www.tandavnews.com
Fact ~ In search of truth

पश्चिम चितवन रोज्दै पर्यटक

चितवन ।

चितवन राष्ट्रिय निकुञ्ज घुम्न भनेपछि सौराहामात्रै सम्झने पर्यटक अहिले पश्चिम चितवनतर्फ आकर्षित हुन थालेका छन् । निकुञ्जका जङ्गली जनावर पश्चिमतर्फ केन्द्रित हुन थालेपछि जंगल सफारीका लागि आउने पर्यटकको रोजाइ त्यतातिर हुन थालेको हो ।

झण्डै तीन दशकदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आएका ईश्वर जोशी देशको तेस्रो पर्यटकीय गन्तव्य पहिले–पहिले सौराहा भन्ने गरिए पनि अहिले चितवन बनेको बताउछन् । उनको भनाइमा सौराहा जत्तिकै उपयुक्त गन्तव्य पश्चिम चितवनका राप्ती र नारायणी किनार बन्दै गएका छन् । देशको जंगल सफारी गर्ने पर्यटकका लागि चितवन पहिलो रोजाइ हो ।

Batas

सौराहा निकुञ्ज छिर्ने प्रवेशद्वार पनि हो । यहाँबाट राप्ती किनार हुँदै निकुञ्ज छिर्ने गरिन्छ । त्यसैगरी पश्चिम चितवनको पटिहानी, जगतपुर, मेघौलीलगायतका ठाउँबाट पनि राप्ती र नारायणी नदी हुँदै निकुञ्ज प्रवेश गरिन्छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अहिले निकुञ्जका ६० प्रतिशतभन्दा बढी गैँडा कसराको पश्चिमतर्फ छन् । सो क्षेत्रमा मानवीय चाप कम भएकाले गैँडासहित अन्य वन्यजन्तुको वासस्थान राम्रो छ । सौराहा क्षेत्रमा जंगल सफारीसहित अन्य गतिविधिमा रमाउने पर्यटकको रोजाइ हुने गरेको छ भने विशुद्ध जंगल सफारीमा रमाउनेहरु भने पश्चिम चितवनतर्फ आकर्षित हुने गरेको बरालको बुझाइ छ ।

पर्यटनविज्ञ विश्व सुवेदी विगत वर्षको तुलनामा जिल्लामा भित्रिने पर्यटक पश्चिमतर्फ लाग्ने प्रतिशत बढ्दै गएको बताउछन् । उनका अनुसार अघिल्लो आर्थिक वर्ष जिल्ला भित्रिएकामध्ये ९० प्रतिशत सौराहा र १० प्रतिशत पश्चिमतर्फ बसेको तथ्यांक छ । गत वर्षमा पश्चिम चितवन जाने पर्यटकको संख्या १५ प्रतिशत पुगेको छ । बर्सेनि यो संख्या थपिँदै जाने उनको आँकलन छ ।

जिल्लामा बर्सेनि दुई लाखभन्दा बढी पर्यटक भित्रिने गरेका छन् । सुवेदी जिल्ला भित्रिने पर्यटकको ३८ प्रतिशत हाराहारी दोहोरिने गरेको र उनीहरुले सधैँ एउटै ठाउँभन्दा फरक ठाउँ रुचाउने गरेको बताउछन् । जिल्लामा पर्यटकीय होटलको संख्या २१५ छ ।

एक सय १० सौराहामा छन् भने अन्य जिल्लाका विभिन्न ठाउँमा छन् । सौराहाबाट दैनिक ३२ वटा जीप पर्यटक लिएर निकुञ्ज छिर्छन् भने पश्चिम चितवनबाट आठवटा जीप निकुञ्ज छिर्ने गर्दछन् ।

सौराहा क्षेत्रमा झैँ पश्चिम चितवनमा पनि सामुदायिक वनमा हात्ती सफारी गर्ने गरिन्छ । जंगल सफारीमा उपयुक्त भएसँगै पश्चिम चितवनमा पर्यटकको संख्या बढ्दै गएको सुवेदीको भनाइ छ । ठूला होटल पटिहानी, जगतपुर र मेघौलीमा छन् ।

