www.tandavnews.com
Fact ~ In search of truth

गलत रिपोर्टका कारण विजयको मृत्यु, कारवाही र क्षतिपूर्ति माग

सत्यप्रसाद श्रेष्ठ
कलैया, रासस ।

नेशनल मेडिकल कलेज वीरगञ्जका चिकित्सक इस्लाम मन्सुरीको गैरजिम्मेवारीका कारण कलैया उपमहानगरपालिका–२० ढोडा निवासी २२ वर्षीय विजय कुशवाहाको मृत्यु भएको भन्दै परिवारजनले कारवाही र क्षतिपूर्तिको माग गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गरी परिवारजनले दोषीलाई कडा कारवाही र पीडितजनलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका हुन् ।

यही चैत १५ गते समान्य ज्वरो र रुघाखोकी लागेपछि नेशलन मेडिकल कलेजमा भर्ना गरिएका विजयलाई स्वास्थ्य जाँच गरी डा मन्सुरीले कोरोना भाइरसको सङ्क्रमण भएको बताएको मृतकका भाइ महेशले बताए । बेड नम्बर २४ मा भर्ना गरिएका दाइको वार्डबाट सबै बिरामीलाई अर्को वार्डमा सारेको र आफूहरुमाथि दुव्र्यवहार गरी प्रहरी लगाई ‘कोरोना भएको व्यक्तिलाई एक मिनेट पनि राख्न नसक्ने’ भन्दै अस्पतालले जबरजस्ती नारायणी अस्पतालमा पठाएको मृतकका अर्का भाइ राजाले बताए ।

Batas

नारायणी अस्पतालले बिरामीको अवस्था हेरी वीरगञ्जको हेल्थकेयरमा रिफर गरेको थियो । त्यस अवधिसम्म मिडियामा दाइ विजयको कोरोना लागेको खबर पनि अस्पतालले चारैतिर फैलाइसकेको भाइ महेशको आरोप छ ।

चैत १६ गते हेल्थकेयर, ब्योधालगायतका अस्पतालमा लगे पनि कोरोना लागेको हो भनी उपचार नगरेपछि बाध्य भएर राति करिब नौ बजे एम्बुलेन्स भाडामा लिई काठमाडौँ लगिएको उनले बताए । “बाटोमै दाइको अवस्था निकै बिग्रिसकेको थियो । टिचिङ अस्पतालमा भर्ना गराएपछि केहीबेरमै मृत घोषणा गरियो”, महेशले भने , “शवलाई फ्रिजमा राख्न लगाएर म र भाइ राजालाई क्वारेन्टाइनमा राखी खानसमेत दिइएन ।”

त्यहाँका वरिष्ठ चिकित्सकहरूले आफूहरुलाई बोलाई सबै कुरा सोधपुछ गरेर कोरोना परीक्षणका लागि शव टेकु अस्पतालमा पठाएइएको र परीक्षणमा दाइ विजयमा कोरोना भाइरसको सङ्क्रमण फेला नपरेपछि चैत १८ गते शव बुझाएको उनले बताउए। उनका अनुसार त्यही दिन शवलाई बारा ल्याई दाहसंस्कार गरियो । मृतककी श्रीमती अन्तिमा सात महिनाको गर्भवती छिन् ।

बारा र पर्साका प्रहरी प्रशासनलाई समस्याका बारेमा जानकारी दिँदासमेत कुनै सुनवाइ नभएकाले दाइको ज्यान गएको भन्दै भाइ महेशले अरु नेपाली दाजुभाइको पनि दाइजस्तो ज्यान नजाओस् भनेर सबैलाई सचेत हुन आग्रह गरे ।

उहाँले यस्तो गैर जिम्मेबार नेशनल मेडिकल कलेजको खारेजी र डाक्टरमाथि कडा कारवाहीको माग गरे । कोरोना पुष्टि भएको रिपोर्ट दिने नेशनल मेडिकल कलेजका प्रबन्धक, चिकित्सक, नर्स र ल्याबमा काम गर्नेहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा ज्यान मार्ने मुद्दा दिने उनले बताए।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.