www.tandavnews.com
Fact ~ In search of truth

बन्दाबन्दी हटेको एक महिनाः संक्रमण र मृत्युदर अति उच्च

काठमाडौँ ।

विश्व्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमण बन्दाबन्दी सकिएपछिको एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ ।

मृत्युदर र संक्रमण दर जुन गतिमा बढिरहेको छ, त्यसको तुलनामा निको हुने दर भने निकै न्यून छ । एक महिनाअघि निको हुने दर कुल संक्रमितको ६९ दशमलव ३४ प्रतिशत थियो । एक महिनापछि निको हुने दर ५९ प्रतिशतमा झरेको छ ।

Batas

सरकारका प्रवक्ता डा .युवराज खतिवडाले गत साउन ५ को मन्त्रिपरिषद्को निर्णयअनुसार साउन ६ गते रातिदेखि बन्दाबन्दी हटेको घोषणा गरेका थिए । त्यसको आज एक महिना पूरा भएको छ ।

यही एक महिनाले विगतका सबै महिनाको भन्दा संक्रमण र मृत्युदरमा नसोचेको परिणाम दिएको छ । स्थिति जटिलतातर्फ गइरहेकाले नागरिकले उच्च सावधानी अपनाउनु जरुरी रहेको जनस्वास्थ्य विज्ञले बताएका छन् ।

सन् २०१९ डिसेम्बर ३१ मा चीनको उहानमा देखिएको कोभिड–१९ नेपालमा विसं २०७६ माघ ९ गते त्यहीँबाट आएका एक नेपालीमा देखा परेको थियो । त्यसपछि चैत १० गते तेस्रो मुलुकबाट आएका दोस्रो नेपालीमा देखिएको थियो । त्यसपछि संक्रमण फैलिन नदिन सरकारले चैत ११ देखि बन्दाबन्दी जारी गरेको थियो । क्रमशः सङ्क्रमण वृद्धि हुँदै वैशाख अन्तिम सातादेखि तीन अंकमा संक्रमण देखिन थालेको थियो ।

असारमा केही कमी देखिएपछि सरकारले चार महिना लामो बन्दाबन्दीलाई साउन ६ गतेदेखि अन्त्य गरेको थियो । बन्दाबन्दी अन्त्य भएर गतिविधि चलायमान हुँदा मुलुकका सबै जिल्लामा मानिसहरु विना सावधानी घुलमिल भए । त्यसैको परिणाम अहिले देखिन थालेको छ । अहिले एकैदिन ११ जनासम्मको मृत्यु भएको र एकै दिन एक हजार बढी नयाँ संक्रमित भेटिएका छन् ।

एक महिनाको कोभिड–१९ संक्रमण विश्लेषण

प्राप्त तथ्याङ्क विश्लेषण गर्दा साउनअघि भएको कुल मुत्युभन्दा पछिल्लो एक महिनामै तीन गुणा बढीले मानिसको मृत्यु भएको छ । साउन ६ गतेसम्म कोभिड–१९ संक्रमित ४२ जनाको मृत्यु भएको थियो । साउन ६ देखि भदौ ६ सम्म एक महिनाका अवधिमा मात्रै १०४ जनाले ज्यान गुमाए । शनिबारसम्म संक्रमितमध्ये १४६ को मृत्यु भइसकेको स्वास्थ्य तथा जनंख्या मन्त्रालयले जनाएको छ ।

यही महिनामा संक्रमण दर पनि उच्च भएको छ । अन्य महिनाको कुल संक्रमितभन्दा एकै महिनामा दोब्बरले संक्रमित थपिएका छन् । त्यसदिन कुल १७ हजार ९९४ संक्रमित रहेकामा मन्त्रालयले एक महिनापछि सोही दिन अर्थात् भदौ ६ गते सार्वजनिक गरेको विवरणमा कुल संक्रमित १३ हजार १२६ थपिएर ३१ हजार ११७ जना पुगेका छन् ।

साउन ६ कुल १५० नयाँ संक्रमित भेटिएका थिए भने भदौ ६ गते नयाँ संक्रमित ६३४ जना भेटिए । त्यसबेला काठमाडौँ उपत्यकामा नगण्य संक्रमित रहेकामा अहिले दैनिक १५० देखि २०० को हाराहारीमा नयाँ बिरामी भेटिँदै आएका छन् । त्यसमा पनि ८० देखि ९० प्रतिशत काठमाडौँ जिल्लाका छन् ।

अघिल्लो महिना साउन ६ गते सक्रिय संक्रमित पाँच हजार ४७७ रहेकामा एक महिनापछि सोही दिन सक्रिय संक्रमित १२ हजार ६२९ रहेको विवरणमा उल्लेख छ ।

प्राप्त विवरणले बन्दाबन्दी हटाइएपछिको संक्रमणले नसोचेको गति लिँदैछ । बन्दाबन्दी हटाइएपछि मानिसले कोभिड–१९ सर्न सक्छ भन्ने ख्यालै नगरी लापरवाही गर्दा जोखिम उच्च रुपमा वृद्धि भइरहेको विपद् जोखिम व्यवस्थापनविज्ञ कृष्ण देवकोटा बताउछन् । उनले नागरिक आफैँले उच्च सावधानी अपनाउनुपर्ने र स्वास्थ्य मापदण्डलाई पूर्ण कार्यान्वयन नगर्ने हो भने स्थिति भयावह हुने चेतावनी दिए ।

बन्दाबन्दी हटाइए पनि कोभिड–१९ सङ्क्रमण केही घटे पनि रोकिएको थिएन । त्यसबेला सीमित मात्रै परीक्षण गरिएको थियो । बन्द खुल्यो भनेपछि सबै क्षेत्र चलायमान भयो । सीमा क्षेत्रमा अलि बढी संक्रण थियो । त्यहाँका मानिसहरु हरेक क्षेत्रमा खुला रुपमा पुगे र भारतबाट आएका मानिससमेत जिल्ला जिल्लामा भित्रिए । यसबाट संक्रमण बढ्न सहयोग गरेको देवकोटा बताउछन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम यो समय सकेसम्म घरबाटै ननिस्कने र अत्यावश्यक कामका लागि निस्किएमा पनि भीडभाडमा नजाने, मास्क लगाउने, साबुनपानीले राम्ररी हात धुने र दुई मीटरभन्दा बढीको भौतिक दूरी कायम गर्ने गर्दा संक्रमणबाट जोगिन सक्ने बताउछन् ।

मुलुकभर नै संक्रमण बढ्न थालेपछि अहिले जिल्लाजिल्लामा निषेध आदेश जारी गरिएको छ । अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको छ जसका कारण आधा मुलुक नै ठप्प हुन पुगेको छ । सरकारले निषेध आदेश जारी गरे पनि सर्वसाधरणले स्वास्थ्य मापदण्ड ख्याल नगर्ने हो भने स्थिति जटिल हुनेतर्फ स्वास्थ्यकर्मीले सचेत गराएका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.