www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न सासंदको माग

काठमाडौं ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणको त्रास देखाएर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले कोरोनाको त्रास देखाएर ग्यासलगायत अतिआवश्यक सामग्रीको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग गरे ।

नेपाली काँग्रेसका सांसद पुष्पा भुसालले कोरोना भाइरसका कारण विश्वमा हजारौँको मृत्यु र संक्रमण भइसकेको अवस्थामा नेपालमा त्यसको सम्भावित संक्रमणलाई लिएर बजारमा खाना पकाउने ग्यास लुकाइसकेका कुरालाई सरकारले कडाइका साथ हेर्न ध्यानाकर्षण गराए ।

उनले खाद्य सामग्री र औषधि उपचारका लागि सरकार तयार रहनुपर्ने र जनतालाई खाद्यान्न तथा औषधि उपलब्ध गराउन सरकारले ध्यान दिनुपर्ने माग गरे । राष्ट्रिय जनता पार्टी नेपालका सांसद महेन्द्रराय यादवले कोरोना भाइरसको त्रासले जनतामा अन्यौलता सिर्जना भइरहेको हुँदा सूचना दिने एउटै र आधिकारिक प्रणाली बनाउन माग गरे।

सांसद प्रेम सुवालले कोरोना भाइरस नियन्त्रणका लागि खुला सिमानामा भएका ४१ ठाउँमा हेल्थ डेस्क राखे तापनि कतिपय नाकामा जाँच नभएको हुँदा सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने माग गरे ।

नेपाली काँग्रेसका सांसद डा डिला सङ्ग्रौलाले कोरोना भाइरसको त्रास विश्वव्यापी भएका कारण नेपाली जनता त्रसित भएको हुँदा बजारमा ग्यासलगायत अतिआवश्यक वस्तुको अभावप्रति सरकारले ध्यान दिनुपर्ने माग गरे ।

सांसद विद्या भट्टराईले कोरोना भाइरसको त्रासले सिंगो जनजीवन प्रभावित बनाइरहेको हुँदा सरकारले समयमै ध्यान दिन आग्रह गरे । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.