www.tandavnews.com
Fact ~ In search of truth

भक्तपुरमा १० मतदानस्थल संवेदनशील

भक्तपुर ।

आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोकेको २२ मध्ये १० वटा मतदानस्थल संवेदनशील रहेको छ ।

उपनिर्वाचनमा चाँगुनारायण नगरपालिकाभित्रका नौ वटा वडा र भक्तपुर नगरपालिका–१० को एक वटा गरी १० वटा मतदानस्थल संवेदनशील रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

यहाँका भौगोलिक अवस्था, दलीय प्रतिस्पर्धा, यसअघिका निर्वाचनमा देखिएका गतिविधि र सरकार विरोधी तत्वबाट हुनसक्ने गतिविधिलाई आधार मानेर संवेदनशील र सामान्य गरी दुई भागमा मतदानस्थललाई विभाजन गरिएको हो ।

कूल २२ मतदानस्थलमध्ये १० संवेदनशील र १२ मतदानस्थल सामान्य रहेको जानकारी दिँदै उनले चाँगुनारायण नगरपालिकाभित्रका साविक दुवाकोट गाविस, आजात मावि, नैचापौवा आधारभूत विद्यालय, राधाकृष्ण मावि, चुनदेवी मावि, साविक नगरकोट गाविस, सरस्वती उमावि थाकलमाँठ, साविक सुडाल गाविस, गणेश मावि ताथली र भक्तपुर नगरपालिकाभित्रको सरस्वती विद्यागृह नवदुर्गा स्थानका मतदानस्थल संवेदनशील रहेको उनले जानकारी दिए ।

उपनिर्वाचनका दिन एकीकृत सुरक्षा योजनाबाहेक नेपाली प्रहरीका कम्तीमा ६५० नेपाल प्रहरी सुरक्षाका लागि परिचालन गरिने प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । उपनिर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तीन घेरा बनाएर सुरक्षा दिने गरी एकीकृत सुरक्षा योजना बनेको छ ।

यस निर्वाचन क्षेत्रमा कूल ४५ हजार ३६ मतदाता रहेका छन् । ०७४ को निर्वाचनमा ४३ हजार ५३२ मतदाता रहेकामा अहिले ७४८ जना महिला र ७३६ पुरुष मतदाता थपिएर कूल ४५ हजार ३६ मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.