पोखरा,
ताण्डव न्यूज ।
गरिब तथा विपन्न मुलुकहरूले पाउने ‘कोभ्याक्स’ सुविधा अन्तर्गत पहिलो चरणमा नेपालले फागुन पहिलो साता २२ लाख ५६ हजार डोज खोप पाउने भएको छ ।
यसअघि भारतले अनुदानमा दिएको अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नै यो सुविधा अन्तर्गत आउनेछ ।स्वास्थ्य मन्त्रालयका अनुसार ‘कोभ्याक्स’ले खोप उपलब्ध गराउने विषयमा पत्राचार गरिसकेको छ ।

ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) र विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) मिलेर ‘कोभ्याक्स’ सुविधा गठन भएको हो । महामारी नियन्त्रण गर्न खोपको विकल्प नभएको, तर सुरुमा धनी देशहरूले मात्रै पाउने अवस्था देखिएपछि दुई संगठनले विपन्न देशहरूलाई सहज रूपले २० प्रतिशत नागरिकलाई पुग्ने खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।पहिलो चरणमा आउने खोप तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार भन्दा बढी नागरिकलाई पुग्नेछ ।
कोभ्याक्सले झन्डै १७ प्रतिशत नागरिकलाई पुग्ने खोप यसपछि चरण–चरणमा दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सरकारले पहिलो चरणमा तीन प्रतिशत नागरिकलाई खोप लगाउने योजना बनाएको थियो । तर, भारतबाट अनुदानमा १० लाख डोज खोप मात्रै आएपछि चार लाख ३० हजार नागरिकलाई दिने गरी अभियान चलिरहेको छ ।
महामारीविरुद्ध अग्रपङ्क्तीमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, सरसफाइकर्मी, एम्बुलेन्स तथा शवबाहनचालक, सीमा र विमानस्थलका कर्मचारी तथा त्यहाँ खटिएका सुरक्षाकर्मीलाई प्राथमिकतामा राखेर खोप दिइँदै छ । १४ माघबाट थालिएको अभियानमा अहिलेसम्म एक लाख ५८ हजार चार सय ८७ जनाले खोप लगाएका छन् ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.