www.tandavnews.com
Fact ~ In search of truth

गुलामी राजनीतिको अन्त्य कहिले ?

नेपालको राजनीतिमा गुलामी राजनीतिको दबदबा चलिरहेको छ । हरेक कर्ममा गुलामी गर्ने र सबैलाई गुलामी नै सोच्ने राजनैतिक नेतृत्वकोे शैलीले गुलामीपनको हद बढ्दै गइरहेको छ । नेताहरु सबै जनता तथा कार्यकर्तालाई गुलामी सम्झने र कार्यकर्ता र जनता चाहिँ सानो भन्दा सानो कामका लागि पनि भनसुनमा आश्रित रहने परिपाटीले झन् गुलामी राजनीतिलाई बढवा दिँदै गइरहेको छ ।

परापूर्व कालदेखि नै यसको सुरुवात भएता पनि पछिल्लो समय गुलामी बिनाका काम नहुने स्थिति सिर्जना भएको छ । यसका लागि कार्यकर्ता र जनताका लागि नेता तथा उसका आसेपासेको नजिक रहनका लागि गरिने कर्म घातक देखिन्छ । जसरी पनि हुनै पर्ने कारणले गुलामी राजनीति देश, समाज र स्वंय व्यक्ति तथा नेतागणका नकारात्मक पाटो बन्न पुगेको छ ।

यही रबैया र व्यवहारका कारण अन्य व्यक्ति समुदायलाई समेत यसले प्रत्यक्ष असर पारिरहेको छ । त्यसैको श्रृङ्खला स्वरुप एक्काइसौँ शताव्दीको यो संघारमा पनि आम जनताहरु परनिर्भर र गुलामीमा अभ्यस्त बन्न लालायित बनिरहेका छन् ।

Batas

चुनावका लागि, शक्ति, सत्तामा पुग्नका लागि जनता र कार्यकर्ता चाहिने नेताहरु अन्य बेलामा कार्यकर्ता र जनता चिन्ने साहस गर्देनन् । भोट र शक्तिमा टेकेर देश र जनताका नाम भजाएर व्यक्तिगत स्वार्थ र भ्रष्टाचारमा चुर्लम्म डुवेका राजनीतिकर्मीको नेपालमा कुनै कमी छैन । शक्ति र सत्तामा पुग्नका लागि जनताका घरदैलो सम्म पुगेर नाटक मञ्चन गरेर दुनियाँ जग हसाएका नेताहरुको त्यो कार्य फगत व्यक्तिगत स्वार्थका लागिमात्र रहेछ भनेर पटक–पटक भनिरहनु आवश्यक छैन ।

गुलामी राजनीतिको बिगबिगी कसरी बढ्यो ? के गुलामी राजनीति बिना समाज र व्यक्ति चल्न सक्दैन ? के का लागि यो गुलामी ? राजनीतिले बिगारेको देशमा सन्देह किन ? राजनीति के का लागि ? आम सर्वसाधारण जनतालाई पनि जर्वजस्ती राजनीति गराउन र गुलामी बनाउन बाध्य के का लागि ? बिना गुलामी जनजीविका पनि सञ्चालन गर्न नसक्ने अवस्थाको सिर्जना कसले गरायो ? यावत प्रश्नका जवाफका लागि जवाफकर्ता नै छैन ? त्यसो भए यो गुलामी राजनीतिले देश, समाज र आम जनतालाई कहाँ पु¥याउला ? यो सोच्ने र यसको समाधान कसले गर्ने ?

कर्म नै समाज र व्यक्ति परिवर्तनका मुख्य आधारशिला हुन् भन्ने एकमात्र तथ्य नबुझेका जनता र जनताका यही कमजोरीमा आफ्नो स्वार्थ केन्द्रित भविष्य खोज्न लालायित रहने नेतृत्वकर्ताको असक्षमता नै समाज बन्धकका मुख्य कारण हुन् ? नेतृत्वकर्ताले किन आम जनतालाई कर्मशील बनाउन, विचारले सक्षमता र स्वनिर्भर बन्न सिकाएन ? राजनैतिक नेतृत्वसँग सोझिने आम प्रश्न यही हो ।

