www.tandavnews.com
Fact ~ In search of truth

अनि डाक्टर नभेटी अस्पतालबाटै फर्किए अञ्जन ..

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशको ठूलो सरकारी अस्पताल हो पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल । सरकारी अस्पताल हुनुको अर्थ हो, सामान्य नागरिकले सूलभ मूल्यमा स्वास्थ्य सेवा पाउनु । सोही अस्पतालमा मंगलबारदेखि बहिरंग विभागका सम्पूर्ण सेवा बन्द भएको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्यामा कमी नआएपछि क्षेत्रीय अस्पताललाई ‘कोरोना अस्पताल’ बनाइएको छ । अस्पतालले सार्वजनिक सूचना प्रकाशित गरी कोरोनाबाहेकका उपचार नहुने बताएपछि अन्य बिरामीले सरकारी अस्पतालबाट सेवा पाउन वञ्चित भएका छन् । मंगलबार बिहानैदेखि फाट्टफुट्ट बिरामी अस्पताल पुगेपनि उनीहरु टिकट काउन्टरबाट फर्किन बाध्य भए ।

Batas

पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी तालिम केन्द्रबाट बिहान ११ बजेतिर आइपुगेका प्रहरी जवान अञ्जन श्रेष्ठ एकछिन अस्पताल परिसरमा अलमलिए । चिकित्सकले दिएको प्रेस्क्रिप्सन लिएर फलोअपमा आएका श्रेष्ठले काउन्टरमा कोरोनाबाहेकका अन्य उपचार नहुने जानकारी पाएपछि उनी केही तनावमा देखिए ।

केन्द्रकै साथीसँग मोटरसाइकलमा आएका श्रेष्ठको कुमको हड्डी छुट्टिएको रहेछ । त्यसपछि प्रेस्क्रिप्सनमा डाक्टरको नाम हेर्दै उनी कुनै प्राइभेट क्लिनिकमा भेटिन्छन् कि भनि सोधखोजमा जुटे । करिब आधा घण्टा भौंतारिएर उनी हाडजोर्नी विभागको करिडोर हुँदै बाहिरिए ।

बाहिरिनु अघि उनले भने, ‘एक त सूचना नै पाइएन, अर्काे कुरो अब प्राइभेटमै गएर सुरुदेखि जँचाउनु पर्ने होला ।’ कुमको उपचार गर्न थप खर्चिलो र झन्झटिलो हुने उनको प्रतिक्रिया थियो ।

अस्पतालले बहिरंग विभागअन्तरगतका सेवा बन्द गरेपछि एक्स–रे, एमआरआई, प्रसुतिलगायतका सेवालाई निरन्तरता दिएको छ । बहिरंग सेवा भने अर्काे सूचना नआउञ्जेलसम्म बन्द गरिएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.