गा खरीद गरिएको हो ।
धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरेको एकीकृत बस्तीको जस्तै मोडलमा बस्ती निर्माण गरिने कँडेलले बताए । “प्राधिकरणले प्रतिघर निर्माणका लागि न्यूनतम छ आना जग्गा हुनुपर्ने भनेको थियो”, कँडेलले भने , “हामीले प्रतिपरिवार नौ आना जग्गा पुग्ने गरी व्यवस्थापन गरेपछि बस्ती निर्माणको काम अघि बढेको हो ।”
जग्गाको व्यवस्थापनसँगै बस्ती निर्माणका लागि प्राधिकरणले दुई चरणमा सहयोग उपलब्ध गराउनेछ । पहिलो चरणमा खानेपानी, विद्युत्, सडकलगायतका संरचना निर्माणका लागि प्रतिघर रु चार लाख उपलब्ध गराउने र दोस्रो चरणमा घर निर्माणका लागि प्रतिघर रु तीन लाख उपलब्ध गराउने कार्कीले बताए ।
शुरुमा विस्थापित बनेका १४ परिवारमध्ये १० परिवारले मात्रै एकीकृत बस्तीमा निर्माण हुने घर पाउनेछन् । विस्थापितमध्ये दुई परिवारले राज्यको सहयोग नलिने बताएको, एक जनाको अन्तै घर रहेको र एक जनाले पहिल्यै पुनःनिर्माण प्राधिकरणबाट अनुदान लिएर घर बनाएको वडाध्यक्ष कँडेलले बताए । गत असार १२ गते एक्कासी जमीन फाटेपछि विस्तापित बनेका १० परिवार अहिले पनि अर्कैको घरमा शरण लिएर बस्दै आएका छन् ।(रासस)
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.