यस वर्ष घुम्नका लागि विदेश जान नपाएका नेपालीहरू पश्चिम चितवन आउन थालेको सुवेदीको भनाइ छ । निकुञ्ज स्थापना भएसँगै विसं २०३० पछि सौराहा क्षेत्रमा होटल शुरु भएका हुन् । क्रमशः निकुञ्जका आसपासका अन्य क्षेत्रमा पनि पर्यटकीय होटल खुल्ने क्रम शुरु भएको हो । निकुञ्जभित्र रहेका सातवटा होटल भने बन्द भएका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका महासचिव गुणराज थपलिया सौराहाको महत्व कहिल्यै नघट्ने भए पनि चुनौती भने थपिँदै गएको बताउछन् । थप पर्यटकीय गतिविधि सञ्चालन गरेर पर्यटकको बसाइ लम्ब्याउने, आगमन बढाउने विषयमा छलफल भइरहेको उनको भनाइ छ । उनले भने, ‘हिजोको हिसाबले चलेर पुग्दैन भन्नेमा हामी सचेत छौँ ।’

सौराहा आउने पर्यटकले खानाको गुणस्तर र मूल्यमा विगतमा झैँ गुनासोसमेत गर्ने गरेका छन् । अघिल्ला वर्षहरूमा विदेशीलाई मात्रै पर्यटकका रूपमा लिने गरेको भए पनि विदेशी पर्यटक रोकिएपछि भने स्वदेशी पर्यटकबाट पर्यटकीय गतिविधि शुरु गरिएका छन् ।

पर्यटन प्रवद्र्धनमा सक्रिय पटिहानीका अपिल घिमिरे हिजोआज पटिहानी क्षेत्रमा स्थानीय र बाहिरबाट समेत ठूलो संख्यामा आन्तरिक पर्यटक आउने गरेको बताउछन् । उनका अनुसार त्यहाँ रहेको अम्रेलास्ट्रिटमा रमाउन बढी पर्यटक आएका छन् । यसका अतिरिक्त रात बसेर जंगल सफारी गर्न आउनेहरुको संख्यासमेत दिनहुँ बढ्दै गएको छ । यसकै कारण पश्चिम चितवनको राप्ती र नारायणी किनारमा होटल खुल्ने क्रम बढ्दै गएको छ ।

प्रदेश सरकारले एक जिल्ला एक पर्यटकीय गन्तव्यका रूपमा मेघौलीलाई पारेर पर्यटकीय क्षेत्रको विकासमा काम गरिरहेको छ । मेघौलीमा मात्रै तीन करोड ५० लाख खर्च गरेर राइनो पार्क बन्दैछ । देशकै १०० पर्यटकीय गन्तव्यभित्र पटिहानी सूचीकृत भएसँगै पर्यटकीय पूर्वाधार विकासको काम भइरहेको छ ।

भरतपुर महानगरभित्र पर्ने पश्चिम चितवनका पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माणमा महानगर पनि केन्द्रित भएको छ । निकुञ्जको मुख्य कार्यालय कसरा पश्चिम चितवनको जगतपुर हुँदै जानु पर्छ भने माडी पनि सोही सडक हुँदै जाने गरिन्छ । निकुञ्जको मुख्य कार्यालयमा घडियाल र गिद्ध प्रजनन केन्द्र रहेको छ । यहाँ पनि ठूलो संख्यामा पर्यटक जाने गरेका छन् ।

निकुञ्जमा पर्यटक दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोहीजस्ता जनावरसँगै चराचुरुङ्गी हेर्न आउने गर्दछन् । यसका अतिरिक्त विभिन्न जातजातिका सांस्कृतिक रहनसहन र खानामा पर्यटक रमाउने गर्दछन् । पश्चिम चितवनमा सांस्कृतिक विविधताका कारणले पर्यटकको मागअनुसारका खानासँगै संस्कृति हेर्न पाइन्छ । यससँगै घरवासमा रमाउन चाहनेका लागि पनि पश्चिम चितवनमा सुविधा रहेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.