www.tandavnews.com
Fact ~ In search of truth

प्रविधिमैत्री कर व्यवस्थापनको तयारी गर्दै सरकार

काठमाडौं ।

सरकार व्यावसायिक वातावरण नबिग्रने गरी कर प्रणालीको उचित व्यवस्थापनमा अग्रसर देखिएको छ । कर प्रणालीलाई समयसापेक्ष व्यवस्थापन गर्दै मोबाइलबाटै कर तिर्नसक्ने गरी प्रविधिमैत्री बनाउन लागिपरेको सरकारले जनाएको छ ।

अर्थमन्त्री डा .युवराज खतिवडाले चालु आर्थिक वर्षमा वित्तीय संघीयता कार्यान्वयनसम्बन्धी र करसँग सम्बन्धित सबै कानुनको व्यवस्थापन गरिसक्ने जानकारी दिँदै भने, ‘व्यावसायिक वातावरण नबिग्रने गरी नै हामी काम गर्छौँ, अझै मोबाइलबाटै कर तिर्ने व्यवस्थातर्फ सरकार अग्रसर छ ।’करदातालाई सरकारले कहिल्यै अँधेरोमा नराख्नेसमेत उनले प्रष्ट्याए ।

पछिल्लो समयमा सरकारले आयातलाई छाडेर आन्तरिक उत्पादनमा आधारित कर प्रणालीलाई प्रोत्साहन गरिरहेको छ । आवश्यक वस्तुको आयातमा सहजीकरण र प्रोत्साहित गर्ने, अरुलाई आफ्नो उत्पादनले प्रतिस्थापन गर्ने र केही आयातलाई भन्सार र मूल्यांकनको विधिबाट व्यवस्थापन गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको छ ।

अर्थमन्त्री डा.खतिवडाले संघीयतामा धेरै तहका सरकार हुने र सोहीअनुसारको कर प्रणाली हुँदा व्यावसायिक लागत बढ्छ भन्ने कुरालाई सरकारले व्यवस्थापन गरिसकेको भन्दै ‘डुइङ विजनेस इन्डेक्स’ले त्यो कुरा देखाइसकेको उनले बताए । गत वर्ष उक्त इन्डेक्समा नेपाल ११०औँ स्थानमा थियो भने अहिले ९४ आएको छ ।

‘राजस्व प्रणालीमा करका कुरा नगर्ने हो भने ऋणको बाटो जाँदा कुनै न कुनै दिन मुलुक संकटमा पर्छ, हामीले अल्पकालीन लोकप्रियताको कुरा गरेर हुन्न दीर्घकालीन सोच राख्नुपर्छ, भोलिको लागि पनि जवाफदेही भएर बस्नुपर्छ, शुरुका दिनमा अप्ठ्यारो भएको होला तर पछि हामी सहज व्यावसायिक वातावरण बनाउँछौँ’ अर्थमन्त्री डा. खतिवडाले भने ।

करमैत्री वातावरण हुनुपर्यो भनेर व्यवसायीले राखेको जिज्ञासामा मन्त्री खतिवडाले व्यवसायीको कुरा सुनेर नै सरकारले व्यावसायिक क्षेत्रका समस्या रोक्न दरमा केही परिवर्तन गरिएको जानकारी दिए ।

स्वाधीन अर्थतन्त्र बनाउने बाटोमा क्षमताअनुसारको कर लगाएर हिँड्ने या आजबाट करमुक्त भयो भनेर हामी सबैभन्दा बढी ऋणयुक्त मुलुकको बनेर हिँड्ने दुई बाटोमध्ये पहिलो बाटोमा अहिले सरकार लागेको उनले बताए । उनले राजस्व प्रणालीबाट खर्चको ठूलो अंश धानेकाले नेपाल दक्षिण एसियामा सबैभन्दा कम ऋण भएको मुलुुक बनेको दाबी गरे ।

आठौँ राष्ट्रिय कर दिवसका अवसरमा आज राजधानीमा आयोजित समारोहमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सामान्य विषयमा फौज्दारी मुद्दा लगाउँदा व्यावसायीमा त्रास फैलिएको भन्ने प्रसंगलाई संकेत गर्दै अर्थमन्त्री डा .खतिवडाले अहिले दण्ड जरिवानाको नभई जवाफदेही बनाउने कानुन मात्रै थपिएको प्रष्ट्याए ।

