www.tandavnews.com
Fact ~ In search of truth

निषेधाज्ञापछि जनजीवन ठप्प

चितवन ।

भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । उद्योग, कलकारखाना, बजार र यातायात न्यून मात्र चलेका छन् । अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

Batas

निषेधाज्ञा जारी भएसँगै जिल्ला भएर राजमार्गमा अत्यावश्यक र लामो दूरीका सवारी साधन मात्र चलेका छन् । निषेधाज्ञापछि स्थानीयवासी घरमा नै रहेका छन् । अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ बजेदेखि ८ बजेसम्म पसल खोल्न दिइएको छ । बिहानीपख सामान्य चहलपहल भए पनि विस्तारै चहलपहल घट्दै गएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि भरतपुर महानगरपालिकाका सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।

आदेशको अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने उनले बताए । भरतपुर महानगरमा गएको चार दिनमा ३० जनामा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म महानगरभित्र १०० जनामा सङ्क्रमण देखिएकामा एकको मृत्यु भएको छ भने अन्य निको भएका छन् । महानगर प्रमुख रेनु दाहालले जो जहाँ छ त्यहीँ रहने गरी निषेधाज्ञा जारी गरिएको बताए ।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.