www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा पहिलो पटक चल्यो बिजुली बस,इतिहास बन्यो ट्रली बस

काठमाडौं।

नेपालमै पहिलो पटक विद्युतीय बस आजदेखि सञ्चालनमा आएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज सुन्दर यातायात प्रालिले भित्र्याएको दुई विद्युतीय बसको उद्घाटन गरेका हुन्।

एक करोड ६२ लाख मूल्यको सो बसमा ६० सिट रहेको बताइएको छ । कम्पनीले अहिले चक्रपथमा बस सञ्चालनका लागि अनुमति लिएको छ । बस सञ्चालनका लागि कम्पनीले गत साता नै ‘चार्जिङ स्टेशन’ को उद्घाटन गरिसकेको छ ।

विद्युतीय बसका लागि छुट्टै भाडादर नतोकिएकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनकै भाडादर लागू हुने बताइएको छ । विद्युतीय कार्डको प्रयोगमा भने २० प्रतिशत छुट हुनेछ ।

मन्त्री पोखरेलले बसमा बसेर प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबदेखि शहीदगेट, सुन्धारा रत्नपार्कसम्मको यात्रासमेत गरेका थियो । यात्रापछि उनले बस आरामदायी रहेको र नेपालका लागि यो उपयुक्त रहेको बताए । उनले भने, “वातावरणीय र आर्थिक दुवै हिसाबले बस उपयुक्त छ ।”

मन्त्री पोखरेलले राम्रो कामको शुरुआत गर्नुभन्दा पनि शुरु गरिएको कामलाई निरन्तरता दिनु ठूलो कुरा भएको बताए । सुन्दर यातायातले नामजस्तै सुन्दर काम गरेको उनको भनाइ छ ।

राम्रो काम गर्न खोज्दा विभिन्न पक्षबाट अवरोध आउने गरे पनि आफूले गर्न लागेको कामबाट पछि हट्न नहुने उनको भनाइ थियो । उनले भने, “आगामी दिनमा पनि चुनौतीहरु आउन सक्छन् तर तपाईं हिम्मत नहारी अघि बढ्नुपर्छ ।”

प्रालिका अध्यक्ष भेषबहादुर थापाले झण्डै नौ महीनासम्मको निरन्तर सङ्घर्षपछि बस सञ्चालनमा ल्याउन सकिएको बताए । विद्युतीय बस सञ्चालनका लागि प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहनुभएको र उनकै सुझावका आधारमा संस्थाको नाम ‘सुन्दर’ रहन गएको उल्लेख गरे ।

बस सञ्चालनका लागि विभिन्न चुनौती भए पनि त्यसलाई चिरेर अघि बढ्ने योजना प्रालिको छ । विद्युतीय बससम्बन्धी छुट्टै नीति नहुनु समस्याका रूपमा रहेको उनले औँल्याए । उनले भने, “हामीले नीति चाँडो बनाउनुप¥यो भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई भनिरहेका छौँ ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने मन्त्रालयको कार्ययोजना रहेको बताए ।

नेपालमा विद्युत्को उत्पादन बढिरहेकाले सरकारले आन्तरिकरूपमा नै विद्युत्को खपत बढाउँदै जाने लक्ष्य लिएको छ । अरू उद्यमीले पनि विद्युतीय सवारीसाधन भित्र्याएर सरकारको उक्त योजनामा सहयोग पुर्याउनुपर्नेमा उनको जोड छ ।

उनले भने, “विद्युतको खपत हामीले यातायात, खाना पकाउने इन्धन लगायतका रूपमा प्रयोग बढाउँदै जान सक्छौँ ।”

सामाजिक अभियन्ता महावीर पुनले विद्युतीय बस आर्थिक र वातावरणीय हिसाबले पनि आवश्यक रहेको बताए ।

सेवा विस्तार गरिँदै

विद्युतीय बस विस्तार गर्दै जाने सुन्दर यातायातले बताएको छ । कम्पनीले अहिले दुई वटा बस शुरुआत गरेकामा थप ११ बस भित्र्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ ।

यही वर्षभित्रमा ५० वटा बस भित्र्याउने लक्ष्य रहेको बताइएको छ । ८१ जना शेयर सदस्य रहेको प्रालिले काठमाडौँ उपत्यकासँगै प्रदेश नं १ र ५ मा पनि बस विस्तार गर्दै जाने योजना बनाएको छ ।

बस किन्ने तयारी गर्दै साझा

तीनै तहको सहकार्यमा साझा यातायातले विद्युतीय बस खरीदको तयारी गरेको छ । तीन सय बस खरीदका लागि दुई महीना पहिले नै नेपाल सरकारले रु तीन अर्बको र प्रदेश ३ ले रु ३० करोडको साझाको शेयर खरीद गरेका थिए ।

त्यस्तै काठमाडौँ महानगरपालिकाले १० करोड बराबरको साझाको शेयर खरीद गरेको थियो । सो रकमबाट बस खरीद गर्दा कस्ता बस, कति क्षमताको किन्नेलगायत विविध प्राविधिक विषयमा अध्ययन भइरहेको साझाले जनाएको छ । आगामी वैशाखसम्ममा थोरै सङ्ख्यामा भए पनि बस भित्र्याउने तयारी भएको प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए ।

इतिहास बन्यो ट्रली बस

काठमाडौँ उपत्यकामा एक दश पहिलेसम्म सञ्चालनमा रहेको ‘ट्रली बस’ नयाँ पुस्ताका लागि इतिहास बनेको छ । चीन सरकारको सहयोगमा काठमाडौँमा ट्रली बस सञ्चालन भएको थियो । नेपालमा २०३२ साल पुस १४ देखि ट्रली बस सञ्चालनमा आएको थियो ।

तीन दशकसम्म राजधानीवासीलाई सेवा दिएको उक्त बस २०६६ सालदेखि पूर्णरूपमा बन्द भयो । त्यतिबेला बस काठमाडौँबाट मध्यपुर थिमि हुँदै सूर्यविनायकसम्म १३ किलोमिटर सडकमा सञ्चालन भएको थियो ।

२०५२ सालमा दाताको सहयोगमा १० बस थपिएको भए पनि एक दशक पहिले सेवा बन्द हुँदा नौ वटा मात्र चालू अवस्थामा थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.