उनले राजस्व चुहावटसम्बन्धी ऐन संशोधन गरेर थुनछेक र जेल जानुपर्ने र कैद सजायको व्यवस्था झन् घटाइएको बताए । विश्वव्यापी कानुनको विधिलाई आधार मानेर नै कानुन बनेकाले नमिलेका कानुन मिलाएर जाने उनले प्रतिबद्धता व्यक्त गरे।

तीन तहको कानुनमा धेरै कुरा बाझिएकाले कर उठाउने जिम्मेवारीमा अन्योल सिर्जना भएको स्वीकार गर्दै उनले धेरै समस्या समाधान भइसकेको जानकारी दिए । ‘रोयल्टी र बहाल करको विषयमा केही कुरा यथावतै छ, प्राकृतिक श्रोत साधनमाथिको करको विषयमा केही समस्या छ, यसको समाधानतर्फ गएका छौँ’, अर्थमन्त्रीले भने ।

उनले कतिपय आफ्नै नीतिका कारण स्वदेशमै रोजगारी बढाउन खोज्दा विप्रेषण घट्न गई कर प्रभावित भएको उल्लेख गर्दै त्यसलाई स्वीकार गरेर चुनौती सामना गर्नुपर्नेमा जोड दिए ।

कर प्रणालीमा देखिएको समस्या सम्बोधन गर्दै सामाजिक सुरक्षामा आउन चाहने श्रमिक र रोजगारदातालाई करमा देखिएको द्विविधा व्यवस्थापन गर्न मन्त्रिपरिषद्ले प्रस्ताव अघि बढाइसेको जानकारी दिए ।

कार्यक्रममा अर्थसचिव डा .राजन खनालले कर प्रणालीमा आमूल परिवर्तन भएको तर अझै प्रविधिको प्रयोगमा कमजोर भएकाले सरकारको ध्यान त्यसतर्फ गएको बताए ।

अर्थमन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले विद्युतीय कारोबारलाई करको दायरामा ल्याउने सरकारी योजना सुनाए । कार्यक्रममा नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कर प्रणालीमा केही सुधार भएपनि अझै दीर्घकालीन रणनीतिको आवश्यकता रहेको औँल्याए।

धेरै कर तिर्ने १५ करदाता सम्मानित

करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले आन्तरिक राजस्व विभागले यसपटक पनि उत्कृष्ट १५ करदातालाई सम्मान गरेको छ । आठौँ राष्ट्रिय कर दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न विधामा बढी कर तिर्ने उनीहरुलाई सम्मान गरे ।

बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा सम्मानित भएको छ । यसअघि पनि तीन पटकसम्म सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने कम्पनीको सूचीमा थियो ।

व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा सिद्धार्थशमशेर जबरा सम्मानित भए । सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा उनी यसअघि पाँचपटक सम्मानित भइसके ।

यस्तै डाबर नेपाल, जगदम्बा स्टिल, अन्नपूर्ण एग्रो छिमेकी लघुवित्त बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल लाइफ इन्स्योरेन्स, मणिपाल मेडिकल कलेज, वल्ड लिंक र अग्नि इन्कर्पोरेटले आ–आफ्नो विधामा बढी कर तिर्नेको सूचीमा परेर सम्मानीत भएको छ ।

तारागाउँ रिजेन्सी (हयत) होटल र मध्यमस्तरीय करदाताको तर्फबाट कामना सेवा विकास बैंक, आन्तरिक राजस्वको कार्यालयको कार्यक्षेत्रमा रही धेरै आयकर तिर्नेमा भिएस सर्भिसेस मोरिसस प्रालि सम्मानित भएको छ ।

समयमै कर बुझाउने तथा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तर्नेमा भने घोराही सिमेन्ट सम्मानित भएको छ । यसपटक सम्मान प्राप्त गर्नेमध्ये सूर्य नेपाल, सिद्धार्थ शमशेर जबरा, घोराही सिमेन्ट, ताराजागउँ रिजेन्सी, छिमेकी लघुवित्त, डाबर नेपाल भने दोहोरिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.