www.tandavnews.com
Fact ~ In search of truth

मेलम्ची सुरुङ पुनः परीक्षण गरिने

काठमाडौँ ।

काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सोमबार पुनः परीक्षण गरिने भएको छ । सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि पुनः परीक्षण गर्न लागिएको हो ।

गत असारमा सुरुङमा पानी पठाएको १० दिनपछि दुर्घटना हुँदा पानी बाहिर निस्केको थियो । अहिले सुरुङमा आवश्यक सुधार गरेर परीक्षण गर्न लागिएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । बिहान ११ बजेबाट पानी पठाउन थालिने उनले जानकारी दिए । सुरुङमा पानी पठाएर भरिएपछि सबै पानी बाहिर निकाल्न केही साता लाग्ने मन्त्रालयले बताउँदै आएको छ । उनले भने , “सुरुङको परीक्षण सफल भएपछि नै नियमितरुपमा मेलम्चीको पानी आउनेछ ।”

Batas

सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुने उनले जानकारी दिए । सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र रहेका छन् । यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने उनले जानकारी दिए । अहिले वाग्मतीको पानीमार्फत परीक्षण भइसकेको छ ।

यसअघि सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पथान्तरण गरिएकामा ३० असारमा दुर्घटना भएको थियो । सुरुङ परीक्षणका लागि पानी भर्न थालिएकामा एक सातामा पानी बाहिर निस्केको हो । दुर्घटनाका बारेमा बुझ्नका लागि खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेटभित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो । समितिकै सुझावका आधारमा गेटको फ्रेम नयाँ राखिएको छ ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.