www.tandavnews.com
Fact ~ In search of truth

‘मर्निङ सिफ्ट’ हटाएको विरोधमा पिएन क्याम्पसमा अनेरास्ववियुको तालाबन्दी

क्याम्पस प्रमुख भन्छन् ‘निर्णय परिवर्तनको सम्भावना छैन’

माधव भुसाल
पोखरा,ताण्डव न्यूज ।

क्याम्पस प्रशासनले शिक्षा संकायको विहानी सत्र (मर्निङ सिफ्ट) हटाएर दिवा सत्रमा मात्र अध्ययापन गराउने निर्णय गरेपछि पृथ्वी नारायण क्याम्पस पोखराका विद्यार्थी विरोधमा उत्रिएका छन् । विद्यार्थीहरुले क्याम्पस प्रशासनको निर्णयलाई ‘गरिब तथा मध्यम वर्गाीय विद्यार्थीहरुको हित विरुद्ध’ भएको भन्दै विरोध गरेका हुन् ।

निर्णयको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पिएन क्याम्पस कमिटीले चरणबद्ध आन्दोलन गरिरहेको छ । फागुन ६ गते दुवै सिफ्टमा सत्र संचालन गर्नुपर्ने लगायत ८ बुँदे मागपत्र बुझाएपनि सम्बोधन नभएपछि अहिले क्याम्पस प्रमुखको कार्यकक्ष र शिक्षा संकाय भवनमा तालाबन्दी गरिएको अनेरास्ववियु क्याम्पस कमिटी संयोजक विष्णु पोखरेलले बताए । ‘हामीले पटक पटक माग सहित ध्यानाकर्षण गरायौँ । तर सम्बोधनको कुनै छाँटकाँट देखिएन । विद्यार्थीहरुको हस्ताक्षर पनि बुझयौँ । प्रशासनले अटेर गरेपछि हामी तालावन्दी गर्न बाध्य भएका हौँ’ संयोजक पोखरेलले भने ।

Batas

तालावन्दीपछि अनेरास्ववियुले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘हाम्रो मागलाई वेवास्ता गर्दै क्याम्पस प्रशासनले त्रि.वि.को कारण देखाएर शिक्षा, व्यवस्थापन र मानविकीमा एक सिफ्टमा मात्र भर्ना लिई मनोमानी ढंगले कक्षा सञ्चालन गर्ने क्याम्पस प्रशासनको निर्णय गरिव तथा मध्यम वर्गीय विद्यार्थीहरुले जागिर गर्दै अध्ययन गर्नुपर्ने वाध्यता विरुद्धको निर्णय भएकाले यस निर्णयको घोर भत्सर्ना गर्दै स्नातक तह शिक्षा, व्यवस्थापन र मानविकी संकायमा विद्यार्थीहरुको रोजाइ अनुसार प्रात र दिवा दुवै सिफ्टमा पठनपाठन नहुँदासम्म क्याम्पस प्रमुखको कार्यकक्षमा र शिक्षा संकाय भवनमा यहि मिति २०७७ चैत्र ०२ गतेदेखि अनिश्चितकालीन तालावन्दी गरेको कुरा जानकारी गराउँदछौँ ।’

क्याम्पस प्रमुख सरोज कोइरालाले त्रिभुवन विश्वविद्यालयले नै निर्णय गरेर पठाएकाले डे सिफ्टमा मात्रै सत्र सञ्चालन गरिएको बताए । ‘यो केन्द्रबाट नै भएको निर्णय हो । केन्द्रबाटै दुवै सिफ्ट सञ्चालनको निर्णय भयो भने मात्रै हामी गर्न सक्छौँ’ उनले भने ।

क्याम्पस प्रमुख कोइरालाले निर्णय परिवर्तनको सम्भावना नदेखिएको समेत बताए । ताण्डव न्यूजसँग कुरा गर्दै उनले भने ‘छलफल भइरहेको छ । तर, निर्णय परिवर्तनको सम्भावना छैन ।’

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.