सधै आफ्नो जयजकार मात्र गरिरहन, आफ्नो अगाडि पछाडि मात्र हिँडिरहून् भन्ने सोंच भएको नेतृत्वकर्ता जनजीविकाका आम विषयमा किन बोल्न चाहँदैन ? जनताका जीवनस्तर कसरी उकास्न सकिन्छ भन्ने चिन्तन गर्दैन ? आम जनता र कार्यकर्ता भजाएर शक्ति र सत्तामा हालिमुहाली गरेर जीवनका उत्तराद्र्धमा पुगेर मानसिक पीडा र जनताका जीवनस्तरको मापन अन्य राजनैतिककर्मीले किन लेखाजोखा गर्न सकेनन् ? राजनीति देश र जनताका लागि हो कि व्यापार हो ? घरभित्रबाट सुरु भएको राजनैतिक गुलामी समाज, क्षेत्र, जिल्ला, केन्द्रसम्म जेलिएको छ । विश्वका अन्य राजनैतिक नेतृत्वको असल गुण र कर्मलाई नेपालका राजनैतिक नेतृत्वले किन अंगिकार गर्न सकेन । नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने पनि देशका सबै सुविधा, शक्ति प्राप्त गरेका व्यक्तिको जीवनशैली, भोगेको यथार्थतालाई किन सूक्ष्म अध्ययन गरिएन ? तिनीहरुको जीवन किन अध्ययन भएन ? उनीहरुले प्राप्त गरेको शक्ति, सत्ताले देश, समाज र जनतालाई कति सकारात्मक तथा नकारात्मक असर परे, त्यसको अनुसन्धान गरि काम गर्ने कसले ?

तराईमा शीतलहर होस् वा सुनाम, बाढीको प्रकोपले वर्षेनी सयौ व्यक्तिको मृत्यृ र अंगभंग हुन्छ । त्यसबेलामा दुईचार थान कम्मल बाँड्ने कि त्यसको प्रभावकारी समाधान गर्ने ? बाढी पीडितको समस्या पहिचान गरेर त्यसको निराकरणमा ध्यान दिने कि सरकार अथवा अन्य संघसंस्थाले जस्तापाता र कपडा वितरण गरेर सामाजिक सञ्जालमा फोटो पोस्ट गरेर सहानुभूति जनाउने ? क्षणिक प्रचारबाजीले आम जनता र देशका हित गर्न सक्दैन भन्ने बुझ्ने कहिले र कसले ? आम प्रश्न यही हो ।

नेतालाई आम कार्यकर्ता र जनता केबल शक्ति र सत्ता प्राप्तिका लागि मात्र बन्दछ भने त्यो नेता कदापी बन्न सक्दैन र त्यस्ता नेताले देश र समाज परिवर्तनका लागि भूमिका वहन गर्न सक्दैन । आफ्नो भूमिका र कर्म के का लागि भन्ने समेत भेउ पाउन नसक्ने हामी आम जनताले अब गुलामी राजनीति गर्न हँुदैन । जबसम्म नेता जनता खोज्दै गाउँ, पखेरासम्म पुग्न सक्दैनन्, तबसम्म देश र जनताले काँचुली फेर्न सक्दैन । सदियांैदेखि देखिएको नेताको यो पाखण्डी र सामन्ती सोचको प्रतिकार आम जनताबाट नै हुनुपर्दछ । त्यसका लागि आम जनता कर्मशील हुनुपर्दछ, स्वनिर्भर बन्नुपर्दछ ।

समाज र देशका लागि योगदान दिनुपर्दछ भन्ने भावनाको विकास आम जनतामा जाग्नुपर्दछ, त्यति मात्र आम जनताले गर्न सकेमा नेताहरुको त्यो हिजोको शैलीमा आकाश पातालको परिवर्तन आउनेछ, हैन भने सधैको गुलामी प्रवृत्तिले जति नै ठुला ठुलो विकास निर्माण र समृद्ध नेपालका नारा दिएता पनि हुनेवाला केही छैन । नेताको त्यो दास र गुलामी सोचका अन्त्यका लागि जनता नै जागरुक बन्न जरुरी छ । जनता आफै चेतनशील बन्न जरुरी छ । जनता नै कर्मयोगी बन्न जरुरी छ । जनताको यही परिवर्तनकारी भूमिकाले समृद्ध नेपाल र सुखी नेपाली सम्भव हुनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.